पूर्वाधारका काम तीव्र

जनप्रतिनिधि आएपछि नेपालगञ्ज उपमहानगरमा विकासको कामले गति लिएको छ । हाल आएर नगरको अधुरो सडक, ढल, नालाको पूर्वाधार विकासलाई प्रमुखता दिइएको छ । भारत सरकारको लगानीमा अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माणलाई पनि गति दिइएको छ ।
जीर्ण तथा भत्किएका नगरका विभिन्न सडक धमाधम बन्न थालेका छन् । यही आर्थिक वर्षमा उपमहानगरपालिका भित्रका ९० किमि सडक कालोपत्रे गरिने लक्ष्य छ । लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्थामा सडक जीर्ण बनेका थिए ।
सदरलाइन, जिल्ला प्रशासन, बसपार्क, सल्यानी बंगलालगायत क्षेत्रमा दर्जनभन्दा बढी सडकका कामले एकैसाथ गति पाएका छन् । न्यूरोडमा विशाल बजारका लागि डीपीआर बन्ने क्रममा रहेको उपमहानगरपालिकाले जनाएको छ ।
गौशाला र सिटीहल निर्माणका लागि वडा नं. १४ मा जग्गा छनोट गरिएको, वैकल्पिक रंगशाला निर्माणका लागि नेपालगन्ज २३ हिरमिनियामा जग्गा खोजिएको छ । सडक निर्माण, कालोपत्रे, ढललगायत विकासका कामको गतिलाई अनुगमन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति नै बनाइएको छ ।
नेपालगन्जको १६, २० र २१ नम्बर वडालाई नमुना वडाका रूपमा विकास गर्ने प्रयास थालिएको उपमहानगरका उपप्रमुख उमा थापामगरले बताइन् । उनले फोहर विसर्जनका लागि हिरमिनियामा फोहोर व्यवस्थापन केन्द्रको काम तीव्र पारिएको पनि जनाइन् ।
अधुरा सडक, ढल निर्माणमा एसियाली विकास बैंकले सहयोग गरेको छ । “एडीबीले लगानी गर्ने काम सुरु भइसकेका छन् । सडक, ढल निर्माणले तीव्रता पाएको छ,” नेपालगन्ज उपमहानगरका कार्यकारी अधिकृत हरि प्याकुरेल भन्छन्, “उक्त योजना पूरा गर्न ३० महिना समय तोकिएको छ । तर यो आवमा पनि धेरै काम सक्ने विश्वास छ ।” सडक पिच र ढल निर्माणका लागि ३ अर्ब ७१ करोड बजेट आएको छ । त्यस्तै वर्षाका बेला डुबान हुने क्षेत्रमा ४० किमि ढल नाला निर्माण काम पनि थालिएको छ । सडक निर्माण क्रममा पर्ने विद्युत् र टेलिफोनका पोल तत्काल हटाउने व्यवस्था गर्न प्रजिअले संयोजन गर्ने जिम्मा दिइएको छ ।
त्यस्तै, वागेश्वरी मन्दिर व्यवस्थापन गर्न लागिएको उपमहानगरले जनाएको छ । नगरलाई खुला दिसामुक्त गर्ने काम पनि अघि बढाइएको छ । नेपालगन्ज उपमहानगरका उपप्रमुख थापामगरका अनुसार नगरको ट्राफिक व्यवस्थापनमा विशेष जोड दिइएको छ । “उपमहानगरपालिकासँग जनअपेक्षा अत्यधिक छ । त्यसको तुलनामा क्षेत्राधिकार र जिम्मेवारी अस्पष्ट छन् । बजेट, स्रोत साधन, दक्ष जनशक्ति आदि अभाव छ,” उनले भनिन्, “तर समस्या भए पनि जनअपेक्षाअनुसार काम गर्ने प्रयासमा लागेका छौं ।”