कतारको श्रम स्वीकृति पनी स्थगित «

कतारको श्रम स्वीकृति पनी स्थगित

सरकारले कतार जाने युवाका लागि जारी गर्दै आएको श्रम स्वीकृति सेवा मंगलबारदेखि स्थगित गरेको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा प्रवेश रोक लगाएसँगै नेपालले सो देशका लागि दिँदै आएको श्रम स्वीकृति सेवा पनि स्थगित गरेको हो ।
कतार सरकारले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएसँगै नेपालले पनि कतारका श्रम स्वीकृति स्थगित गरिएकोवैदेशिक रोजगार विभागले जनाएको छ ।“विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरसका कारण कतार नेपालसहित १४ देशका नागरिकलाई आफनो देश प्रवेशमा रोक लगाएपछि नेपालले पनि श्रम स्वीकृति स्थगन गरेको हो,” विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने, “विभागको ताहाचल कार्यालयबाट जारी हुने संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिअर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।”
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार रोजगारीका लागि कतार जाने औषत १२ हजार युवाले मासिक रूपमा श्रम स्वीकृति लिएकोदेखिन्छ । संस्थागत, व्यक्तिगत, वैधानिकीकरण र पुनः प्रवेशसहित दैनिक लगभग ४ सय नेपालीले श्रम स्वीकृति लिने गरेका छन् । विभागको तथ्यांकअनुसार मंसिरमा १२ हजार ९१२, पुषमा ११ हजार ८४० र माघमा १० हजार ७६४ युवाले कतारका लागि श्रम स्वीकृति लिएको देखिन्छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भइरसको उच्च जोखिममा रहेको देश जनाउदै सचेत रहन आह्वान गरेपनि कतारले सोमबारबाट नेपालीलाई प्रवेशमा रोक लगाएको छ ।वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाको काम गर्दै आएको काठमाडौंस्थित कतार भिसा सेन्टरले पनि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । भिसा सेन्टरका प्रमुख कार्यकारी अधिकृत गौरव क्षेत्रीले नेपाललगायत अन्य क्षेत्रमा रहेका केही भिसा सेन्टर समेत तत्कालका लागि सेवा स्थगित गरिएको जनाए । नेपालस्थित कतार भिसा सेन्टरले अनुसन्धान बाहेकका सबै सेवा मगलबारदेखी बन्द गरेको छ । कतार भिसा सेन्टरले कतार जाने नेपाली युवाको बायोमेट्रिक दर्तामा श्रमिकको अनुहारको तस्बिर, आंैला छाप, आँखाको प्रकारको विवरण, दृष्टि क्षमता, केही रक्तपरीक्षण, एक्सरे र डिप्थेरिया र टिटानसको भ्याक्सिन दिने सेवा दिदै आएको थियो । कतारले सोमबारदेखि विद्यालय र कलेज बन्द गर्ने निर्णय गरिसकेको छ । कतारको अध्यागमनले नेपालमा रहेको भिसा सेन्टरबाट हुँदै आएको काम तत्कालका लागि बन्द गर्न निर्देशन दिएकोले हाललाई नयाँ प्रक्रियाको सबै सेवा बन्द गरिएको क्षेत्रीले बताए ।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजीत श्रेष्ठले कतार जान तयारी रहेका र भिसा आएका हजारौ नेपाली रोकिएको बताए ।उनले हाल विभिन्न व्यवसायीले कतारबाट ३५ हजार भिसा लिएको जानकारी दिँदै लामो समय रोकिए भिसाको म्याद सकिने जोखिम रहेको बताए । श्रम स्वीकृति रोक्का गरिएपछि बिदामा आएका हजारौ नेपाली समयमा गन्तव्य देश जान नपाउने भएका छन् । मंगलबार श्रम स्वीकृति लिन विभागको ताहाचल कार्यलय पुगेको युवा श्रम स्वीकृति नलिई फर्केका थिए ।नेपालमा कोरोनाको संक्रमण कसैलाई नदेखिएको भएपनि विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिमको सूचीमा राखेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्