Logo

सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल आईजीपीमा बढुवा

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को आईजीपीमा क्रमशः डीआईजी सर्वेन्द्र खनाल र एआईजी शैलेन्द्र खनाललाई बढुवा गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख रहेका सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी मानवस्रोत विभाग प्रमुख शैलेन्द्र खनाललाई आईजीपीमा बढुवा गरेको हो ।
प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि सरकारले रिक्त स्थानमा बढुवा गरेको हो ।
आईजीपी बढुवाको निर्णय लिनुअघि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो । सोही छलफलपछि मंगलबार साँझ आईजीपीको टुंगो लगाउन मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । प्रहरी महानिरीक्षकमा बढुवा भएका सर्वेन्द्र खनाल २०४६ माघ २९ र सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा भएका शैलेन्द्र खनाल २०४९ वैशाख १९ गते प्रहरी सेवा प्रवेश गरेका थिए ।
२०५७ सालमा सशस्त्र प्रहरी गठन भएसँगै शैलेन्द्र प्रहरीबाट सेवा स्थानान्तरण गरी सशस्त्रमा गएका थिए । अहिलेको ३० वर्षे प्रावधान रहीरहे सर्वेन्द्र खनाल करिब २ वर्ष र सशस्त्रमा शैलेन्द्र खनाल ४ वर्ष आईजीपीमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्