इन्धन चुहावट नियन्त्रण गर्न ट्यांकरमा लकिङ «

इन्धन चुहावट नियन्त्रण गर्न ट्यांकरमा लकिङ

नेपाल आयल निगमले इन्धन बोक्ने ट्यांकरमा बुधबारदेखि लकिङ प्रणाली लागू गरेको छ । ट्यांकरबाट हुने इन्धन चोरी र मिसावटसम्बन्धी समस्या नियन्त्रण गर्न निगमले लकिङ प्रणाली जडान गर्ने प्रतिबद्धता जनाएको केही वर्षपछि मात्र कार्यान्वयनमा ल्याएको हो । तर लकिङ प्रणाली लागू गर्दा सुरुमै चालकले असहयोग गरेका छन् । जसका कारण निगमलाई आफ्नो दुई वर्षअघिको निर्णय कार्यान्वयन गर्न असहज भएको छ । निगमले बुधबार झापाको चारआलीमा एक औपचारिक कार्यक्रम आयोजना गरी मेची अञ्चलमा पेट्रोलियम ढुवानी गर्ने ट्यांकरमा ‘लकिङ प्रणाली’को औपचारिक शुभारम्भ गरेको हो । तर, निगमको निर्णयलाई असहयोग गर्दै यहाँका चालक र मजदुरले ढुवानी नै ठप्प पारेका छन् । भारतीय आयल निगमको सिलिगुढी डिपोबाट पेट्रोलियम ढुवानी हुने मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङमा चल्ने गर्ने ट््यांकरमा लकिङ प्रणाली लागू गरिएको थियो । चारआलीमा आयोजित कार्यक्रममाा भारतीय आयल निगमका प्रमुख एसएस बोस र निगमका कार्यकारी प्रमुख सुशील भट्टराईले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका थिए । बुधबार नै सिलिगुढीमै लकिङ प्रणालीको सुरुआत गरे पनि चालकको अवरोधका कारण कुनै पनि ट्यांकर त्यहाँ पुगेनन् ।
चालकको अवरोधका बाबजुद निगमले निर्णय कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ । निगमका प्रमुख कार्यकारी प्रमुख भट्टराईले निगम आफ्नो निर्णयबाट पछि नहट्ने बताए । सरकार चालकका जायज माग सम्बोधन गर्न तयार रहेको तर असल नियतले गरिएका सुधारका प्रयासमा अवरोध सिर्जना गर्नु जायज नभएको उनले बताए ।
नेपालमा १ हजार ८ सयको संख्यामा इन्धन बोक्ने ट्यांकर सञ्चालनमा छ । निगमकै मिलोमतोमा पनि इन्धन कम परिमाणमा पम्पले पायो भन्ने गुनासो सबैतिरबाट आएकाले प्राविधिक रूपमा यो समस्यालाई समाधान गर्न यो प्रविधि वैज्ञानिक रूपमा निकै फलदायी हुने निगमले जनाएको छ ।
सिलीगुडीपछि रक्सोल, बरौनी, वेतालपुर, बन्थरा र गोण्डास्थित आईओसीको डिपोबाट इन्धन ओसार्ने ट्यांकरमा यस्तो प्रविधि जडान गरिनेछ । गोण्डा र बन्थरा जाने ट्यांकरमा पनि यो प्रविधि दुई महिनाभित्रमा जडान भइसक्ने निगमको भनाइ छ । निगमका अनुसार भारतीय डिपोमा जाने ट्यांकरमा इन्धन लोड गरेपछि त्यही ताल्चा मार्ने काम हुन्छ । त्यो ताल्चाको एउटा साँचो इन्धन लोड लिने भारतीय डिपोसँग हुन्छ । अर्को साँचो नेपालीको जुन डिपोमा इन्धन खन्याउने हो, त्यो डिपोसँग हुन्छ । यसरी गन्तव्यमा पुगेका ट्यांकरको ताल्चा डिपोका कर्मचारीले मात्रै खोल्न पाउनेछन् ।
आईओसीले निगमलाई लकिङ प्रविधि सुविधा निःशुल्क उपलब्ध गराएको हो । एउटा ताल्चाको लागत खर्च २५ हजार नेपाली रूपैयाँ पर्छ । आईओसीले अहिले दुई हजार तीन सयको संख्यामा यस्तो ताल्चा उपलब्ध गराउन लागेको छ ।
निगमका अनुसार भारतीय आयल निगम डिपोबाट निगमको डिपोसम्म र निगमको डिपोबाट बिक्रेताको डिपोसम्म हुनेगरी लकिङ लागू गरिने छ । पहिलो चरणमा भारतीय आयल निगमबाट नेपालको डिपोसम्म पहिलो चरणमा सिल लगाइने छ ।
सिलीगुडी जाने ५९ मध्ये ४३ वटा ट्यांकरमा यो प्रविधि जडान भइसकेको छ । बुधबार जडान भएका ट्यांकरमा इन्धन लोड गरेर नेपालको डिपोमा पठाउने कार्यक्रम छ । आईओसीबाट ट्यांकरमा इन्धन भरेपछि तेल भर्ने र झिक्ने भल्बमा सिल गरिनेछ । त्यसपछि सम्बन्धित डिपोमा मात्रै सिल खोल्न मिल्छ । भारतीय आयल निगमको डिपोमा ट्यांकर सिल गरेर पठाएपछि त्यसको साँचो भारतीय आयलको सम्बन्धित डिपो र नेपाल आयल निगमको क्षेत्रीय कार्यलय प्रमुखसँग मात्रै हुन्छ ।
ढुवानी ट्यांकरबाट बाटैमा तेल चोरी हुने प्रवृत्ति मौलाएपछि त्यसलाई रोक्न निगमले लकिङ प्रणाली अवलम्बन गरेको भने पनि चालक र मजदुरहरूले ढुवानी नै ठप्प पारेका छन् । केही व्यवसायीले यो निर्णयलाई सही कदम भनेर प्रशंशा गरे पनि पूर्वका केहीले भने यसको विरोध गरेपछि कारोबारले व्यवसायीहरूसँग यसबारेमा गरेको कुराकानीको सार :

ट्यांकरमा लक गर्ने निर्णय स्वागतयोग्य
वैकुण्ठ श्रीवास्तव
ट्यांकर व्यवसायी, वीरगन्ज
सरकारले इन्धन ढुवानी गर्ने ट्यांकरमा लक सिस्टम लगाउने निर्णय गर्नु स्वागतयोग्य निर्णय हो । यो भारतमा पहिलेदेखि नै लागू भएको छ । नेपालमा पनि पहिले नै गर्नुपर्ने हो । पहिले भारतीय नम्बर प्लेटका गाडीबाट ढुवानी हुन्थ्यो, अब धेरै नेपाली ट्यांकर भए । व्यवसायीहरूले यसमा कुनै विरोध गरेका छैनन् । यसमा व्यवसायीहरूले घाटा–नाफा खोज्नेभन्दा पनि सरकारको नीति–नियमअनुसार हुने हो । व्यवसायीहरूले ढुवानी गर्ने जिम्मा पाएका छन् । हामीले ढुवानीबापत भाडा लिएका हुन्छौं । विरोध गर्नुपर्ने कुनै कारण पनि छैन ।
लक सिस्टमले ढुवानी सुरक्षित हुन्छ । हामी पनि यही चाहन्छौं । आयल निगम घाटामा नजाओस्, आम्दानी बढोस् । यसमा सरकारले गरेको निर्णयलाई सकारात्मक रूपमा लिनुपर्छ । रह्यो चोरीको कुरा, हामी घरमा ताल्चा लगाउँछौं— चोरी नहोस् भनेर, तर चोरी गर्नेले जतिसुकै ठूलो र बलियो ताल्चा लगाए पनि चोरी गर्छ । त्यसैले लक सिस्टम लगाएर चोरी नियन्त्रण हुने भनिए पनि आयल निगमका कर्मचारीहरू पनि उत्तिकै इमानदार हुनु आवश्यक छ । जतिसुकै लक, सिल लगाए पनि त्यसमा कर्मचारीहरूको मिलेमतो भयो भने चोरीको सम्भावना रहन्छ । लक सिस्टम लगाइयो भने हामी ढुवानीकर्ताहरूलाई झन् ढुक्क हुन्छ । व्यवसायीहरूलाई फाइदा नभए पनि इन्धन सुरक्षित नेपाल आउन सक्छ । विरोध भएको कुरा मैले सुनेको पनि छैन । लक सिस्टमको विरोध गर्नुको कुनै औचित्य छैन । सरकारले गर्दै जाने प्रक्रिया हो । आयल निगमजस्तो सरकारी संस्थामा हुने संस्थागत भ्रष्टाचार पनि यसले कम हुन्छ भन्ने विश्वास लिएको छु । चालकहरूले विरोध गरेका हुन् भने त्यसको कारण मलाई थाहा भएन । उनीहरूले हामीसँग कुनै जानकारी वा समन्वय पनि गरेका छैनन् ।
वीरगन्जका व्यवसायीहरू लक सिस्टमको विरोधमा छैनन् । लक सिस्टम हुनुपर्छ । यसले सुरक्षित इन्धन ढुवानीलाई सहज बनाउँछ । यस्तो सिस्टम हुनुपर्छ भन्ने मेरो मान्यता हो । तर, आयल निगमका कर्मचारीहरूले पनि यो कार्यान्वयनका लागि सक्दो सहयोग गर्नुपर्छ । हामी ढुवानीकर्तालाई ढुवानी गर्नमा कुनै समस्या छैन । लागेको भाडा लिएर ढुवानी गरिदिन्छौं । केही त्यस्ता व्यक्ति पनि होलान्, जसले कसैबाट दुई पैसाको लोभमा अथवा कुनै स्वार्थले लक सिस्टमको विरोध गरेको हुन सक्छ । तर, हाम्रा कुनै पनि व्यवसायीले यसको विरोध गरेका छैनौं ।

लकिङ सिस्टम सबैको हितमा छ
राजु न्यौपाने
सञ्चालक, बुद्धमाया आयल सप्लायर्स प्रालि, भैरहवा
केन्द्रीय सदस्य, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन
पेट्रोलियम पदार्थ ढुवानीमा लकिङ सिस्टम एकदम राम्रो हो । यसले तेल चुहावट नहुने, मिसावट नहुने र उपभोक्ताले गुणस्तरीय तथा शुद्ध पेट्रोलियम पदार्थ प्राप्त गर्न सक्ने भएकाले पनि यो लकिङ सिस्टम राम्रो हो ।
पेट्रोलियम ढुवानीमा ट्यांकर मालिक र चालकमाथि तेल चोरी तथा मिसावटको आरोप लाग्ने गथ्र्यो, यो लकिङ प्रणालीले त्यो आरोपलाई समेत चिर्ने भएकाले अत्यन्त राम्रो हो । त्यसैले ट्यांकर व्यवसायी र ट्यांकर चालकहरूलाई यो पद्धतिले धेरै फाइदा हुन सक्ने विश्वास मलाई छ । यो प्रणालीमा तेल भर्ने मुख्य स्थानमा तेल भरिसकेपछि त्यहाँ ताला लगाउने र बीचमा कहीँकतै खोल्न नमिल्ने तथा अन्तिम बिन्दु आयल निगमको भण्डारण स्थलमा लक खोल्ने प्रविधि भएकाले बीचमा कहीँकतै कैफियत हुन नसक्ने देखिन्छ । त्यसैले यो प्रणाली लागू भएमा सबैलाई राम्रो हुन्छ ।
अर्को कुरा, ट्यांकरमा पेट्रोलियम पदार्थ लिएर सयौं किलोमिटर टाढाबाट नेपालमा ढुवानी गर्नुपर्ने हुन्छ । त्यस्तो बेला तापमानका कारणले ट्यांकरभित्र भएको तेलको परिणाम घट्न सक्ने सम्भावना बढी हुन्छ । यो कुरा आयल निगमलाई पनि थाहा छ । मुख्य डिपोमा भरेको तेलको परिणाम तापमानका कारणले अन्तिम बिन्दुसम्म आउँदा नहुन सक्छ । त्यसैले यो कुरा अहिले नै मिलाउनुपर्छ र यसमा अझै वैज्ञानिक प्रणाली अपनाएर अघि बढ्दा सबैलाई फाइदा पुग्छ । लकिङ पद्धति वास्तवमा सबैको लागि राम्रो हो ।

पूर्वमा पेट्रोलियम ढुवानी ठप्प
पूर्वी नेपालका ट्यांकर व्यवसायी र मजदुर आन्दोलित बनेका छन् । नेपाल आयल निगमले सहमतिअनुसार काम नगरेको भन्दै उनीहरु बिहीबारदेखि पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । ट्यांकर मजदुरहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनअन्तर्गतको ट्यांकर इकाइ कार्यालय चारआलीले नेपाल आयल निगमअन्तर्गतका पम्पहरूमा सबै ढुवानी बन्द गरेको जनाएको छ । गत वर्षको माघ ५ गते भएको सहमतिअनुसार १५ बुँदे माग कार्यान्वयन नभएको र निगमले मनोमानी गरेको भन्दै ढुवानी सेवा बन्द गरेको ट्यांकर इकाइ कार्यालय चारआलीका अध्यक्ष तोकप्रसाद दुलालले बताए । आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ मा ट्यांक ट्रकमा लकिङ सिस्टम लागू गरिनुपर्ने व्यवस्था उल्लेख छ । तर, ढुवानी व्यवसायीले लकिङ सिस्टम लागू गरेपछि आयतन घटीबढीको सम्पूर्ण जिम्मा आयल निगमले लिनुपर्ने माग गरेका छन् ।
ट्यांकरमा लकिङ सुविधा जडान विषयमा गत वर्ष नै आईओसी र निगमबीच दुई पक्षीय सहमति भएको थियो । ट्यांकर चालक र निगमको मिलोमतोमा ढुवानी गर्ने क्रममा बाटोमै ठूलो परिमाणमा इन्धन चोरी हुन थालेपछि निगमले यो प्रविधिलाई कार्यान्वयनमा ल्याउन आवश्यक सबै तयारी सम्पन्न गरिसकेको छ ।
निगमका अनुसार लकिङ प्रणालीको निर्णय व्यक्तिगत नभइ निगम, बोर्ड र आपूर्ति मन्त्रालयको हो । भारतका गोण्डा र बेतालपुरमा पनि १५ दिनभित्र लकिङ प्रणाली लागू गरिने निगमले जनाएको छ । बरौनी र रक्सोलमा भने एक महिनाभित्र लकिङ कार्यान्वयनमा ल्याइनेछ । आगामी तीन महिनाभित्र इलाहावादलगायत सबै डिपोमा लकिङ प्रणाली लागू गर्ने निगमको प्रतिबद्धता छ । निगमले यसअघि गत मंसिरमा दुई महिनाभित्र ट्यांकरमा लकिङ प्रणाली जडान गर्न निर्देशन दिएको थियो । तर, त्यसको कार्यान्वयन हुन सकेको थिएन ।

https://karobardaily.com/laravel-filemanager/photos/10/Mukunda_Naupane.jpg

आजदेखि सबै पेट्रोल पम्प बन्द हुन्छन्
मुकुन्दप्रसाद न्यौपाने
निर्वतमान अध्यक्ष, पेट्रोलियम डिलर्स एसोसिएसन कोशी
नेपाल आयल निगमले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै ट्यांकर व्यवसायी र चालक तथा मजदुरहरूले बुधबारदेखि डिजेल र पेट्रोलको ढुवानी ठप्प पारेका छन् । जसका कारण प्रदेश नम्बर १ का सबैजसो पेट्रोल पम्प बन्द भएका छन् । मोरङ, सुनसरीमा त आजसम्म स्टकमा रहेको पेट्रोलिय पदार्थ बिक्री गर्येउ । अब शुक्रबार (आज)देखि त बिक्री गर्ने अवस्था छैन । हामीसँग भएको सबै पेट्रोल सकिएको छ ।
ट्यांकर चालक र व्यवसायीको आन्दोलनले गर्दा उपभोक्ताका बिहानैदेखि भीड लाग्यो । खपत बढी भयो । जसले गर्दा हामीसँग भएको स्टक चाँडै सकियो । भारतको सिलगुढीबाट झापासहित मेचीका विभिन्न पम्पहरूमा पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्यांकर मजदुरहरू आन्दोलित हुँदा झापाका पम्पहरूमा त बुधबारदेखि नै पेट्रोल, डिजेल अभाव थियो । ट्यांकर मजदुरहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनअन्तर्गतको ट्यांकर इकाई कार्यालय चारआलीले त बुधबारदेखि नै नेपाल आयल निगमअन्तर्गतका पम्पहरूमा सम्पूर्ण ढुवानी बन्द गरेको छ ।
२०७३ साल माघ ५ गते भएको सहमतिअनुसार १५ बुदे माग कार्यान्वयन नभएको र निगमले मनोमानी गरेको भन्दै ट्यांकर व्यवसायी र चालकले ढुवानी सेवा बन्द गरेका हुन् । आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ मा ट्यांकरमा लगिङ सिस्टम लागू गरिनुपर्ने व्यवस्था उल्लेख छ । तर, ढुवानी व्यवसायीहरूले लगिङ सिस्टम लागू गरेपछि लस गेन (आयतन घटीबढी) को सम्पूर्ण जिम्मा आयाल निगमको हुनुपर्ने माग गरेका छन् । हामी त पेट्रोलियम पदार्थ बिक्री गर्नेहरू हौं । हामीसँग भए बिक्री गर्ने हो । अब सकिएको छ । शुक्रबारदेखि सबै पम्प बन्द गर्छौं । यो समस्या समाधानका लागि आयल निगम गम्भीर हुनुपर्छ । ढुवानी व्यवसायी र मजदुरहरूको पूरा गर्ने माग हो भने गर्नुपर्छ । उपभोक्तालाई मार पर्ने काम गर्नुहुँदैन । पेट्रोलियम पदार्थको ढुवानी ठप्प हुँदा विकास निर्माणसमेत प्रभावित हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्