नौ डेरी पसल कारबाहीमा

दाङ– घोराही उपमहानगरले न्यून गुणस्तरका दूध बिक्री गर्ने नौवटा डेरी पसललाई पाँच हजार रुपैयाँका दरले जरिवाना गरेको छ । उपमहानगरको बजार व्यवस्थापन समितिको सोमबार बसेको बैठकले घोराही उपमहानगर– १५ मा रहेका ९ वटा डेरीहरूले बिक्री गरेको दूधमा नेपाल सरकारले तोकेको गुणस्तर तथा मापदण्डअनसार गुणस्तर नभएको पाइएपछि कारबाही गरेको हो ।
स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७८ को दफा २९ (९) ग बमोजिमको कसुर गरेको देखिएकाले एक पटकका लागि ती डेरी व्यवसायहरूलाई दफा ३० को उपदफा १९ (क) अनुसार जनही पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । उपमहानगरका स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७८ बमोजिम गठित संयुक्त वजार अनुगमन टोलीले भदौ ५ र ६ गते डेरी व्यवसाय लक्षित घोराही उपमहानगर– १४ र १५ का १६ वडाका पसलबाट लिएका १८ वटा दूधको नमुना परीक्षण गरेको थियो ।
परीक्षणपछि प्राप्त भएको नतिजा प्रतिवेदनमाथि परामर्श गरी बजार व्यवस्थापन समितिका सबै सदस्यको सल्लाह बमोजिम जरिवाना गर्ने निर्णय भएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहनसिंह सुनारले जानकारी दिए । बैठकले बजार अनुगमन कार्यलाई तीव्रताका साथ अगाडि बढाउने निर्णयसमेत गरेको छ । विभिन्न मितिमा बजार अनुगमन गर्दा भेटिएका म्याद गुज्रेका खाद्य तथा अखाद्य वस्तुहरूलाई स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७८ को दफा २० को उपदफा २ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी नष्ट गर्ने निर्णयसमेत गरेको छ ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले पार्किङ व्यवस्थापनलाई थप चुस्त बनाउने, नियमित अनुगमन गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडिको पार्किङलाई व्यवस्थित गर्न नो पार्किङ बोर्ड तीन थान, गति सीमित लेखिएको बोर्ड २ थान र अस्पताल क्षेत्रमा नो हर्न लेखिएको बोर्ड २ थान बनाई उपयुक्त ठाउँमा राख्ने र बजारमा हाल अव्यवस्थित देखिएका पार्किङ स्थलहरूलाई जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र नगरको संयुक्त प्रयासबाट व्यवस्थित गरी पार्किङ व्यवस्थापनको कार्यलाई तीव्रताको साथ अगाडि बढाउने निर्णय भएको छ ।
बैठकमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, १८ वडाका अध्यक्ष भरतमणि अर्यालसहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, डेरी व्यवसायीका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।