बजेट अभाव र जग्गा विवादले खेल पूर्वाधार अलपत्र

जुम्ला– बजेट अभाव, जग्गा विवाद विवाद तथा ठेकेदारको चरम ढिलासुस्तीले खेल पूर्वाधार निर्माण अलपत्र परेका छन् । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया, चर्चित धाविका सुनमाया बुढाको नामले चिनिने जुम्लामा खेल पूर्वाधारहरु वर्षौदेखि अलपत्र परेका छन् । नियमित अभ्याससमेत गर्ने ठाउँ नहुँदा एथेलेटिक्स् खेलाडीहरु वर्खाको पानी र हिउँदको हिउँ नभनेर डाँडापाखामा पुुगेर दौडिनुपर्ने बाध्यता छ ।
सुविधायुक्त मैदान नहुँदा नियमित आयोजना नहुने भएपनि टुडिँखेल मैदानका लागि नेपाली सेना गुर्हानु पर्ने कष्ट विद्यमान छ । धावक रोकाया र बुढाको प्रेरणा तथा जुम्लामा नियमित हुने जुम्ला रारा अल्ट्रा म्याराथनले खेल क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छ । सोही अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जुम्लाका खेलाडीले एकपछि अर्को सफलता हात पनि पारेका छन् ।
तर जिल्लामा नियमित अभ्यास गर्ने र आयोजना गर्ने खेल पूर्वाधार नहुँदा खेलाडीहरु खुम्चिनु पर्ने अवस्था आएको धावक रोकायाले गुनासो पोखे । उनी भन्छन्, ‘मैले खाली खुट्टा डाँडापाखा डौडिएर विश्व रेर्कड राखें । देश संघीयतामा गएको आठ वर्ष बितिसक्दा पनि जुम्लामा एक गतिलो रंगशाला छैन । कतै जग्गा विवाद, कतै बजेट अभाव त कतै ठेकेदारको ढिलासुस्तीले संरचना बनेका छैनन् । यसले खेलाडीलाई ठूलो समस्या छ ।’
राज्यले कुनै सुविधा नदिएपनि अभ्यास गर्न तयार खेलाडीलाई पूर्वाधार नहुँदा धेरै खेलाडी पलायन हुनुपर्ने स्थितिमा पुगेका छन् । कराँतेतर्फ पनि युवा पुस्ताको रुचि बढेको छ । प्रशिक्षक लालबहादुर रोकाया भन्छन्, ‘उचित ठाउँ नहुँदा खाली खुट्टा ढुंगा माटोमा अभ्यास गराउनुपर्ने स्थिति छ । जुम्लाका सबै सरोकारवालाले खेल क्षेत्रलाई उपेक्षा गरेका छन् । यसरी जिल्लाको खेल क्षेत्रको विकासले फड्को मार्ने स्थिति छैन ।’
सात वर्षदेखि अलपत्र हाईअल्टिच्यूट
पातारासी गाउँपालिका–३ मा निर्माणधिन हाईअल्टिच्यूट ट्रेर्निङ सेन्टर जग्गा विवादले अलपत्र परेको छ । मैदान सम्याउन करिब ३ करोड खर्च भएपनि जग्गा विवादले आयोजा नै अलपत्र परेको हो । हाईअल्टिच्युट ट्रेर्निङ सेन्टर निर्माण भएपछि जुम्लासहित देश विदेशका खेलाडी अभ्यास गर्न जुम्ला आउने, खेलको विकाससँगै आर्थिक विकास हुने अपेक्षा गरिएपनि आयोजना नै थला परेपछि खेलाडी निरास भएका छन् ।
जग्गा विवादले गत आर्थिक वर्ष २०८१/०८२ मा सो सेन्टर निर्माणका लागि विनियोजन भएको पाँच करोड ६६ लाख ५० हजार बजेट फ्रिज भएको छ । जसमा रंगशाला निर्माणका लागि सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाले दुई करोड २९ लाख ५० हजार र राष्ट्रिय खेलकुद परिषद्ले चार करोड बजेट विनियोजन गरेका थिए । परिषद्ले निकासा गरेको रकममध्ये ६३ लाख रुपैयाँको मात्र काम भएको छ ।
राखेपले निकासा गरेको तीन करोड ३७ लाख रुपैयाँको काम नहुँदा बजेट फ्रिज भएको हो । फेरि उक्त आयोजना निर्माणका लागि संघीय सरकारले ठूलो रकम विनियोजन गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले बताए । उनी जुम्ला आएसँगै खेल क्षेत्र चलायमान बनाउन खोजेपछि बजेट अभावले खुम्चिएका छन् ।
उनी भन्छन्, ‘सरकारले जुम्लासहित ३ जिल्लाका लागि एक अर्ब बजेट विनियोजन गरेको छ । त्यसमा जुम्लाको हाईअल्टिच्यूट ट्रेर्निङ सेन्टर निर्माण गर्न २२ करोड जति विनियोजन हुने छ । जग्गा विवाद टुंग्याएर जसरी पनि बजेट कार्यान्वयन गर्ने पक्षमा छौं । सबै सरोकारवाला एकजुट भई हरेक वर्ष विनियोजन हुने बजेट फ्रिज हुनबाट रोक्नु पर्छ ।’
ट्रेनिङ सेन्टरका लागि ५० हजार वर्गमिटर जग्गा आवश्यक रहेपनि विद्यालय र स्थानीयको जग्गाबीच विवाद भएपछि हरेक वर्ष बजेट फ्रिज हुने र आयोजना अलपत्र पर्ने गरेको हो । पछिल्लो समयमा जग्गा व्यवस्थापनका लागि गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको संयोजकत्वमा समिति बनेको छ ।
रंगशाला निर्माणमा चरण ढिलाई
जुम्लाको राजसिममा बन्न लागेको रंगशाला निर्माणमा चरम ढिला सुस्ती भएको छ । एथेलेटिक्स खेलाडीको अभ्यासका लागि टाटन ट्रयाकसहितको फुटबल रंगशाला निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत ४० करोड ६२ लाखमा रंगशालासहित अन्य पूर्वाधार निर्माण गर्ने ठेक्का लिएको ‘कविन्द्र निर्माण सेवा’ले सम्झौता मिति सकिनै लाग्दासमेत काम अधुरै छाडेको छ ।
आयोजनाका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रंगशाला निर्माणको भौतिक प्रगति ७० प्रतिशत रहेको छ । कम्पनीको सम्झौता समय यही भदौ १९ गते सकिँदैछ । समयमै काम सम्पन्न गर्नुको सट्टा ठेकेदार म्यादको प्रक्रियामा केन्द्रित हुँदा काम प्रभावित भएको छ । ४० करोडको ठेक्कामा रंगशालाको बजेट मात्रै करिब १३ करोड रहेको छ । सम्झौता अनुसारको समयम सकिनै लाग्दा पनि रंगशालाको ३० प्रतिशत काम अझै बाँकी रहेको छ । हालसम्म प्याराफिट निर्माण, मैदान सम्याउने काम सकिएको छ भने रंगरोगन गर्न बाँकी छ ।