Logo

जनता आवास कार्यक्रम अलपत्र

सरकारले बनाइदिने भनेको पक्की घरमा बस्ने सपना देखेका बर्दियाका विपन्न, दलित, लोपोन्मुख र अतिसीमान्तकृत समुदायको घर निर्माणकार्य अलपत्र परेको छ ।
घर निर्माणका लागि आवश्यक पर्ने रकम अर्थ मन्त्रालयले भुक्तानी नदिँदा सरकारले विपन्नको घर निर्माणका लागि थालेको जनता आवास कार्यक्रम नै अलपत्र परेको हो ।
गत आर्थिक वर्षदेखि बर्दियामा सुरु भएको कार्यक्रमअन्तर्गत निर्माण थालेका ९४५ र यस आवमा निर्माण गर्ने योजनामा रहेका थप १ हजार घर रकम अभावमा अलपत्र परेको सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय बाँके, नेपालगन्जले जनाएको छ ।
कार्यक्रम अन्तर्गत बर्दियामा गत आव ०७३÷७४ मा एक हजार ३० मध्ये ९४५ लाभग्राहीका घर निर्माणका लागि सम्झौता भएको थियो । ति घर निर्माणका लागि हालसम्म करिब १६ करोड रुपैयाँ निकासा भइसकेको विभागले जनाएको छ ।
जनता आवास कार्यान्वयन एकाई गुलरियाका अनुसार लाभग्राहीहरूले पहिलो किस्तावापत ९४५ परिवारले ५ करोड ८ लाख ४१ लाख रुपैयाँ भुक्तानी लिएका छन् । त्यस्तै दोस्रो किस्तावापत ८२८ लाभग्राहीले ५ करोड ३४ लाख ५६ हजार र तेस्रो किस्तावापत ७०४ लाभग्राहीले ५ करोड ३० लाख २५ हजार रुपैयाँ गरी कुल १५ करोड ७३ लाख २१ हजार ९६० रुपैयाँ भुक्तानी लिएर घर निर्माण गरिरहेका छन् ।
कार्यालयका अनुसार करिब साढे ४ सय घर निर्माण अन्तिम चरणमा पुगे पनि कसैले पनि अन्तिम किस्तावापतको रकम पाउन सकेका छैनन् । निर्माणाधीन र निर्माण सम्पन्न भएका घरलाई भुक्तानी नदिँदै रकम निकासा रोकिएपछि हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर होमनाथ भुसालले बताए । “बर्दियामा करिब ७ करोड रकम आवश्यक परेको छ,” उनले भने, “तर रकम अभावमा सबै काम ठप्प छ ।”
रकम निकासा नभएपछि यस वर्ष जिल्लामा निर्माण हुने भनिएका थप एक हजार घरसमेत निर्माण हुने नहुनेमा अन्योल रहेको उनको भनाइ छ । जनता आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका विपन्न, दलित, लोपोन्मुख र अतिसीमान्तकृत समुदायका परिवारका लागि बर्दियामा गत वर्षदेखि घर निर्माणकार्य सुरु भएको थियो ।
सरकारले संघीयता कार्यान्वयनका क्रममा खर्च व्यवस्थापन गर्न नसकेका कारण रकम निकासा नभएको बताइएको छ । यसरी निर्माणकार्य अलपत्र अवस्थामा छाँड्दा बर्खायाम सुरु भइसकेकोले अति नै समस्या हुने गरेको राजापुर–१ सोनाहगाउँका छेदुवा सोनाहले बताए । “एकातिर ऋण काडेरै निर्माण गरेका कारण साहुले सताउने गरेका छन,” उनले भने, “अर्कोतर्फ अधुरो कार्य पूरा नहुँदा बर्खामा झनै समस्या हुने गरेको छ ।” लाभग्राही मध्ये धेरैजसोले ऋण काडेरै घर निर्माणको काम थालेको बताएका छन् । तर अनुदानवापतको रकम नआएपछि आफूहरू झन ऋणमै डुबेको गु्लरिया ९ रामपुरकी शान्ति विकले बताइन् ।
अनुदानवापतको रकम रोकिएपछि हाल रकम माग गर्दै लाभग्राही दिनहुँजसो कार्यालयमा आउने गरेको जनता आवास कार्यान्वयन एकाई गुलरियाले जनाएको छ ।
-लक्ष्मण ढुंगाना

प्रतिक्रिया दिनुहोस्