राजनीतिको फोहोर सफा गर्न मेरो उम्मेदवारी

दमननाथ ढुंगाना
प्रतिनिधिसभा सदस्यका कांग्रेस उम्मेदवार, भक्तपुर–२
पूर्वसभामुख दमननाथ ढुंगाना प्रतिनिधिसभातर्फ भक्तपुर २ बाट उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले ढुंगानालाई सो क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेपछि धेरैलाई आश्चर्यमा पारेको छ । ०४८ सालको आमनिर्वाचनबाट काठमाडौं–२ बाट निर्वाचित भएका वरिष्ठ अधिवक्ता ढुंगाना प्रतिनिधिसभामा सभामुख बनेका थिए । पछिल्लो एक दशकयता सक्रिय राजनीतिमा नदेखिएका उनी नागरिक अगुवा र मानवअधिकारवादीका रूपमा परिचित छन् । उनले आफ्नो उम्मेदवारी राजनीतिमा देखिएको विकृति सफा गर्नका लागि भएको बताएका छन् । उनै ढुंगानासँग कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार :
यसअघि काठमाडौंबाट निर्वाचित भएर सभामुखसम्म भइसक्नु भएको तपाईंले अहिले भक्तपुरबाट किन उम्मेदवारी दिनुभएको हो ?
पार्टीले मलाई भक्तपुर–२ मै उम्मेदवार बनाउने निर्णय ग¥यो । नेपाली कांग्रेसको उम्मेदवार हुँ । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसले मलाई भक्तपुरमै उम्मेदवार बनाउने निर्णय ग¥यो र अहिले यहाँका कांग्रेस नेता, कार्यकर्ता र मतदाताले सहजतापूर्वक स्वागत गरिसक्नुभएको छ । मेरो उम्मेदवारीलाई उत्साहका साथ लिँदै मत माग्न मतदातासमक्ष पुगिरहेको छु । कांग्रेसले भक्तपुरमा पाको, अनुभवी मानिसलाई ल्यायो भनेर स्वागत गरिएको छ । एकदमै उत्साहित छु । निर्वाचन जित्नका लागि अधिकतम प्रयास गरिरहेको छु । मेरो उम्मेदवारी राजनीतिमा देखिएको फोहोर सफा गर्नका लागि हो । मेरो उम्मेदवारी निष्ठाको उम्मेदवारी हो । देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहोरी खेलको सफाइ गर्नुपर्छ । त्यसपछि विकासका काम अघि बढ्नेछ । मेरो उम्मेदवारी त्यही राजनीति सफाइ गर्न कुचो बोकेर आएको कुचीकारका रूपमा बुझ्नुस् । म पहिला राजनीति सफाइ गर्छु, अनि विकास ।
तपाईं लामो समय राजनीतिमा निष्क्रिय रहनुभयो । कतिपयले तपाईं एकाएक उम्मेदवारी बनेको विषयलाई स्वाभाविक नभएको टिप्पणी पनि गरेका छन् नि ?
मलाई के लाग्छ भने संसद्को सशक्तीकरणका लागि मलाई प्रतिनिधिसभामा ल्याउन खोजिएको हो । संसद् प्रभावकारी भयो भने सरकार प्रभावकारी हुन्छ । संसद् बलियो भयो भने सरकार बलियो हुन्छ । संसद्को नियन्त्रण गर्ने क्षमता बढ्यो भने पूरा राज्य जवाफदेही हुन्छ । भ्रष्टाचार, अनियमितता घट्छ । जनतामा प्रजातन्त्रप्रति र सरकारप्रति विश्वास बढ्छ । प्रजातन्त्रमा कि जनताको इच्छा हो, कि संसद् हो । त्यसकारण मेरो पार्टी कांग्रेसले संसद्लाई अझ जवाफदेही र प्रभावकारी बनाउन मलाई उम्मेदवार बनाएको हो भन्ने मलाई लाग्छ । स्थिर सरकार र प्रजातन्त्रका लागि मेरो उम्मेदवारी हो । अर्को कुरा, म निष्क्रिय थिएँ भन्ने कुरा गलत हो । युवावस्थादेखि नै राजनीतिमा सक्रिय हुँदै सभामुखसम्म भएँ । म राजनीतिमा थिइनँ भन्ने होइन । म दलीय सक्रिय राजनीतिमा भने थिइनँ । दलमा नभए पनि दलीय व्यवस्था र प्रजातान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा अनवरत लागेको थिएँ । राजनीतिक काम नै गरिरहेको थिएँ नागरिक भएर । खबरदारी गरिरहेको थिएँ ।
भक्तपुर–२ तपाईंको निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिका सन्दर्भमा तपाईंका के एजेन्डा छन् ?
मेरो निर्वाचन क्षेत्र भक्तपुर पर्यटनका हिसाबले प्रवल सम्भावना बोकेको जिल्ला हो । पर्यटनको प्रवद्र्धन गर्र्दै समृद्ध भक्तपुर बनाउनेछु । जमिनको उचित व्यवस्थापन आवश्यक छ । भक्तपुरलाई रोजगार युवाहरूको क्षेत्र, पर्यटन र सांस्कृतिक राजधानी बनाउने मेरो संकल्प छ । अव्यवस्थित घरहरूले भक्तपुरको मुहार बिगारिरहेको छ । घर, बास त चाहिन्छ । तर, घरबासको क्षेत्र र खेतीपाती, पार्क, बालउद्यान क्षेत्रको प्लानिङ राम्रो बनाउने मेरो एजेन्डा छ । कृषि, पर्यटन, उद्योगमा प्रशस्त सम्भावना भएर पनि जति हुनुपथ्र्यो भक्तपुरमा त्यति हुन सकिरहेको छैन । यसको मतलब केही पनि भएन भन्ने होइन । अवसर पाउँदा यहाँका प्रतिनिधिले केही–केही गरेका छन् । तर, अझ धेरै गर्नु छ । त्यो म प्रदेश र स्थानीय सरकारसँग मिलेर गर्नेछु । राष्ट्रिय राजनीतिका सन्दर्भमा, राजनीति परिवर्तन भएको छ । राजनीतिमा विकृति, विसंगति बढेको छ । राजनीतिक परिवर्तनप्रति उदासीनताको अन्त्य गर्नुपर्छ । रोजगारीको समस्या छ । युवाहरूलाई देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । देशमा लोकतन्त्र त आयो तर सँगसँगै यसमा फोहोर विकृति पनि आयो । त्यसकारण अहिलेको राजनीतिक नेतृत्वले त्यो सफा गर्नुपर्छ । हाम्रो राजनीति दोहनको राजनीति भइरहेको छ । दोहनको राजनीतिलाई जनमोहित अर्थात् जनतालाई मोहित गर्ने बनाउनु छ ।
सभामुख भइसक्नुभएको व्यक्ति । निर्वाचित हुनुभयो भने संसद्मा तपाईंको भूमिका के हुन्छ ?
म उम्मेदवार भएको कुनै पद लिनका लागि होइन । म खालि संसद्को सदस्य मात्र हुन आएको हो । हुन त संसद् पनि आफंैमा एउटा पद नै हो । संसद्लाई सुदृढीकरण गर्छु । मेरो त्योभन्दा अतिरिक्त अरू केही आकांक्षा छैन । भोलि संसद्मा गए पनि के जिम्मेवारी दिन्छ, त्यो अहिले भन्न सकिन्न । अहिलेचाहिँ मेरो इच्छा सांसद हुने नै हो । अहिले विशेष राष्ट्रिय परिस्थितिमा रिङभित्रै प्रवेश गर्नुपर्छ लाग्यो । त्यसैले जनादेश लिएर संसद्मा जानुपर्छ भनेर प्रतिनिधिसभामा उम्मेदवार बनेको छु । ०५१ सालपछि बाहिर बसेर लोकतन्त्र सुदृढीकरणमा लागिरहेको थिएँ । अब संसद्भित्रबाट लोकतन्त्रको सुदृढीकरणमा लाग्नेछु ।
स्थानीय निर्वाचनको परिणाम हेर्दा तपार्इंलाई जित्न निकै चुनौती देखिन्छ । तपाईंका जित्ने आधार के छन् ?
म प्रतिनिधिसभातर्फ उम्मेदवार हुँ । स्थानीय तहमा मतदाताले जे निर्णय गर्नुभयो म स्वागत गर्छु । जो जुन दलबाट जिते पनि ती हाम्रा प्रतिनिधि हुन् । कांग्रेसले निर्वाचित प्रतिनिधिलाई पूर्ण सहयोग गर्छ । स्थानीय तहको परिणामले अहिलेको निर्वाचनलाई प्रभावित गर्दैन ।
म लोकतन्त्रवादी भएकाले लोकतान्त्रिक संस्कृतिमा विश्वास गर्छु । भक्तपुर सधंै नै लोकतन्त्रको गढ हो । लोकतान्त्रिक संस्कृतिको धेरै धनी जिल्ला हो । त्यसकारण कुन तहको के महत्व छ र कसलाई मत दिनुपर्छ, यहाँका जनताले विवेक प्रयोग गर्नेछन् । संघीय चुनाव, प्रदेश चुनाव र प्रतिनिधिसभा चुनाव के हो ? यहाँका मतदातालाई थाहा छ । यो विवेकी जिल्ला हो । स्थानीय चुनावबाट त झन् पाठ लिएर सबै भोट प्रजातन्त्रका लागि केन्द्रित गर्ने अवसर हो । पुराना पाका मानिसले मलाई राम्रोसँग चिन्नुहुन्छ । अहिले युवाहरूले पनि चिनिसक्नुभएको छ । उहाँहरूको मप्रतिको विश्वास नै मेरो जितको आधार हो ।
भक्तपुर २ मा कतिको स्वस्थ प्रतिस्पर्धा छ ? निर्वाचनमा आर्थिक चलखेल बढ्ने गर्छ । के पाउनुभयो यहाँको अवस्था ?
म स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छु । राजनीतिमा विकृति भित्रिएको छ । चुनाव असाध्यै खर्चिलो भएको छ । भक्तपुर २ मेरो निर्वाचन क्षेत्रमा पनि प्रतिद्वन्द्वीबाट निकै खर्च भएको भन्ने कुरा सुनेको छु । म स्वस्थ प्रतिस्पर्धाको पक्षमा छु । मेरा प्रतिस्पर्धीहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गर्छु । म नाम लिन चाहन्नँ, तर केही उम्मेदवार खर्चको बलमा चुनाव जित्छु भनेर हिँडिरहनुभएको छ । त्यो भ्रममा नपर्न म आग्रह गर्छु । चुनाव भनेको मिसनका रूपमा हुनुपर्ने हो । मिसन भनेको आदर्श, निष्ठा र न्यूनतम खर्चका साथ हुनुपर्ने हो । तर, खर्चका आधारमा जित्ने उम्मेदवारको दौड चलिरहेको छ । अनावश्यक खर्च होइन, न्यूनतम खर्च मात्रै गरेर पनि जनताको विश्वास लिन सकिन्छ भन्ने एक प्रकारको परीक्षा गर्न पनि म आएको छु ।