सेयरमा पुँजीगत लाभकर र महालेखाको टिप्पणी «

सेयरमा पुँजीगत लाभकर र महालेखाको टिप्पणी

पुँजीगत सम्पत्ति बिक्रीमा कानुनले छुट दिएको अवस्थामा बाहेक तोकिएअनुसार लाभकर तिर्नुपर्ने व्यवस्था छ । सेयर पनि एक प्रकारको पुँजीगत सम्पत्ति भएकाले बिक्री वा निसर्ग गर्दा हुने लाभमा कर तिर्नुपर्छ । महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदन, २०७४ मा सेयर कारोबारमा पुँजीगत लाभकरको टिप्पणीसँगै वास्तविक लागत र पुँजीगत लाभकरसम्बन्धी बहस पुनः ब्युँतिएको छ । संस्थागत र प्यानमा दर्ता भएका लगानीकर्ताहरूले पुँजीगत लाभ वा नोक्सानी आयकरमा मिलान गरे तापनि गैरव्यवसायिक व्यक्तिका सम्बन्धमा करमा दर्ता, पुँजीगत लाभ गणना र पुँजीगत लाभकर अग्रिम वा अन्तिम भन्ने द्विविधामा छन् ।

महालेखाको प्रतिवेदन
महालेखा परीक्षक (मलेप) को प्रतिवेदनको कर कानुनको पालनासम्बन्धी बुँदा ११६ मा सेयरको पुँजीगत लाभकरसम्बन्धी टिप्पणीमा आयकर ऐन, २०५८ को दफा ९५क(२) मा धितोपत्र बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्ने व्यवस्था रहेको र लाभ गणना गर्ने प्रयोजनका लागि बुक क्लोज गर्दाको अन्तिम मूल्यलाई बोनस तथा हकप्रद सेयरको अनुपातले समायोजन गरी औसत गणना गरेर आउने अङ्कमा पुनः ३ पटकको बजार मूल्यको औसत लिई कायम भएको आधार मूल्यको अङ्कमा खर्च छुट दिने अर्थमन्त्रीस्तरबाट २०६५।८।२२ मा निर्णय भएको उल्लेख छ । यो अर्को व्यवस्था नभएसम्मका लागि लागू हुने भए तापनि आयकर ऐन, २०५८ को दफा १३ बमोजिम वास्तविक लागत खर्च मात्र कट्टी गर्न मिल्ने व्यवस्था अनुकूल नदेखिएको टिप्पणी गरिएको छ । मलेपको मुख्य चासो सेयरको वास्तविक लागतका आधारमा भन्दा बजार मूल्यको आधारमा लागत समायोजन गर्दा बढी लागत खर्च दाबी भएकोमा देखिन्छ ।
मलेपले साधारण सेयर तथा संस्थापक सेयरको २ वर्षको बोनस र हकप्रद सेयरको कारोबारमा वास्तविक लागत खर्च कट्टी गर्नुपर्नेमा आधारमूल्यका आधारमा छुट दिएको कारणले रु. १ अर्ब ६ करोड ६५ लाख कम राजस्व असुल भएको देखिएको र विगतमा समेत यस्तै प्रचलन रहेकाले थप छानबिन गरी कर निर्धारण गर्नुपर्नेमा जोड दिएको छ ।

सेयर कारोबारमा लाभकर र भुक्तानी
कानुनतः नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको कम्पनीको सेयर कारोबारबाट प्राप्त लाभमा बासिन्दा प्राकृतिक व्यक्तिलाई लाभको ५ प्रतिशत र संस्थाको हकमा १० प्रतिशत लाभकर लाग्छ । एक्सचेन्जमा सूचीकरण नभएको कम्पनीको सेयर कारोबारमा बासिन्दा प्राकृतिक व्यक्तिको हकमा १० प्रतिशत र अन्यको हकमा १५ प्रतिशतका दरले सम्बन्धित कम्पनीले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्छ ।
सेयर कारोबारमा सेयर निसर्ग भएकै समयमा जस्तैः खरिद–बिक्री भएकै बखत कर लाग्छ र अग्रिमकर कट्टीको रूपमा दाखिला हुनुपर्छ । यस्तो करको रकम दलालमार्फत एक्सचेन्जले संकलन गरी आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कट्टी गरेको महिना समाप्त भएको मितिले २५ दिनभित्र विवरणसहित दाखिला गर्नुपर्ने प्रावधान छ ।

करमा दर्ता र पुँजीगत नोक्सानीको मिलान
विद्यमान कानुनतः गैरव्यावसायिक करयोग्य सम्पत्ति हुने बासिन्दा प्राकृतिक व्यक्तिले सेयर खरीद–बिक्री गर्न स्थायी लेखा नम्बर (प्यान) लिन वा अन्य किसिमले दर्ता हुन पर्दैन । तर, पुँजीगत सम्पत्तिको कारोबार व्यवसायका रूपमा गर्ने व्यक्ति वा कम्पनीले भने प्यान लिनुपर्छ । पुँजीगत लाभ हुने व्यक्तिले अन्य करदाताझैं आय विवरण पेस गरी कर तिर्नुपर्छ र अग्रिम दाखिला भएको कर मिलान गर्न वा नोक्सानी भएको भए नोक्सानी दाबी गर्न पाइन्छ ।
सेयरको सन्दर्भमा समेत खरिदभन्दा कम मूल्यमा बिक्री भएको कारोबारमा अग्रिम कर कट्टी गर्नु पर्दैन । बरु सम्बन्धित करदाताले यस्तो नोक्सानी आय विवरण पेश गर्दा दाबी गर्न पाउँछ र लगानीको अन्य आयमा मिलान गर्न पाउँछ । पुँजीगत घाटालाई अगामी कारोबारको पुँजीगत लाभमा मात्र मिलान गर्न पाइन्छ, तर यस्तो नोक्सानी रोजगारी वा व्यवसायको आयमा मिलान गर्न पाइँदैन । प्यान नम्बर नलिएका व्यक्तिले आयविवरण पेस नगर्ने हुँदा पुँजीगत नोक्सानी मिलान हुन सक्ने अवस्था देखिन्न ।

व्यावहारिक अन्यौलता
(क) करको दायरा : विशेषतः प्राकृतिक व्यक्तिलाई सेयर कारोबार लागि करको दायरामा आउने र प्यान लिने सम्बन्धमा मलेपको प्रतिवेदनले उठाएको सवाल आमलगानीकर्ताले पनि उठाउँदै आएका हुन् । कानुनमा भएको ‘गैरव्यावसायिक करयोग्य सम्पत्ति हुने बासिन्दा प्राकृतिक व्यक्तिले सेयर खरिद–बिक्री गर्न स्थायी लेखा नम्बर (प्यान) लिन वा अन्य किसिमले दर्ता हुनु नपर्ने’ व्यवस्थाका अनुसार नैकरमा दर्ता नभई वा प्यान नलिई सेयर किनबेच गरिरहेका छन् । पुँजीगत लाभ वा नोक्सानीको मिलानका लागि आय विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि व्यक्तिगत आयव्ययको लेखा राख्ने प्रचलन नहुनु, वास्तविक लागतको अन्योलता, बहुपेसा वा व्यवसाय हुँदा कर मिलानको समस्याले पनि सेयर कारोबार करको दायरामा जाने वा नजाने अन्योलता बढाएको छ ।
(ख) अग्रिम कि अन्तिम कर : संस्थागत र प्यानमा दर्ता कारोबारीहरूले भुक्तानी गर्ने पुँजीगत लाभकरलाई अग्रिम करका रूपमा लिएर पुँजीगत लाभ र हानिलाई वार्षिक आयकर गणनामा मिलान गर्दै आएका छन् । व्यक्तिगत प्यान नलिएका लगानीकर्ताहरूले भने पुँजीगत नोक्सानी मिलान नगर्ने हुँदा तिरेको पुँजीगत लाभकर नै अन्तिम कर भन्ने बुझाइरहेको छ । अन्य विकसित मुलुकमा समेत प्यानमा दर्ता भएका तथा नभएका प्राकृतिक व्यक्तिको हकमा पुँजीगत लाभकर नै अन्तिम हुने प्रचलन छ । नेपालको आयकर ऐनमा स्पष्ट उल्लेख नहुँदा कर अधिकृतको तजबिजीमा निर्भर रहँदै आएको छ ।
(ग) पुँजीगत लाभ गणना : मलेपले जस्तै आमलगानीकर्ताले पनि वास्तविक लागतका आधारमा लाभकर गणना हुनुपर्ने बताउँदै आएका छन् । वास्तविक खरिद सेयरको लागतका सम्बन्धमा कुनै द्विविधा नरहे पनि बोनस वा हकप्रद सेयरको वास्तविक लागत सम्बन्धमा फरक बुझाइ रहिआएको छ । केहीको बुझाइमा (क) कम्पनीले निःशुल्क दिएको हुँदा शून्य लागत, (ख) सेयरधनीहरूले अप्रत्यक्ष रूपमा पुँजीकृत प्रतिकित्ता रु. १ सय र लाभांस कर रु. ५ भुक्तानी गर्ने हुँदा लागत रु. १ सय ५, (ग) कुल खरिद मूल्यमा प्राप्त बोनस समायोजितपछिको लागत नै बोनस सेयरको वास्तविक लागत हो । हकप्रद सम्बन्धमा पनि यस्तै फरक बुझाइ छ ।
वास्तविक खरिद सेयर बिक्रीमा परममूल्य र बोनस वा हकप्रदको नयाँ आधारमूल्यका आधारमा पुँजीगत लाभ गणना गरिन्छ । बोनस वा हकप्रद जारी भएपछि नेप्सले अघिल्लोे आधारमूल्य र समायोजित मूल्यको योगफललाई २ ले भाग गरी नयाँ आधारमूल्य निकाल्छ ।
मानौं, दोस्रो बजारबाट लगानीकर्ताले रु. ६ सय ५० का दरले ६५ हजार ४ सय रुपैयाँमा १ सय कित्ता सेयर खरिद ग¥यो । कम्पनीले २० प्रतिशत बोनस वा हकप्रद सेयर दियो भने थप प्राप्त सेयरको वास्तविक लागत र बिक्रीमा पुँजीगत लाभकर गणना कसरी गर्ने ? भन्ने अन्योलता र फरक धारणा छन् । यहाँ बुकक्लोजपछि किनेको १ सय कित्ताबिक्रीमा मूल्यका आधारमा हुने लाभ वा हानिको सहजै पुँजीगत लाभकर गणना हुन्छ, तर बोनस वा हकप्रदको लाभकर फरक पर्न सक्छ ।
(अ) बोनस : परल मोलका आधारमा बोनस सेयरको वास्तविक लागत करिब रु. ५ सय ४५ (रु. ६५,४००/१२० कित्ता) हुनेछ । नेप्सेको समायोजित मूल्य करिब रु. ५ सय ८ (बुकक्लोजको अन्तिम मूल्य रु. ६१०/१.२) र आधारमूल्य रु. ५ सय २० (अघिल्लो आधारमूल्य रु. ५३२+समायोजित मूल्य ५०८/२) तोक्नेछ । अब प्राप्त बोनस सेयर रु. ६ सयमा बेच्यो भने आधारमूल्य रु. ५ सय २० को आधारमा निस्कने पुँजीगत लाभ करिब रु. १ हजार ६ सयको ५ प्रतिशतका दरले रु. ८० लाभकर भुक्तानी गर्छ । यदि वास्तविक लागतलाई आधार लिएको भए नाफा करिब १ हजार १ सय हुँदा रु. ५५ हाराहारी लाभकर तिरे पुग्थ्यो ।
(आ) हकप्रदको अवस्थामा ः वास्तविक लागत करिब रु. ५ सय ६२ (रु. ६५,४००+२,०००/१२० कित्ता) हुनेछ । नेप्सेको समायोजित मूल्य करिब रु. ५ सय २५ (रु. ६१०+२०/१.२) र आधारमूल्य रु. ५,२८.५ (रु. ५३२ + ५२५/२) तोक्नेछ । अब प्राप्त हकप्रद सेयर रु. ६ सय मा बेच्यो भने आधारमूल्य रु. ५ सय २८.५ का आधारमा निस्कने पुँजीगत लाभ करिब रु. १ हजार ४ सयको ५ प्रतिशतका दरले रु. ७० लाभकर भुक्तानी गर्छ ।
यसरी लगानीकर्ता आधारमूल्यको आधारमा पुँजीगत लाभ गणना हुँदा बढी लाभकर तिर्नुपरेको गुनासो गर्छ भने सरकार समायोजित बजारमूल्यका आधारमा पुँजीगत लाभकर गणना हुँदा निकै कम कर उठेको टिप्पणी गर्छ । विभिन्न समयमा सेयर खरिद गरिएको अवस्थामा वास्तविक लागत र पुँजीगत लाभ गणना झन् जटिल हुन्छ ।

समाधानको उपाय
वास्तविक लागत र यथार्थ पुँजीगत लाभकर निर्धारण जटिलतालाई ध्यान दिई (क) आधारमूल्यको सूत्रलाई थप व्यावहारिक र वैज्ञानिक बनाएर अन्तर्राष्ट्रिय प्रचलनअनुरूप प्राकृतिक व्यक्तिबाट भुक्तान पुँजीगत लाभकर नै अन्तिम करका रूपमा कानुनी मान्यता दिने; (ख) अव्यावहारिक र जटिल भए पनि अन्य लागत, बहुपेसा वा व्यवसायका व्यावहारिक समस्याको यथोचित सम्बोधनसहित उपयुक्त कानुन–तर्जुमा गरी सबै सेयर कारोबारमा प्यान अनिवार्य तथा पुँजीगत लाभकरलाई अग्रिमकर मान्ने; (ग) पुँजीगत लाभकरको विकल्पमा कारोबार शुल्क (ट्रान्ज्याक्सन ट्याक्स) लगाउने; (घ) एक वर्षमा निश्चित रकमसम्म कारोबार गर्नेलाई पुँजीगत लाभकर नलिने; (ङ) तोकिएभन्दा लामो अवधि सेयरधारणमा पुँजीगत लाभकरमा छुट दिने वैकल्पिक उपायहरू अपनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्