Logo

लमजुङमा डेढ करोडभन्दा बढी विद्युत बक्यौता

लमजुङ– नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रमा डेढ करोडभन्दा बढी रकम विद्युत बक्यौता बाँकी रहेको पाइएको छ । आर्थिक वर्ष २०८१/०८२ को आर्थिक विवरण अनुसार केन्द्रमा एक करोड ६५ लाख ३२ हजार बक्यौता रहेको हो ।

केन्द्रका अनुसार गत आर्थिक वर्षमा धेरै विद्युत बक्यौता राख्नेहरुमा सामुदायिक विद्युत उपभोक्ता संस्थाहरु रहेका छन् । गत आर्थिक वर्षमा विद्युत उपभोक्ता संस्थाको मात्रै ९१ लाख २६ हजार बक्यौता रहेको प्राधिकरण वितरण केन्द्रले जनाएको छ । विद्युत उपभोक्ता संस्थाहरुले समयमै प्राधिकरणलाई नियमित महसुल नबुझाउँदा बक्यौता रकम बढी भएको केन्द्रका प्रमुख मेघनाथ भट्टराईले बताए ।

भट्टराईका अनुसार केही संस्थाहरुको पुरानो विवादित रकमसमेत बाँकी छ । उपभोक्ता संस्थाबाहेक जिल्लामा साधारण ग्राहकको ३८ लाख ९५ हजार बक्यौता रहेको छ । त्यसैगरी गैर ग्राहस्थबाट ३२ हजार, व्यावसायिक ग्राहकबाट ११ लाख ३३ हजार र औद्योगिक ग्राहकबाट १४ लाख २२ हजार बक्यौता रहेको छ ।

त्यसैगरी सडक बत्तीअन्तर्गत स्थानीय तहबाट पाउनुपर्ने ४३ हजार, सरकारी अनुदान सात लाख ३६ हजार, सिँचाइबाट आठ हजार, खानेपानी तथा सरसफाई समितिबाट एक लाख १० हजार र सार्वजनिक महत्त्वका धार्मिक एवं संस्कृतिक संस्थाबाट २४ हजार रुपैयाँ बक्यौता रहेको वितरण केन्द्रले जनाएको छ ।

गत आर्थिक वर्ष केही व्यावसायिक ग्राहक कालोसूचीमा परेका छन् । जसबाट १४ लाख २८ हजार बक्यौता रहेको छ । गत आर्थिक वर्षमै वितरण केन्द्रले बक्यौता रकम नबुझाउने एक हजार २५० ग्राहकको लाइन काटेको जनाएको छ । सोमध्ये केन्द्रले एक हजार १८८ ग्राहकले एक करोड सात लाख बक्यौता उठाएर पुन: विद्युत जडान गरेको जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा दुई करोड २४ लाख बक्यौता रहेको थियो । सोमध्ये पनि अधिक रकम विद्युत उपभोक्ता संस्थाहरुको रहेको थियो । सो आर्थिक वर्षमा कालोसूचीमा परेका ग्राहकका बक्यौता मात्रै १२ लाख तीन हजार रुपैयाँ रहेको प्राधिकरण वितरण केन्द्र लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्