बेनी–दरवाङ सडक आयोजनाको काम सुस्त «

बेनी–दरवाङ सडक आयोजनाको काम सुस्त

म्याग्दीको बेनी–दरवाङ सडक स्तरोन्नति र कालोपत्रे आयोजना कार्यान्वयनमा ढिलासुस्ती हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । ठेक्का सम्झौता भएको नौ महिनासम्म पनि निर्माण ब्यवसायीले कामलाई तीव्रता दिन नसकेपछि सरोकारवाला र सर्वसाधारण आक्रोशित भएका छन् ।
बजेट अभाव र निर्माण ब्यवसायीको ढिलासुस्तीका कारण मंगला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने आयोजनाको काम सुस्त बनेको हो । सडक स्तरोन्नतिको काममा भएको ढिलाइका कारण सर्वसाधारणलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।
बेनीदेखि दरवाङ जोड्ने २४ किलोमिटर मध्य पहिलो चरणमा १४ किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्रे गर्न गत साउनमा सडक डिभिजन कार्यालय बागलुङ र लामा समानान्तर जेभीबीच ४४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ३० महिनामा सम्पन्न गर्ने सम्झौता गरेका व्यवसायीले नौ महिना तयारीमै गुजारेका छन् । गत माघदेखि कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीले करोडौंको योजनामा दैनिक १० देखि १५ जना मजदुर र तीनवटा एक्साभेटर परिचालन गरेको छ ।
ठेकेदार र सडक डिभिजनका प्रतिनिधिले तयारी र सर्वेक्षणको काम सकिएकाले मजदुरको संख्या बढाएर कामलाई गति दिने बताएको एक महिना बिते पनि कुनै सुधार नभएको मालिका गाउँपालिका–६ दरवाङका भीमप्रसाद गौतमले बताए ।
सडक डिभिजन कार्यालयले पर्याप्त बजेट अभाव र ब्यवसायीले सवारी आवतजावत भइरहेको सडकमा काम गर्नुपर्दा ढिलाइ भएको बहाना बनाएका छन् । काम हुन नसकेका अन्य आयोजनाको बजेट रकमान्तर गरेर बजेटको स्रोत जुटाइएकाले गति लिने डिभिजनका प्रमुख थानेश्वर खत्रीले बताए । चालू आवमा १० करोड बजेट प्रस्ताव गरिएको यस आयोजनालाई पहिलो चरणमा एक करोड २५ लाखमात्र विनियोजन भएको थियो । एघार मिटर फराकिलो हुने सडकको सात मिटर चौडाइमा कालोपत्रे गरिने भएको छ । पहिलो चरणमा बेनीदेखि बाबियाचौरसम्मको सडक कालोपत्रे हुनेछ ।

सडक कालोपत्रे भएपछि हाल साढे दुई घण्टा लाग्ने यात्रा अवधि छोटिएर ३० मिनेटमा पूरा गर्न सकिनेछ । सवारी र ढुवानी भाडा घट्नेछ । म्याग्दीका साथै बागलुङको तमानखोला, रुकुम र डोल्पाका बासिन्दाले प्रयोग गर्ने बेनी दरवाङ सडक आयोजनालाई समयमै गुणस्तरीय रूपमा सम्पन्न गराउन सम्बन्धित निकायको तदारुकताको खाँचो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्