वर्षौंदेखि बन्द विराटनगर भन्सारको ३ नम्बर ढाट खोल्न माग

विराटनगर– विराटनगर भन्सार कार्यालयअन्तर्गत भारततर्फको जोगबनी नजिकै अवस्थित ३ नम्बर ढाट लामो समयदेखि बन्द हुँदा त्यस क्षेत्रका सिटी रिक्सा चालकको रोजगारी प्रभावित भएको छ । ढाट बन्द भएको वर्षौं बितिसक्दा पनि जिम्मेवार निकायले कुनै पहल नगरेपछि रिक्सा चालकहरूले विरोध जनाएका छन् ।
सोमबार विराटनगर–१६ स्थित सीमास्तरीय ढाट नजिकै भेला भएका रिक्सा चालकले ढाट खुलाउन माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘सीमा खोल, रोजगार दे’, ‘नाका बन्द किन ?’ जस्ता नारासहित स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए । विगतमा यो ढाटबाट यात्रु र सवारीसाधन सहज रूपमा आवतजावत गर्थे । तर, पछिल्लो केही वर्षदेखि ढाट पूर्णरूपमा बन्द हुँदा विराटनगर–जोगबनीबीचको वैकल्पिक आवागमन प्रभावित भएको छ ।
भन्सार कार्यालयले ढाट नखोल्दा यात्रुहरू मुख्य नाका प्रयोग गर्न बाध्य छन् भने रिक्सा चालकको आम्दानीमा ठूलो गिरावट आएको छ । ‘हामी दैनिक यो नाका भएर यात्रु ल्याउने–लाने गथ्र्यौं । ढाट बन्द भएपछि हाम्रो सवारी चलाउन पाउने बाटो नै बन्द भएको छ,’ सिटी रिक्सा चालक सुरेन्द्र यादवले भने, ‘अब हामीसँग रोजगारी छैन, घर खर्च चलाउन मुस्किल भएको छ ।’ उनका अनुसार सीमावर्ती क्षेत्रमा रिक्सा चलाएर जीविका चलाउनेहरू अहिले बेरोजगारजस्तै भएका छन् ।
‘यो ढाट नै हाम्रो जीवनको आधार हो,’ अर्का चालक जागेश्वर राजवंशीले भने, ‘ढाट खुलेपछि मात्रै हामीलाई फेरि काम पाइन्छ भन्ने आशा छ ।’ सिटी रिक्सा चालकको मागप्रति स्थानीय वडास्तरीय नेताहरूले समेत चासो देखाएका छन् । उनीहरूका अनुसार यो ढाटले दुई देशबीचको सम्बन्धमै सहजता ल्याएको थियो । उचित सुरक्षा प्रबन्धसहित ढाट खोल्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।
विराटनगर भन्सार कार्यालयले भने ढाट नखुल्नुको कारण सुरक्षासँग सम्बन्धित प्राविधिक विषय भएको जनाएको छ । भन्सारका एक अधिकृतले भने, ‘यो ढाट कागजी प्रक्रियामा छैन, वैधानिक रुपमा सञ्चालनमा ल्याउन पहल भइरहेको छ । तर, सुरक्षाका कारण तत्काल खोल्न नसकिने स्थिति छ ।’ उनका अनुसार, मुख्य ढाट (१ नम्बर) पूर्ण रूपमा सञ्चालनमा रहेकाले सवारी आवतजावतमा समस्या आउन नदिएको दाबी गरिएको छ । तर स्थानीय चालक र यात्रुहरूको गुनासो भने भिन्न छ ।