सिन्धुलीको विकासमा उम्मेदवारका आ–आफ्नै योजना «

सिन्धुलीको विकासमा उम्मेदवारका आ–आफ्नै योजना

आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावका लागि राजनीतिक दलहरू चुनावी अभियानमा व्यस्त छन् । मतदाताहरूलाई आफ्नो पक्षमा पार्न दलका कार्यकर्ताहरू आफ्ना विभिन्न एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । सिन्धुलीमा नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा रहेको सिन्धुली जिल्लामा निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी निकै बढेको छ । मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारको प्रचार–प्रसार कार्यक्रममा पनि प्रतिस्पर्धा देखिएको छ । सबै उम्मेदवार र पार्टी आ–आफ्ना एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । सिन्धुलीका केही उम्मेदवारका एजेन्डा र प्रतिबद्धताका विषयमा कारोबारकर्मी कृञ्जला पुलामीले गरेको कुराकानीको सार :

समृद्ध सिन्धुली मेरो एजेन्डा

प्रेमचन्द्र दाहाल
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेस
सिन्धुली क्षेत्र नं. १

मेरा लागि सिन्धुलीको भूगोल अवसर र चुनौती दुवै हो । सिन्धुली जिल्लालाई समृद्ध सिन्धुलीका रूपमा विकास गर्नु नै मेरो पहिलो एजेन्डा हो । त्यसका लागि मेरा तर्फबाट सबै प्रयत्न रहनेछ ।
विकासका धेरै सम्भावना भए पनि सिन्धुलीमा विकास–निर्माणको काम कछुवाको गतिमा भइरहेको छ । मैले चुनाव जितें भने पर्याप्त मात्रामा विकास–निर्माणका काम गर्नेछु । कमला नदी कटानलाई नियन्त्रण गरी खेतीयोग्य जमिनको सदुपयोग गर्नेछु । कमला नदीको दुवैतर्फ तटबन्ध निर्माण गरि खेतीयोग्य जमिनमा कृषि उत्पादनतर्फ जोड दिने र महाभारत क्षेत्रमा पाइने जडीबुटीलाई सदुपयोग गरेर उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेछु ।
गोलञ्जोर र फिकल गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिपर्नेछु । सिन्धुलीमा विकासका धेरै सम्भावना भए पनि यसअघिका जनप्रतिनिधिले पहिचान गर्न नसकेर जिल्लाको विकास हुन सकेको छैन । अब ती सबै सम्भाव्यताको अध्ययन गरेर अवसर र चुनौतीलाई पहिचान गर्नेछु ।
जिल्लामा भएको स्रोतसाधन परिचालन गर्दै विकास गर्नेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ । हरेक नागरिकका हक–अधिकार सुनिश्चित गर्न पनि म लागिपर्नेछु । हरेक गाउँपालिकामा विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाउनेछु ।

 

विकास नै मेरो एजेन्डा

गणेशकुमार पहाडी
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेकपा एमाले
सिन्धुली क्षेत्र नं. १

देशमा राजनीतिक स्थायित्व, गणतन्त्रलाई संस्थागत गर्न र संविधानको कार्यान्वयनका लागि मैले उम्मेदवारी दिएको छु । यसअघि संविधानसभा निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएपछि यस क्षेत्रको विकासका लागि मैले ठूलो योगदान दिएको छु । जिल्लामा मैले सुरु गरेको विकास–निर्माणलाई पूर्णता दिनु नै मेरो मूल एजेन्डा हो ।
देशमा स्थायी सरकार गठन गरेर दिगो विकासमा योगदान दिन म अनुभवी र सक्षम छु । आदिवासी, जनजाति, पछाडि पारिएका समुदाय, उत्पीडनमा परेका समुदायको समस्या समाधान गर्न लाग्नेछु । पुल नभएको ठाउँमा पुल निर्माण, ग्रामीण सडक स्तरोन्नति गर्ने, नदी कटान नियन्त्रण गर्ने, यो क्षेत्रका विद्यालयमा भौतिक संरचना थप गरी शिक्षाको गुणस्तरलाई वृद्धि गर्ने एजेन्डालाई मैले समावेश गरेको छु ।
पर्यटनको विकासमा पनि मसित विशेष योजना छ । पाँच वर्षमा क्रमिक रूपमा गर्न सकिने योजनालाई प्राथमिकताका आधारमा एजेन्डा बनाएर मतदाताका बीचमा गइरहेको छु । चुनावी एजेन्डा धेरै भए पनि अबको आवश्यकता भनेको विकास नै हो । त्यहीअनुसार विकासका एजेन्डालाई मुख्य एजेन्डा बनाएर अघि बढेको छु ।
विगतमा पछाडि परेको यो क्षेत्र अहिले निकै अगाडि बढेको छ । पुनः जनताले मलाई काम गर्ने अवसर दिनुभयो भने विकास–निर्माणलाई निरन्तरता दिन्छु । यही क्षेत्रको निवर्तमान सांसद भएकाले मलाई प्रचार–प्रसारमा कठिनाइ छैन । मतदाता शिक्षाको अभावमा धेरै मत बदर हुने हो कि भन्ने लागेको छ । कति काम गर्छु भन्ने त जनताले हेरिसक्नुभएको छ । फेरि काम गर्ने अवसर पाउने आशामा छु ।

 

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी

नरेन्द्रजंग थापा
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेस
सिन्धुली क्षेत्र नं. २

 

सर्वप्रथम त मैले प्रतिनिधिसभाका लागि उम्मेदवारी किन दिएको हुँ भने जिल्लावासीलाई मेरो खाँचो छ । विविध क्षेत्रमा प्रचुर सम्भावना हुँदाहुँदै पनि जिल्लाको विकास कछुवा गतिमा छ । जिल्लामा पर्यटन व्यवसायको विकास गर्न सकियो भने त्यसले थुप्रै युवालाई रोजगारी दिन्छ ।
विश्वसामु चिनिनुपर्ने सिन्धुलीगढीको अवस्था नाजुक छ । यसमा कसैको आँखा जान सकेको छैन । मेरो जितपछिको पहिलो प्राथमिकता नै सिन्धुलीगढी दरबारको पुनर्निर्माण हुनेछ । यसका लागि म जस्तोसुकै कदम चाल्न पनि पछि पर्दिनँ । दोस्रो, जिल्लावासीहरू मौलिक हकबाटै वञ्चित भएको अवस्था छ । शिक्षा र स्वास्थ्य क्षेत्रको विकास कसरी गर्ने भन्ने मैले डिजाइन गरिसकेको छु ।
आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि शिक्षा र स्वास्थ्यबाट वञ्चित हुनु हुँदैन । त्यसैले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास मेरो मुख्य प्राथमिकता हुनेछ ।
लोकतन्त्रवादी पार्टी भनेको नेपाली कांग्रेस मात्र हो । त्यसैले लोकतन्त्रको संस्थागत विकासका लागि जनताले नेपाली कांग्रेसलाई नै रोज्नेछन् । यदि मैले निर्वाचनमा जितें भने विकासका निम्ति पूर्वाधार निर्माणको विषयलाई प्राथमिकतामा राखेर काम गर्नेछु ।
सिन्धुलीमा केही विकासका पूर्वाधारहरूको निर्माण भइरहेको अवस्था छ । ती विकासका खाकाहरूलाई उपभोग गर्दै थप आर्थिक विकास र निकासका निम्ति अहोरात्र खट्ने वाचा गर्छु । सुरु भएका निर्माण आयोजनालाई निरन्तरता दिँदै समृद्ध सिन्धुलीका लागि योजना तयार पारी आफ्नो कार्यकाल विकास र परिवर्तनमुखी बनाउनेछु ।

 किसान पेन्सन कार्यान्वयन मेरो प्राथमिकता

हरिबोल गजुरेल
प्रतिनिधिसभा सदस्यका उम्मोवार, नेकपा माओवादी केन्द्र
सिन्धुली क्षेत्र नं. २

विगतमा सांसद र मन्त्री हुँदाका केही अपुरा काम छन्, जसलाई पूर्णता दिनका लागि मेरो उम्मेदवारी हो । मेरो मुख्य प्राथमिकता भनेको कृषिमन्त्री हुँदा आफूले ल्याएको किसान पेन्सन कार्यक्रमको सफल कार्यान्वयन गर्नु हो ।
मैले २० वर्षसम्म कृषि पेसा गरेर देशलाई योगदान दिने कृषकलाई पेन्सन दिने घोषणा गरेको थिएँ । देशमा विद्यमान गरिबी तथा बेरोजगारी अन्त्य गरी उद्योग–व्यवसायलाई विकास गर्न र सिन्धुलीलाई समृद्ध बनाउनको लागि योग्य र अनुभवी छु । त्यसैले पुनः एकपटक मतदातामाझ आएको छु ।
यो क्षेत्रका अधिकांश परिवार कृषि पेसामा संलग्न छन् । कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा लाग्नेछु । सिँचाइ सुविधा पु¥याउनेछु । किसानका लागि खेती गरौँ–गरौँ लाग्ने खालका आकर्षक कार्यक्रम ल्याउनेछु । पर्यटनको विकासमा पनि विशेष योजना छ मसँग ।
कृषिलाई आधुनिकीकरण गरी उत्पादकत्व वृद्धि गर्दै रोजगारी सिर्जना गरेर सिन्धुलीको समग्र विकास गर्नेछु । जनअपेक्षामा आधारित नयाँ कामको थालनी गर्नेलगायतका एजेन्डाका साथ जनताको घरदैलोमा पुगिरहेको छु । आशा छ, यसपटक पनि मलाई जनताले आफ्नो अमूल्य मत दिनुहुनेछ । वाम गठबन्धन नहुँदै मैले जितेको क्षेत्र हो यो । त्यसैले खासै चुनौती पनि छैन ।
हुन त सिन्धुलीमा विकास–निर्माणका काम धेरै अगाडि बढिसकेका छन् । मैले विगतमा सुरु गरेका कामलाई पूर्णता दिने हो भने पनि यो क्षेत्र विकासमा निकै अगाडि बढ्नेछ । आफूले सुरु गरेका अधुरा कामलाई पूर्णता दिन पनि यो क्षेत्रमा मेरो जित आवश्यक छ भन्ने मैले ठानेको छु ।

 

प्रतिक्रिया दिनुहोस्