Logo

तीन दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

स्याउ बोकेका २३ ट्रक अलपत्र, १३ करोडको स्याउ कुहिने जोखिम

जुम्ला– अविरल वर्षापछि आएको भिषण ढुंगासहितको पहिरोले कर्णाली राजमार्ग तीन दिनदेखि पूर्ण रुपमा अवरुद्ध रहेको छ । भदौ १४ गते विहान ९:४५ बजेदेखि कर्णाली राजमार्गअन्तर्गतको गगने खोला अवरुद्ध भएको हो । उक्त खोला अझसम्म खुलेको छैन । तीनदेखि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका ट्रक बाटोमा अलपत्र परेका छन् ।

गगने खोलामा ठूला–ठला ढुंगा आएको र ब्रेकरले पनि ढुंगा फुटाउन सम्भव नभएपछि विस्फोट गर्ने तयारी भइरहेको छ । सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन् । तीन दिनदेखि ट्रक बाटोमै रोकिएपछि करोडौं रुपैयाँ पर्ने स्याउ कुहिने जोखिम बढेको हो । विगतको तुलनामा यस वर्ष ढिला स्याउ निर्यात भएकाले निर्वाध रूपमा गन्तव्य पुग्न नसकेमा स्याउ कुहिने जोखिम बढ्ने कृषि विज्ञहरू बताउँछन् ।

सीमावर्ती क्षेत्र नाग्म प्रहरी चौकीको रेर्कडअनुसार भदौ १४ देखि १६ गते बिहानसम्म २० वटा स्याउ ट्रक जुम्लाबाट गएका छन् । नाग्म प्रहरी चौकीका असई यम शर्माका अनुसार भदौ १४ मा ८, भदौ १५ मा ११ र भदौ १६ मा ४ वटा गरि २३ वटा ट्रकले स्याउ लिएको गएको बताए । तीन दिनदेखि सडक अवरुद्ध भएपछि झन्डै १३ करोड बराबरको स्याउ बाटोमै थन्किएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।

उनका अनुसार एक ट्रकले ६ देखि ९ टनसम्म स्याउ बोक्ने गर्छन् । यस हिसावले २३ ट्रकमा १३ करोड बराबरको स्याउ रहेको आँकलन गरिएको छ । लगातार बाटोमै स्याउका ट्रक रोकिएपछि कुहिने जोखिम बढेको व्यापारी हरिसिंह नेपालीले बताए । उनले भने,‘स्याउ निर्यातकै सिजनमा वर्षात् हुने, बाढी पहिरो आउने र बाटो अवरुद्ध हुने समस्या छ । करोडौका स्याउ बोकेका गाडी अलपत्र पर्ने गरेका छन् । तर अवरुद्ध खुलाउने तयारी सुस्त छ । सडकमा खसेका ठूलो ढुंगा ब्रेकरले फुटाउन सकेको छैन । अब विस्फोट गराउने भन्ने छ । कहिले सडक खुल्छ भन्न सकिन्न ।’

अर्का स्याउ व्यापारी कालीबहादुर रोकायाले सडक अवरुद्ध भएपछि जुम्लाका किसान र व्यापारीले गत वर्षजस्तै सास्ति पाएको बताए । उनले ४ हजार किलो स्याउ बिक्रीका लागि लिएका छन् । सडक खुल्ने स्थिति नरहेपछि कुहिने चिन्ताले सताएको उनको दुखेसो छ । उनले भने,‘किसानको आधा पैसा दिन बाँकी छ । गाडीको ढुवानी दिनु पर्ने । स्याउ बाटोमै रोकिएपछि कुहिने सम्भावना बढेको छ । समयमै सडक नखुल्दा किसान र व्यापारी मारमा परेका छन् ।’ जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउ निर्यात हो ।

असिनाले यस वर्ष जुम्लाको स्याउमा ठूलो क्षति पुर्‍याएको थियो । करिब ५ लाख विरुवामा असिनाले क्षति गर्दा १६ करोडको स्याउ नोक्सान भएको थियो । उत्पादन कम भएको वर्ष मूल्य वृद्वि भए पनि सडक अवरुद्ध हुँदा किसान र व्यापारी घाटामा छन् । सडक अवरुद्ध हुँदा ठूला मालवाहक सवारीसँगै अन्य यात्रुवाहक सवारी पनि सडकमै रोकिएका छन् । समयमै नेपालगञ्ज, सुर्खेत गाडी पुर्‍याउन नसके करोडौंको क्षति पुग्ने अवस्था आउन सक्ने देखिएको छ ।

सडक खुलाउने प्रयास जारी
कर्णाली राजमार्गअन्तर्गत गगने खोलाको अवरुद्ध हटाउन विस्फोट गर्ने तयारी भइरहेको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए । उनले भने,‘ब्रेकर लगाएर ढुंगा फुटाउने प्रयास गरेका हौं । दुई दिनसम्मको प्रयास सम्भव भएन् । विस्फोट गरी सडक खुल्ने स्थिति छैन । कालिकोट प्रहरी प्रशासन र नेपाली सेनासँग समन्वय गरी विस्फोट गर्ने तयारी भए पनि सोमबार सडक खुल्न सम्भव छैन, प्रयास जारी छ ।’

गगने खोलामा ठूला–ठूला ढुंगा खसेको र सडकको नाम निसाना नै नरहेकाले विस्फोट मात्रै अन्तिम विकल्प रहेको उनको भनाइ छ । सेनाद्वारा ढुंगा विस्फोट गरेर सडक खुलाउने प्रयासमा रहेको समेत डिभिजन प्रमुख चौधरीले जानकारी दिए । विस्फोट गरेर सडक खुलाउने तयारी गरे पनि निरन्तर वर्षा भएपछि पहिरो पन्छाउन सकस भएको छ । जुम्लाको स्याउसँगै हजारौ नागरिक बाटोमै रोकिएपछि जुम्ला र कालिकोटको सबै संयन्त्र बाटो खुलाउन लागेका छन् ।

यद्यपि वर्षात् तथा स्रोत साधनको अभावले सम्भव भएको छैन । गगने खोला अवरुद्ध खुले पनि कर्णाली राजमार्गमा जोखिम कायमै रहेको छ । भौगोलिक रूपमा भिरालो क्षेत्र र स्थानीय तहले जथाभावी निर्माण गरेको सडकका कारणले गर्दा वर्षात् हुने वित्तिकै कर्णाली राजमार्गमा पहिरोको उच्च जोखिम रहने गरेको छ । गत वर्ष पनि भदौ १३ देखि १६ सम्म सडक अवरुद्ध भएपछि ६३ वटा स्याउ बोकेका ट्रक अलपत्र परेका थिए ।

प्रतिक्रिया दिनुहोस्