प्रहरी र सशस्त्रका आईजीपीलाई दज्र्यानी चिन्ह «

प्रहरी र सशस्त्रका आईजीपीलाई दज्र्यानी चिन्ह

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा भएका सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । बिहीबार राईले दुवै आईजीपीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
दज्र्यानी चिन्ह प्रदानलगत्तै दुवै महानिरीक्षकले क्रमशः प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल मुख्यालयमा पुगी पदभार सम्हालेका थिए । पदभार ग्रहणलगत्तै बिहीबार नै दुवै महानिरीक्षकले मातहतका अधिकृत तथा जवानहरूलार्य सम्बोधन गर्दै अपराधविरुद्धका कारबाहीमा कसैसँग सम्झौता नगर्न निर्देशन दिए ।
मंगलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा गरेको थियो । दज्र्यानी चिन्हपछि प्रहरी प्रधान कार्यालयमा पदभार सम्हाल्दै प्रहरी महानिरीक्षक खनालले सरकारको प्रमुख लक्ष्यलाई सफल पार्न आफू प्रतिवद्ध रहेको बताए । “आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न कुनै कसर बाँकी नराख्नुस्,” आईजीपी खनालले मातहतका अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै भने, “समाजको अपेक्षाअनुरुप प्रहरी सेवा प्रवाह गर्नु हाम्रो मुख्य दायित्व हो, यसमा कसैसँग सम्झौता हुँदैन ।” संगठनको आन्तरिक सुदृढीकरण, संरचनागत सुधार, कर्मचारीको वृत्तिविकास तथा सेवा सुविधालगायतका विषय आफ्नो प्राथमिकतामा रहेको उनले स्पष्ट पारे । पेशागत आचरणविपरित काम गर्ने कुनै पनि प्रहरीलाई उन्मुक्ति नदिने उनको भनाइ थियो ।
यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल गठन र त्यसपछि सरकारबाट प्राप्त कार्यादेश अनुसार जिम्मेवारी निर्वाह गर्न अधिकृत तथा जवानहरूलाई निर्देशन दिए । पारदर्शिता र शून्य सहनशीलतालाई पालना गर्न पनि उनले निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहोस्