डेढ दर्जन खोलामा पुल निर्माण हुँदै

जिल्लाका डेढ दर्जन खोलामा पुल निर्माणाधीन अवस्थामा छन् । निर्माणमा रहेका पुलको केहीको म्याद सकिँदासमेत काम पूरा भएको छैन । निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीहरूले म्याद थपका लागि आग्रहसमेत गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
जिल्लामा निर्माण हुने पुलमा अहिले काम भइरहेको सडक डिभिजन कार्यालयका सूचना अधिकृत दुर्गा गौतमले बताए । पटक पटक म्याद थप्दासमेत काम पूरा नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी कार्यालयले गरेको छ । निर्माण हुन थालेका पुलहरू तुलसीपुर—घोराही, घोराही—लमहीको सडकमा रहेका छन भने गाउँमा पनि छन् । खोलामा पुल निर्माण भएपछि वर्षात्को समयमा बाढीका कारण जनताले भोग्नु परेको समस्या समाधान हुनेछ । खोलामा पुल नहँुदा बाढीका कारण जनताले अकालमा ज्यानसमेत गुमाउनु परेको छ । वर्षात्को समयमा जिल्लाभित्र तथा बाहिर आवतजावत समेत प्रभावित हुने गरेको छ । पुल निर्माण भएपछि जिल्लावासीले ठूलो राहतको अनुभव गर्नेछन् ।
त्यसैगरी ग्रामीणस्तरसम्म जाने खोलामा पुल निर्माण भएपछि ग्रामीण क्षेत्र र सहरलाई जोडनसमेत सहज हुनेछ । ग्रामीणस्तरमा उत्पादन भएका वस्तुले समेत बजारसम्म ल्याउन सहज हुने स्थानीयले बताएका छन् । खोलामा पुल नहुँदा ग्रामीण क्षेत्रमा हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने गरेका छन् ।
सूचना अधिकृत गौतमका अनुसार अहिले निर्माण हुन थालेका पुलका लागि करिब १ अर्ब ३० करोड रकम खर्च हुनेछ । अहिले निर्माण सुरु भइरहेको कटुवा खोला पुल लमही–घोराही सडक खण्डको ठेक्का सम्भौता २०७१ भदौ ११ गते भएको थियो । निर्माण सम्पन्न ०७४ साल असोज १० गते सक्नुपर्ने थियो, तर हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन । पत्रेखोला पुल ०७१ भदौ ११ गते सम्झौता भएको थियो भने ०७४ भदौ ९ गते सम्पन्न हुनु पर्ने थियो । तर हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन । सेवार खोला पुल वडहरामा निर्माणाधीन पुलको सम्भौता ०७२ पुस २८ गते भएको थियो । निर्माण सम्पन्न ०७४ असार २३ गते हुनुपर्ने हो तर निर्माण सम्पन्न भएको छैन । बबई खोला पुलको सम्झौता ०७२ माघ १७ गते भएको थियो । निर्माण सम्पन्न हुने ०७५ साउन १६ गते हुनेछ । गुर्जे खोला पुलको सम्झौता ०७२ माघ १० गते भएको थियो । योजना सम्झौताअनुसार निर्माणकार्य ०७५ वैशाख १६ गते छ । सिकरवाह—प्रनाह पुल कालाकाटे—गढवा सडकको सम्झौता ०७२ माघ ५ गते भएको थियो । निर्माण सम्पन्न ०७४ फागुन ४ गतेसम्मको छ । बबई खोला पुल ढिकपुर यसको सम्झौता माघ १७ गते भएको थियो यसको निर्माण सम्पन्न ०७५ साउन १६ गते हुनेछ ।
हापुर खोला पुल घोराही आँखा अस्पताल सडक सम्झौता ०७२ पुस २३ गते भएको थियो । ०७४ पुस २२ सम्पन्न हुनु पर्ने भए पनि अझै काम पूरा भएको छैन । त्यसैगरी करुंगा खोला पुलको सम्झौता ०७२ माघ ८ गते भएको थियो । निर्माण सम्पन्न ०७५ वैशाख ७ गतेसम्मका लागि सयम छ । तर कामको प्रगति अपेक्षाअुनरुप भएको छैन । सक्राम खोला पुलको सझौता ०७२ माघ ५ गते भएको थियो । निर्माण सम्पन्न हुने सयम ०७५ वैशाख ४ गतेसम्म छ । तर काम भने सुस्त छ । कालाखोला सिसहनीया पुल सम्झौता ०७३ असार ३१ गते भएको थियो । निर्माण सम्पन्नका लागि ०७४ माघ २९ गतेसम्मका लागि समय रहे पनि सम्पन्न हुन सकेको छैन ।
त्यसैगरी हापुर खोला पुल आँखा अस्पताल रोड निघुवारको सम्झौता ०७३ असार ३१ गते भएको थियो । यसका लागि ०७५ असार ३० गतेसम्म निर्माणको समय तोकिएको छ । माया खोला पुलको सम्झौता ०७३ असार ३१ गते भएको थियो । निर्माणका लागि ०७४ कात्तिक ३० गते समय रहेको थियो तर निर्माण सम्पन्न हुन सकेको छैन । गहते खोला पुलको सम्झौता ०७४ जेठमा सम्भौता भएको थियो । यसका लागि १८ महिना समय रहेको छ । दुई खोला पुलको सम्झौता ०७४ जेठ महिनामा भएको थियो । यसका लागि २८ महिनाको सयम दिएको छ । बबई खोला धारापानी सडक खण्डको सम्झौता ०७४ जेठ महिनामा भएको थियो । यसका लागि ३० महिना समय रहेको छ । धेरै पुलको काम निर्माणाधीन अवस्थामा छन् । सूचना अधिकारी गौतमले भने, “पुल निर्माण भएसँगै सबैलाई सहज हुन्छ ।” काम सम्पन्न गर्नका लागि केही ठेकेदारलाई पटकपटक ताकेता गर्दै आएको समेत कार्यालयले जनाएको छ ।
–अमरराज आचार्य