८ महिनामा १९ करोड खर्च «

८ महिनामा १९ करोड खर्च

भानु नगरपालिकाको दोस्रो नगरसभा मंगलबार सम्पन्न भएको छ । नगरसभाले आव ०७४-७५ का लागि ५२ करोड ४७ लाख ३३ हजारको कुल बजेट विनियोजन गरेकोमा फागुन मसान्तसम्मको यथार्थताका आधारमा कुल बजेटको आकार संशोधित अनुमानमा यथावत कायम गरेको छ ।
नगरपालिकाकी उपप्रमुख आशा थापाले सार्वजनिक गरेको संशोधित नीति, बजेट तथा कार्यक्रमअनुसार पुँजीगततर्फ कुल बजेटको २४ करोड ५८ लाख र चालूतर्फ २८ करोड ४६ लाख ५५ हजार विनियोजन भएको छ । यसमा सशर्त अनुदानतर्फ २४ करोड २९ लाख ८९ हजार छ भने समानीकरण अनुदानतर्फ २४ करोड ८४ लाख ६४ हजार रुपैयाँ रहेको छ ।
सशर्त अनुदान रकममध्ये शिक्षामा २ करोड ८४ लाख ३० हजार, स्वास्थ्यमा ६६ लाख ३६ हजार, कृषि तथा पशु सेवा विकासमा ९९ लाख ९५ हजार विनियोजन गरिएको छ । सबै वडामा ७ लाख ५० हजारका दरले निर्दिष्ट शीर्षक रहने गरी प्रशासनिक खर्च विनियोजन गरिएको छ । विकास कार्यक्रमतर्फ विनियोजित जम्मा २४ करोड ५८ हजारमध्ये पूर्वाधार विकासमा १० करोड ५४ लाख ३४ हजार ३ सय, सामाजिक विकासमा ५ करोड ९७ लाख ७४ हजार, आर्थिक विकासमा १ करोड २० लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा ३ करोड १२ लाख १७ हजार ५ सय, संस्थागत विकास, सेवा प्रवाह एवं सुशासनमा २ करोड ६ लाख ७ हजार २ सय र सडक बोर्डतर्फ सडक मर्मत सम्भारका लागि ७० लाख खर्च हुने अनुमान गरिएको छ । प्रशासनिक चालूतर्फ ६ करोड ९२ लाख ७ हजार खर्च हुने अनुमान गरिएको छ ।

८ महिनाको खर्च १९ करोड
नगरपालिकाले आव ०७४-७५ को ८ महिनामा १९ करोड रुपैयाँमात्रै खर्च गरेको छ । फागुन मसान्तसम्म कुल बजेटको १९ करोड ५२ लाख ७१ हजार ७४७ रुपैयाँ खर्च भएको छ । चालूतर्फ १६ करोड ७६ लाख ९३ हजार ३६२ रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ २ करोड ७५ लाख ७८ हजार ३८५ रुपैयाँ खर्च भएको छ । चालूतर्फ ११ करोड ७९ लाख ३५ हजार ६३७ र पुँजीगततर्फ २१ करोड १५ लाख २५ हजार ६१५ रुपैयाँ खर्च हुन बाँकी छ ।

पदाधिकारीको पारिश्रमिकमा १ करोड २० लाख विनियोजन
नगरसभाले पदाधिकारीलाई पारिश्रमिक सुविधा उपलब्ध गराउन १ करोड २० लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सभाले पारित गरे बमोजिमको दरमा पारिश्रमिक र सुविधाका लागि समानीकरण चालूतर्फ ९० लाख र आन्तरिकतर्फ ३० लाख ७८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

८ महिनामा के के भए ?
नगरपालिकाले चालू आवको ८ महिनाको अवधिमा ११ वटा मुख्य उपलब्धि भएको जनाएको छ । उपप्रमुख थापाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समावेश भएअनुसार नगरपालिकामा कार्यसम्पादन नियमावली २०७४ बमोजिम विभिन्न ६ वटा विषयगत समिति गठन भई कार्यक्षेत्र अनुसारको काममा समिति सक्रिय भएको छ । १३ वटै वडामा एकीकृत सम्पत्ति कर र आय लेखासम्बन्धी सफ्टवेयर जडान भएको छ भने वडा नं. ३, ४, ६, ८ र १३ वडामा वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्राप्ति भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको सभाहल मर्मत सुधार गरी व्यवस्थित बनाइएको, नगरपालिका परिसर र वडास्तरमा वातावरण स्वच्छता कायम गर्न सरसफाइ कार्यक्रमलाई अघि बढाइएको, आवश्यक जनशक्तिको कमी रहे पनि अन्य निकायबाट केही कर्मचारी आएकाले शाखा व्यवस्थित भएको उपप्रमुख थापाले जनाइन् । फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइटका लागि जग्गा खरिदका लागि विभिन्न कार्यक्रमबाट रकमान्तर गरी १ करोड ८७ लाख ६५ हजार ५ सय विनियोजन गरिएको र जग्गा प्राप्तिका लागि साइट निरीक्षण कार्यअघि बढाइएको लगायत मुख्य उपलब्धि मानिएको छ ।
नगरपालिकामा देखिएका समस्या र चुनौतीलाई समाधान गरी नगरपालिकाबाट सम्पादन हुने कार्यलाई प्रभावकारी बनाउन आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, पूर्वाधार क्षेत्र, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्रमा प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरिने उपप्रमुख थापाले बताइन् ।

समृद्ध र समुन्नत भानु बनाउनुपर्नेमा जोड
नगरसभाको उद्घाटन समारोहमा बोल्दै वक्ताहरूले भानुलाई समुन्नत र समृद्ध भानु बनाउनु पर्नेमा जोड दिएका छन् । जनताको हितमा काम गर्दा राजनीतिक पार्टीमा विभाजन हुन नहुने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान), जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, एमालेका वैकल्पिक केन्द्रीय सदस्य पीएल श्रेष्ठ, माओवादी केन्द्रका संयोजक राजेन्द्रकेशरी न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।
कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्