मानव संसाधन विभागको सट्टा च्याटबोट

कार्यालयभित्र हुने उत्पीडनको गुनासो सुन्न अब कम्प्युटरको प्रयोग हुने भएको छ । कुनै पनि कार्यालयमा कर्मचारीहरूमाथि भेदभाव र उत्पीडन सामान्य मानिन्छ । यस्तो गुनासो नभएको कुनै पनि कार्यालय छैनन् । कर्मचारीहरूलाई हाकिमले मन पराउने र नपराउने कुराले खराबी जन्माउँछ र यसको परिणाम तल्ला तहका कर्मचारीले भोग्नुपर्छ । खास गरी महिलाहरू यसको सिकार बढी हुन्छन् । कर्मचारीहरूको गुनासो सुन्नका लागि हरेक कार्यालयमा मानव संसाधन (एचआर) विभाग हुन्छ, तर पीडितले न्याय पाउँछन् भन्ने छैन । गुनासो लिएर गए पनि लामो सुनुवाइ प्रक्रियापछि सम्झौता गर्न सुझाव दिइन्छ अथवा तपाईंलाई दोषी ठहराइन्छ ।
कार्यालयमा महिलाहरूले बढी उत्पीडन सहनुपर्छ, तर पुरुषको संख्या पनि कम भने छैन, तर उत्पीडन र भेदभावको सिकार भएका कामदारको समस्यालाई समाधान गर्न प्रविधिको मद्दत लिन थालिएको छ । फेबु्रअरी महिनामा अमेरिकामा कम्प्युटर प्रोग्राम सुरु गरियो, जहाँ पीडितले आफ्नो गुनासो सुनाउन सक्छन्, जसलाई च्याटबोट भनिन्छ । च्याटको अर्थ कुराकानी र बोट भनेको रोबोट हो । यो यस्तो प्रोग्राम हो जहाँ पीडितको समस्याको समाधान निकालिन्छ । उदाहरणका लागि कोही व्यक्ति कार्यालयमा शारीरिक शोषणको सिकार भयो भने उसले च्याटबोटको सहयोग लिन सक्छ । च्याटबोटले सटीक प्रश्न सोध्छ र गुनासो सही हो वा झूटो, पत्ता लगाउँछ । गुनासो सही भएमा यो मेसिनले कारबाहीका लागि सिफारिस गर्छ । च्याटबोटसँग सल्लाह लिन कार्यालयकै कम्प्युटर प्रयोग गर्नुपर्छ भन्ने छैन । निजी कम्प्युटरबाट पनि यस्तो सहयोग लिन सकिन्छ । गुनासो गर्ने व्यक्तिले आफूसँग कुनै प्रमाण छ भने पेस गर्न पनि सक्छ । आपत्तिजनक म्यासेज, इमेल वा तस्बिर अपलोड गर्न सकिन्छ ।
पीडितले कुनै प्रत्यक्षदर्र्शीको नाम लिएको छ भने च्याटबोटले उसको प्रतिवेदन पनि अपलोड गर्न अ¥हाउँछ । च्याटबोटले आवाजबाट सोधेको प्रश्न र उत्तरलाई प्रशोधन गरी पीडीएफ फाइलमा विस्तृत रिपोर्ट तयार पार्छ । यो रिपोर्टमा च्याटबोटले सुझाव पनि दिन्छ । साथै कानुनी लडाइँको तरिका पनि सुझाव दिन्छ । कार्यस्थलमा प्रायः उत्पीडन हुने गर्छ, तर सबैले गुनासो दर्ता गर्दैनन् । त्यसैले यसको सही तथ्यांक पाइँदैन । बीबीसीले करिब २ हजार महिला कर्मचारीसँग गरेको अनुसन्धानबाट पत्ता लागेको छ कि उनीहरू भेदभाव र उत्पीडनको सिकार सबैभन्दा बढी भएका छन् । यसको निराकरणका लागि कानुन त बनाइएको छ, तर कानुनी लडाइँ निकै लामो समयसम्म चलिरहन्छ । समय र पैसा चाहिन्छ । पीडितका लागि एउटा यस्तो मञ्च बनाउनुपर्छ जहाँ बिनाडर आफ्नो आवाज उठाउन सकून् । यो काममा च्याटबोट निकै उपयोगी साबित हुन सक्छ ।
यसलाई बढी विकसित बनाउने प्रयास पनि जारी छ । कम्प्युटर प्रोग्राममा काम गर्नेहरूको भनाइमा गुनासोकर्ताको दिमागी अवस्था बुझ्न र सम्झन नयाँ एप राखिँदै छ । च्याटबोटले तयार पार्ने रिपोर्ट पूरै गोप्य राखिन्छ । पीडितसँग धेरै पटक भेदभाव र उत्पीडन भएको छ भने च्याटबोटले अभिलेख राख्छ । गुनासोकर्ताले आफ्नो कुरा बिर्सन सक्छ, तर च्याटबोटले सुरक्षित राख्छ । पुराना घटनाका आधारमा यसले उचित सल्लाह दिन्छ । धेरै कर्मचारीहरू अविश्वास र डरका कारण एचआर विभागमा आफ्नो गुनासो सुनाउँदैनन् । त्यस्तै शारीरिक शोषणमा परेका महिलाहरूले पनि आफ्नो आवाज उठाउँदैनन् । यसले गर्दा उनीहरूको कार्यक्षमतामा ह्रास आइरहेको हुन्छ । अनुसन्धानमा के पनि पाइएको छ भने गुनासो गर्ने महिलाहरूको समस्या समाधान हुँदा उनीहरू तनावमुक्त भए र स्वास्थ्य पनि राम्रो भयो ।
च्याटबोटका फाइदा मात्र छैनन्, कमजोरी पनि छन् । स्काइप र म्यासेन्जरका माध्यमबाट गरिने कुराकानी सही नहुन पनि सक्छ, तर पनि च्याटबोटको खुबीलाई नकार्न सकिँदैन । च्याटबोटलाई प्रभावकारी बनाउने काम पनि भइरहेका छन् ।
बीबीसी, क्यापिटल