स्याङ्जामा २२ करोडमा १५ शीतभण्डार

स्याङ्जा– चिसो मौसममा पाइने स्याङ्जाका रसिला सुन्तला भण्डारण गरेर गर्मियाममा बेच्नसके कृषकले कम्तिमा दोब्बर मूल्य पाउने थिए । सुन्तला पाक्ने मौसम सुरु भएसँगै कृषकलाई सताउने एउटै चिन्ता छ, सुन्तलाले यो वर्ष पनि उचित मूल्य पाउँदैन् । कृषकको यस्तै चिन्तालाई अन्त्य गर्न जिल्लामा झण्डै १५ वटा शीतभण्डार निर्माण गरियो ।
कृषकले उत्पादन गरेका वस्तुको उचित मूल्य पार्न २२ करोडको लागतमा बनेका १५ शीतभण्डार सञ्चालनमा छन् । जिल्लाका ११ मध्ये ९ पालिकामा एक हजार ८५० मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण भएको छ । आवश्यक जनशक्तिको अभावमा ठूला शीतभण्डार चलेकै छैन । करोडौं खर्चेर बनेका सामान्य रुपमा चलेका अधिकांश शीतभण्डार आलु भण्डारणमा सिमित बन्न पुगेका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका ११ सुम्रेखोलामा जिल्लाकै ठूलो एक हजार तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार छ । १४ करोड खर्चेर निर्माण भएको शीतभण्डार आलु भण्डारण गरेर राखिएको कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ नारायण पाठकले बताए । भण्डारण क्षमताका आधारमा गल्याङ् नगरपालिकाको जिमुवामा तीन करोड ४० लाखको लागतमा जिल्लाको दोस्रो ठूलो तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार बनेको अर्थविज्ञ पाठकले जानकारी दिए ।
जिल्लाको वालिङ नगरपालिकास्थित त्रियासी र मिर्दिमा एक करोड २० लाख खर्चेको ५२ र १० मेट्रिक टन क्षमताका दुई वटा शीतभण्डार छन् । फेदीखोला गाउँपालिकाको सर्केटारी र फेदीखोलामा ६९ लाखमा बनेका २० र १० मेट्रिक टनका दुई शीतभण्डार रहेको छ । बिरुवा गाउँपालिकामा ३९ लाखमा बनेको ३० मेट्रिक टन क्षमताका दुई, आँधीखोला गाउँपालिकामा ६७ लाख खर्चमा बनेका दुई र अर्जुनचौपारी गाउँपालिकामा ३२ लाख खर्चेर बनेको १०/१० मेट्रिक टन क्षमताका दुई शीतभण्डार रहेका छन् ।
त्यस्तै कालिगण्डकी गाउँपालिकामा ९० लाख लागतमा बनेको ५४ मेट्रिक टन र पुतलीबजार नगरपालिका–१४ लामागेमा २३ लाखमा बनेको १० मेट्रिक टन क्षमताको शीतभण्डार छन् । जिल्लाकै चापाकोट नगरपालिकामा प्रदेश सरकारको अनुदानमा बन्दै गरेको शीतभण्डार निर्माणको अन्तिम चरणमा पुगेको केन्द्रका सूचना अधिकारी विकास विकले बताए ।
जिल्लाका सुन्तला तथा सरकारी उत्पादक कृषकले शीतभण्डार व्यवस्थित बनाएर चलाउन माग गरेका छन् । करोडौं खर्चमा बनेका शीतभण्डारबाट कृषकले उचित लाभ उठाउन नपाएको सुन्तला उत्पादक फणिनारायण अर्यालले बताए । शीतभण्डारको संरचनासँगै प्रविधि ल्याएपनि उपयोग गर्न नपाउँदा राज्यको करोडौं मूल्य थुप्रिएको छ भने कृषक लाभ लिनबाट बञ्चित भएको बताउँदै अर्यालले भने, ‘कृषकलाई शीतभण्डार ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भनेजस्तै भएको छ ।’
सुन्तला पाक्ने मौसममा गएकै वर्ष करिब १७० कृषकले जिल्लाकै ठूलो सुम्रेखोलास्थित शीतभण्डारमा भण्डारण गरेको १६० मेट्रिक टन सुन्तला कुहिँदा झण्डै ८५ लाखको क्षति पुगेको थियो । शीतभण्डारमा जडित प्रविधि चलाउन नजान्दा, हातले टिपेको सुन्तलामा ढुसी छिटो फैलने हुँदा कृषकले ठूलो क्षति व्यहोर्न बाध्य भए । शीतभण्डारबाट लाभ लिन प्रविधिमा दक्ष जनशक्ति र सुन्तला टिप्न आधुनिक विधि अपनाउनु पर्नेमा कृषि विज्ञ पाठकले जोड दिए ।
स्याङ्जामा २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन गर्दा गएकै वर्ष कृषकले एक अर्ब १२ करोडको कारोबार गरे । २२ करोडको शीतभण्डारमा सुन्तला, तरकारी भण्डारपछि उचित मूल्य पाइने वस्तु राख्नुपर्नेमा सामान्य मूल्यको आलु भण्डारण गरिएको छ । आलु मात्रै भण्डारण गर्दा शीतभण्डार सञ्चालनार्थ विद्युत, कामदार लागत खर्चसमेत अपुग भएको वालिङस्थित त्रियासी कृषि उपज व्यवस्थापन शीतभण्डारका प्रबन्धक युवाराज रेग्मीले बताए ।
जिल्लामा सुन्तला लगाउने कृषकको संख्या दिनहुँ वृद्धि हुँदै गएको छ । केही वर्षअघि लगाएको सुन्तलाले उत्पादन दिन थालेपछि उत्पादनमा समेत वृद्धि आउनेछ । शीतभण्डारको आवश्यकता बढ्दै गएको छ । करोडौं खर्च गरेर बनाएको शीतभण्डारको उचित प्रयोगमा नआउनुले नौराश्यता थपेको सुन्तला उत्पादक कृषकको भनाइ छ ।