८ महिनाभित्रै सुख्खा बन्दरगाह बन्ने «

८ महिनाभित्रै सुख्खा बन्दरगाह बन्ने

आठ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ भूकम्प गएको तीन वर्षपछि सुखखा बन्दरगाह निर्माणकार्य अगाडि बढाइएको छ । भूकम्पपछि अलपत्र अवस्थामा रहेको बन्दरगाहको निर्माण चिनियाँ रेल्वे कन्ट्रक्सन कम्पनी (सीआरसीसी)ले सुरु गरेको हो ।
एक अर्ब २० करोड रुपैयाँ लागतमा बन्ने साविक तातोपानी–७ लार्चामा २०६९ पुसबाट बन्दरगाहको शिलान्यास गरिएको थियो । तत्कालीन चिनियाँ राजदुत याङ हाउलान र वाणिज्य तथा आपूर्ति सचिव लालमणि शर्माले संयुक्त रूपमा बन्दरगाह निर्माणको शिलान्यास गर्दा २६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेर निर्माण सुरु गरे पनि विविध कारणले लक्ष्य भेटिएको थिएन ।
भूकम्प, भोटेकोसी बाढी तथा पहिरोका कारण बन्द भएको बन्दरगाहलाई चिनियाँ पक्षले पुनः निर्माण थालेपछि स्थानीयवासी तातोपानी नाका खुल्ने संकेत पाएको भन्दै खुसी भएका छन् । भूकम्पपछि बन्द रहेको तातोपानी नाका चीन सरकारले सुरक्षा चुनौती भन्दै सञ्चालनका लागि आनाकानी गरेको थियो । “बन्दरगाह निर्माण सुरु भएकाले हामीले तातोपानी नाका खुल्ने संकेत पाएका छौं,” नेपाल–चीन सीमामा पर्ने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भने, “तीन सातादेखि ७ एक्जाभेटर, १० वटा ट्रिपर र अन्य उपरकण ल्याएर कम्पनीले कामलाई तीव्रता दिइरहेको छ ।” उनका अनुसार चिनियाँ कम्पनी सीआरसीसीले पहिलो चरणमा बाहिरी संरचना पुनर्निर्माण थालनी गरेको हो ।
नाका खुल्ने या नखुल्ने अन्यौलका बीचमा चिनियाँ कम्पनीले बन्दरगाह निर्माण सुरु गर्नु ‘ग्रिन सिग्नल’ भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले बताए । “चिनियाँ पक्षले आफ्नै कामदार ल्याएर बन्दरगाह निर्माण गर्नु हाम्रा लागि खुशीको कुरा हो,” उनी भन्छन्, “अहिले मितेरी पुल लिपिङदेखि बन्दरगाह निर्माणस्थल जोड्ने पुल, सडक व्यवस्थित हुने क्रममा छ ।”
लक्ष्यअनुरुप काम भएमा मंसिरमा बन्दरगाह निर्माण सम्पन्न हुन्छ । त्यसपछि भूकम्प, पहिरो र भोटेकोसी बाढीले क्षति पु¥याएको कोदारी राजमार्ग स्तरोन्नतिका लागि थप चार महिनाको कार्ययोजना बनाइएको छ ।
करिब ९० रोपनी क्षेत्रफलमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बन्दरगाहमा रहने भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेक पोस्ट, बंैक र आवास मर्मत कार्य भइरहेको हो । गोदाम घरमा १५८ ठूला कन्टेनर राखेर जाँचपास गर्न सकिने सुविधा रहनेछ । ६० देखि सय मेट्रिक टन सामग्री एकै पटक तौलिने यन्त्र बन्दरगाहमा हुनेछ ।
किशोर बुढाथोकी 

प्रतिक्रिया दिनुहोस्