भन्सार विभागले अनलाइन सेवामात्रै दिने

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै भन्सार विभागले आफ्ना सेवाहरू अनलाइनमार्फत् मात्र दिने भएको छ । विभागबाट हुँदै आएको अत्यावश्यकीय बाहेकका सबै सेवा कोभिड–१९ का कारण हाललाई बन्द गरिएको निर्देशक केशरबहादुर पण्डितले जानकारी दिए । उनका अनुसार अनलाइनमार्फत् कूटनीति तथा महसुल छुटसम्बन्धी सेवा, मूल्यांकन, पुनरावलोकन र नयाँ जारी गरिने निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) सम्बन्धी काम गर्न सकिने छ ।
“कोभिड–१९ को वर्तमान अवस्थालाई मध्यनजर गरी नेपाल सरकारको निर्णयअनुसार सरकारी कार्यालयहरू बढीमा ५० प्रतिशत जनशक्तिबाट आलो पालो गरि सेवा सञ्चालन गर्ने ‘वर्क फ्रम होम’को अवधारणा अनुरूप घरबाट बिद्युतयि माध्यमको प्रयाग गरी सेवा दिने निर्णय गरेका हौ” विभागद्वारा जारी गरिएको सूचनामा भनिएको छ, “अत्यावश्यक बाहेकका सार्वजनिक सेवाहरू सम्भव भएसम्म अनलाइन, भर्चुअल र विद्युतीय माध्यमबाट प्रवाह गर्ने हाल गर्दै आएको जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मकालागि स्थगित गर्ने निर्णय भएको छ ।” यस्तै विद्युतीय प्रणालीमार्फत् प्राप्त भएका निवेदनको जाँचबुझ गरी नवीकरण गर्ने, स्थगन वा खारेज भएका एक्जिम कोडसम्बन्धी काम पनि गरिने छ ।
विशेष संकेत नम्बरको हकमा भने सम्बन्धित भन्सार कार्यालयबाट जारी गरिने विभागले जनाएको छ । विभागले एक्जिम कोड खारेजीसम्बन्धी कार्य, एक्जिम कोड प्रयोजनका लागि राखिएका बैंक ग्यारेन्टी परिवर्तन र फुकुवासम्बन्धी काम हाललाई बन्द गरेको छ । त्यस्तै चालू आर्थिक वर्षका लागि खरिद, निर्माण, तथा सेवा परामर्शका लागि मौजुदा सूची दर्तासम्बन्धी कार्य पनि स्थगन गरिएको छ । उसले कुटनीतिक तथा छुट सुविधाका काम विद्युतीय माध्यममार्फत गर्न सकिने पनि स्पष्ट पारेको छ ।