पर्याप्त भन्डारण भएकाले अत्यावश्यक वस्तुको अभाव हुँदैन «

पर्याप्त भन्डारण भएकाले अत्यावश्यक वस्तुको अभाव हुँदैन

चीनमा देखिएको कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन थालेको छ ।
छिमेकी मुलुक भारत हुँँदै विश्वका झन्डै एक सय मुलुकमा कोरोना भाइरस फैलिएसँगै बजारमा अत्यावश्यक वस्तुको खरिद बढ्दै गएको छ । खाना पकाउने एलपीजी ग्यास, मास्क, सेनिटाइजर, सर्जिकल लगायतका अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन थालेको हो । अभाव हुनसक्ने आशंकामा उपभोक्ताले बढी सामान खरिद गर्न थालेपछि बजारमा अभाव देखिन थालको हो । व्यवसायीले समेत अभाव देखाएर बढी मूल्यमा सामान बिक्री गर्ने गरेका छन् ।
खाना पकाउने ग्यास, सर्जिकल सामानमा अभाव देखिएको छ भने सरकारले अत्यावश्यक वस्तुको पर्याप्त स्टक रहेकाले अभाव नहुने बताएको छ । ग्यास, नुन, दाल, चामललगायतका दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने सरकारको भनाइ छ । कोरोना भाइरसको त्रासले गर्दा बजारमा मास्क, सेनिटाइजर, औषधिको खपत धेरै हुने गरेको छ । बजारमा मास्क र सेनिटाइजरको कृत्रिम अभाव गर्ने व्यवसायीलाई कारबाहीसमेत गरिएको छ । बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर अस्वाभाविक मूल्य लिएर उपभोक्ता ठगी समेत हुनेगर्छ । बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्नका लागि सरकारी तवरबाट भइरहेको प्रयास, पछिल्लो समय बजारको अवस्था, अत्यावश्यक वस्तुको अवस्था, बजार अनुगमन लगायतका अन्य विषयमा केन्द्रित रहेर सरोकारवाला व्यक्तिसँग कारोबार दैनिकका लागि गरिएको कुराकानी :

कृत्रिम अभाव गराएर कालोबजारी गर्नेलाई कारबाही गर्छौँ
नेत्र सुवेदी
महानिर्देशक,वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग
हामीले नियमितरूपमा बजार अनुगमन गरिरहेका छौँ । अहिले उपभोक्ताले अभाव हुन्छ कि भनेर आत्तिएकाले पनि खाना पकाउने एलपीजी ग्यासमा सामान्य अभाव देखिएको हो । नेपाल आयल निगमले दुई-तीन दिनभित्र समस्या समाधान गर्छु भनेको छ । नयाँ ग्यास बिक्री गर्ने तर पुराना सिलिन्डर नसाट्ने गरेको पाइयो भने तत्काल कारबाही गर्न भनेका छौं । आम उपभोक्ताले कोरोना भाइरसको प्रभाव, मिडियाको खबर हेरिरहेकाले गर्दा आवश्यकता भन्दा बढी आत्तिएकाले बजारमा सामानको अभाव हुक्छ कि भन्ने आशंका हो, तर बजारमा त्यस्तो छैन । आत्तिहाल्नुपर्ने अवस्था पनि छैन । खाद्यान्न अभाव हुन्छ कि भन्ने उपभोक्तामा पर्न गएको छ । हामीले खाद्यान्नको अभाव हुँदैन भनेर भनिसकेका छौँ । यस विषयलाई मिडियाले पनि अलि संयमित हुने सूचना दिनुपर्छ । कोरोना भाइरसका कारणले गर्दा मास्क अनिवार्य लगाउनुपर्ने भएको र बाहिर पनि मास्क पठाएकाले बजारमा अभाव भएको देखिन्छ । मास्क अस्पताल, विमानस्थलमा अनिवार्य लगाउनुपर्ने भए पनि अन्य सबै ठाउँमा अनिवार्य लगाउनु पनि पर्दैन । अहिले अनुगमनलाई तीव्र रूपमा अगाडि बढाइरहेका छौं । तर अनुगमनका नाममा व्यवसायीलाई हतोत्साही पनि गर्न भएन भन्ने कुरा आएको छ । व्यवसायीलाई बोलाएर यतिबेला अलिकति संयमित रहन, मुनाफातर्फ भन्दा पनि सेवातर्फ केन्द्रित हुन निर्देशन दिएका छौँ । मन्त्रीज्यूले पनि व्यवसायीलाई स्पष्टसँग भन्नुभएको छ । तर व्यवसायीको मन कतै सामानमा बिक्री गर्दा मुनाफा जोडिए आउँछ होला । ग्यास अभाव भनेर मलाई लगातार फोन पनि आइरहेको हुन्छ । ग्यासको आपूर्ति नियमतिरूपमा भइरहेकाले अभाव भने हुँदैन । सामान खरिद गर्दा ठगी भएको लागेमा खबर गर्नुहोला सूचना प्राप्त हुँदा हामी अनुगमनका गएर कारबाही गर्छौं । नियमित रूपमा बजार अनुगमनसँगै ठगी गर्ने व्यवसायीलाई कारबाही गरिरहेका छौं । अहिले आम उपभोक्तामा कोरोना भाइरसको त्रास फैलिएको छ । पर्याप्त मात्रामा दैनिक उपभोग्य वस्तुको रहेकाले उपभोक्ताले आवश्यकता भन्दा धेरै सामान खरिद गर्न पर्दैन । हामीसँग नुन, चिनी, चामल, ग्यास पर्याप्त मात्रामा स्टक रहेकाले बजारमा अभाव छैन । कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गर्छौँं ।
बजारमा अन्य अत्यावश्यक वस्तुको अभाव छैन । दिनहुँजसो अनुगमन गरिहेका छौँ । अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइए तत्काल कारबाही गर्छौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले करिब १० महिनासम्म देशको माग धान्न सक्ने गरी नुनलगायतका अत्यावश्यकीय वस्तुको भण्डारण रहेको जनाएको छ । कोरोना भाइरसको त्राससँगै उपभोग्य वस्तुको अभाव हुनसक्ने चिन्ता बढिरहेका बेला साल्ट ट्रेडिङले विज्ञप्तिमार्फत उपभोक्तालाई निश्चिन्त रहन आग्रह गरेकाले उपभोक्ता आत्तिनु पर्दैन । कर्पोरेसनसँग एक लाख ५८ हजार ५ सय मेट्रिक टन नुन मौज्दात छ । हाल २ हजार ५ सय मेट्रिक टन चिनी गोदाममा रहेको र ७ हजार ५ सय मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेकाले चिनीको अभाव हुने देखिँदैन । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पनि पर्याप्त मात्रामा चामल मौज्दात छ ।

अत्यावश्यक वस्तुमा कालोबजारी भइरहेको छ
माधव तिमिल्सेना
अध्यक्ष
उपभोक्ता अधिकार अनुसन्धान मञ्च
चीनको हुवानवाट सुरु भई विश्वव्यापी रूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव अहिले विश्का झन्डै एक सय मुलुकमा देखिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्चजोखिम घोषणा गरेलगत्तै त्यसको त्रास फैलिएको छ ।
कोरोना भाइरसको प्रभाव नेपालमा पनि आउन सक्ने आंशकामा बजारमा आपूर्ति व्यवस्थामा असहजता हुँदै गएको छ । विशेषगरी बजारमा औषधि, मास्क, पञ्जा सेनिटाइजर एवं सरसफाइका विभिन्न सामग्रीको बजारमा चरम अभाव भइरहेको छ । व्यवसायीले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गराएर कालोबजारी गरिरहेका छन् । अत्यावश्यक खाद्यान्न, तेलहन, दालहरू खाना पकाउने ग्यासलगायत अन्य वस्तु किन्न आमउपभोक्ताले विभिन्न पसल डिपार्टमेन्टल स्टोरमा ठूलो भीड लागेको छ ।
केही व्यक्तिले अनावश्यक हल्ला चलाएर कृत्रिम अभाव सिर्जना गरी सम्पूर्ण आपूर्ति व्यवस्थालाई खलल पु-याउन उद्दत रहेको देखिन्छ । त्यसैले यस्तो अवस्थामा सरकार विशेषगरी व्यवसायी र उपभोक्ताको आफ्नो–आफ्नो जिम्मेवारी र भूमिका रहन्छ । जिम्मेवार सरकार, संविधानको धारा ४४ ले प्रत्याभूत गरेको मौलिक अधिकार सफल कार्यान्वयनका लागि सरकारको महत्वपूर्ण भूमिका रहन्छ । बजारमा हुने सबै खाले विभेद र असमानता अन्त्य गर्न कृत्रिम र कालोबजारी गर्ने विरुद्ध निर्मम रूपमा उत्रनु पर्छ । आम नागरिकले विगतको भूकम्प र नाकाबन्दीको समयमा भोग्नु परेको समस्याका कारण पनि सरकारको भनाइलाई विश्वास नगरेको अवस्था छ । यस्तो अवस्थामा सरकारले सम्पूर्ण अत्यावश्यक औषधि र दैनिक उपभोग्य वस्तुको स्वेतपत्रमार्फत जानकारी गराउनुपर्दछ ।
बजारमा चरम अभाव भइरहेको सर्जिकल सामग्री औषधिलगायत अन्य वस्तु साल्ट ट्रेडिङ, खाद्य व्यवस्था कम्पनी लिमिटेडमार्फत तत्काल आयात गरी बजार व्यवस्थापन गर्नु पर्दछ । निजी क्षेत्रको समस्या, पहिचान गरी भन्सार र विभिन्न देशबाट आयात हुने वस्तुमा सहजीकरण गर्नुपर्दछ । बजार अनुगमन र नियमनका लागि उपभोक्ता संरक्षण ऐन २०७५, कालोबजारी तथा अन्य केही सामाजिक अपराध ऐन २०३२ कार्यान्वयनका लागि विशेष अधिकारसहित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पूर्ण रूपमा स्रोतसाधन र सम्पूर्ण आवश्यक जनशक्तिको व्यवस्था गरी सबै प्रदेश सरकार, स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्ने व्यवस्था गरी उक्त कार्यमा खटिने कर्मचारीको मनोबल उच्च राख्न विशेष प्रोत्साहन भत्ताको व्यवस्था गरी चौबिसै घण्टा खटिन सक्ने स्थायी संयन्त्रको निर्माण गर्न आवश्यक देखिन्छ ।
इमान्दार व्यवसायी, विशेषगरी बजारमा आम उपभोक्तालाई अत्यावश्यक विभिन्न वस्तु र सेवा प्रवाहमा व्यवसायीको महत्वपूर्ण भूमिका छ । विशेषगरी यस्तो विपतको बेला पनि आम उपभोक्तालाई आवश्यक पर्ने वस्तुहरूको आवश्यक भण्डार नगर्न सुझाव दिई कार्यान्वयन गर्न सम्पूर्ण व्यावसायिक संघ संस्थाको अहम् भूमिका रहनु पर्दछ । केही व्यवसायीको गलत कदमले समग्र व्यवसायी जगतको बदनाम हुने हुँदा संयमित र क्षणिक लाभको आशा गर्नु हुँदैन । आमउपभोक्ता वर्गमा सन्त्रास फैलाई गलत कार्य हुन सक्ने हुँदा त्यसतर्फ विशेष सतर्क रहनु पर्दछ ।
व्यवसायीले अत्यावश्यक खाद्य वस्तुको पारदर्शी वितरण, प्रष्ट मूल्यसूची खरिद र बिक्री बिल लिने दिने व्यवस्था गर्नुपर्छ । कमशल, मिति सकिएका, सकिन लागेका लेबल नखुलेका कम गुणस्तरीय गुणस्तरहीन वस्तुको बिक्री वितरणलाई सरकारले नियन्त्रण गर्नुपर्छ । सरकारी संस्थान र निजी व्यवसायीले उपभोक्तालाई विश्वस्त हुने गरी आफूसँग भएको मौज्दात र मागको अवस्था पनि सार्वजनिक गरिनुपर्दछ । एउटा वस्तुको बिक्रेता आयतकर्ता भए पनि म हजारौं वस्तुको उपभोक्ता हो, मैले मेरो इमान्दारिता बिर्सनु हुँदैन भन्ने चेतना हुनुपर्दछ । जसरी नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, नेपाल वितरक संघले विज्ञप्तिमार्फत पारदर्शी व्यवसाय गर्न आग्रह गरको छ ।
उपभोक्ता बजारका भगवान हुन् भन्ने सिद्धान्त र उपभोक्तावादको सिद्धान्त अनुरुप वस्तु र सेवा प्रदायकले उपभोक्तालाई सचेत र जागरुक बनाउनु पर्दछ भन्ने सिद्धान्तलाई कमाउने अवसरको रूपमा नलिई सेवाको भावना अनुरुप कार्य गर्नु मानवियता र धार्मिक रूपमा पुण्य पनि हुन्छ ।
स्वच्छ र प्रतिस्पर्धी बजारका लागि उपभोक्ता जागरुक र सचेत हुनु उपभोक्ताको दायित्व पनि हो । कोरोना भाइरसको नाममा बजारमा व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गर्ने गरेका छन् । गलत सूचनाले आम सर्वसाधारण उपभोक्ताले आफूलाई चाहिनेभन्दा बढी मात्रामा खरिद गरी भण्डारण गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुन्छ । बजारमा एक्कासि माग बढ्दा आपूर्ति व्यवस्थामा असहज हुँदा उपभोक्तालाई प्रत्यक्ष प्रभाव पार्नेछ । आफूलाई चाहिनेभन्दा बढी वस्तु खरिद तथा भण्डारण नगर्ने अरूलाई पनि नगर्न सुझाव दिने कसैले गलतकार्य गरेको छ भने सरकारी संयन्त्र, सञ्चार माध्यम, प्रहरी उपभोक्ता संस्थालाई समयमै सही सूचना दिनुपर्छ । वस्तुको खरिद र उपभोग गर्दा लेबलमा विशेष ख्याल दिने कुनै प्रकारको शंका उत्पन्न भएमा शंका निवारणका लागि पहल गर्ने, कृत्रिम अभाव, कालोबजारी, जम्माखोरी नियन्त्रण गर्न पूर्णरूपमा, नियमित रूपमा आपूर्ति व्यवस्था चुस्त, बजारलाई प्रतिस्पर्धी, उपभोक्तामैत्री बनाउन जिम्मेवार सचेत जागरुक नागरिकको भूमिका निर्वाह गर्नु पर्दछ । बजारम अभाव देखाएर कालोबजारी हुने हुँदा त्यसलाई नियन्त्रण गर्नका लागि सरकाले अनुगमनलाई सक्रिय बनाउनुपर्छ ।

बजारमा दैनिक उपभोग्य वस्तुको अभाव छैन
कमलेश अग्रवाल
उपाध्यक्ष
नेपाल चेम्बर अफ कमर्श
कोरोना भाइरस ८० भन्दा धेरै देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले एसियाका पाँच देशलाई उच्च जोखिममा राखेको छ । त्यसमा नेपाल पनि परेकाले त्रास बढी देखिएको हो तर पनि अहिलेसम्म नेपालमा यो रोग प्रवेश गर्न पाएको छैन । विश्व स्वास्थ्य संगठनको सूचनाले गर्दा पनि हामी कहाँ धेरै त्रास भएको हो । ३२ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । त्यसमा चीनबाहेक कोरिया, इरान र इटालीमा कोरोना भाइरसको प्रभाव परेको छ । कोरोना भाइरसको भ्रामक र अस्पष्ट सूचनाको कारणले गर्दा पनि सर्वसाधारण त्रसित हुन पुगेका छन् । तर पनि अहिले हामी कहाँ दैनिक उपभोग्य वस्तु खाद्यान्नमा समस्या छैन । औषधि व्यवसायीले पनि ६ महिनालाई पुग्ने औषधि स्टक छ भनिरहेका छन् । त्रासले गर्दा मानिसले आवश्यक भन्डारण गर्न लागेकाले ग्यासको अभाव हुन गएको हो । आवश्यकता भन्दा पनि बढी भन्डारण गर्न लागेकाले पनि अभाव देखिएको हो । औषधिमा पनि त्यस्तै भएको छ । डाक्टरको सिफारिस नभएका औषधि पनि भोलि अभाव हुन सक्ने भन्दै खरिद गर्न थालेकाले बजारमा अभाव देखिएको हो ।
कृत्रिम अभाव किन देखियो भने जब धेरैजना एकैचोटि पसलमा गएर सामान किन्न थालेपछि सबैलाई सामानको अभाव भएको हो कि भन्ने परेको हो । तर बजारमा अहिले दैनिक उपभोग्यवस्तुको अभाव छैन । पञ्जा, मास्क, गाउन, एप्रोनमा अभाव देखिएको हो । मास्क बढी अभाव देखिएको हो । विगतमा मास्कको धेरै बिक्री थिएन । व्यवसायीसँग पनि धेरै स्टक नभएको र हामीकहाँ उत्पादन पनि कम हुनेगर्छ । एक्कासि माग बढी देखिएकाले पनि बजारमा अभाव देखिएको हो । उद्योगी व्यवसायीलाई हामीले चेम्बरबाट अनुरोध गरेका छौँ । मास्कको आयात सहज गर्नु भनेर । आपूर्ति व्यवस्था जसरी सहज हुन्छ त्यतिबेला बजारमा माग पनि कम हुन्छ । चीनबाट आउने सामानको आयात बन्द छ । कलकत्ता बन्दरगाहाबाट पनि आइरहने सामान र विगतमा अडर दिएको सामान पनि उत्पादन हुन सकेको छैन । बजारमा भएको स्टक सामान जाने हो । भारतमा पनि कोरोना भाइरस फैलिएको छ । भारत सरकारले पनि केही दिनअघि अत्यावश्यक सामान औषधि निर्यात गर्न नदिने भन्ने कुरा आएको थियो । त्यसले गर्दा पनि नेपालमा त्रास फैलियो । भारतबाट नेपालमा आउने औषधि नियमितरूपमा आउँछ भन्ने कुरा आएपछि बजारमा अलि सहज भयो । अहिलेको अवस्थामा उपभोक्ताले पनि अलि संयमता राखेर अनावश्यक सामान भन्डारण गरेनौ भने समस्या आउँदैन । व्यवसायीसँग पर्याप्त मात्रामा दैनिक उपभोग्य वस्तुको रहेका आत्तिनुपर्ने अवस्था छैन । विश्वबाट नै कोरोना भाइरसकै त्रास समाप्त होस् । हामी सबै अहिले विश्व अर्थतन्त्रमा रहेका छौं । हाम्रो आफ्नो आन्तरिक भन्दा पनि ग्लोबल इकोनोमीले प्रभाव पारिरहेको छ । अहिले विश्वको एक तिहाइ अर्थतन्त्र नै त्रासको वातावरणमा रहेको छ । एडीबीले पनि विश्वकै आर्थिक वृद्धिदर घट्ने भनिरहेको छ । पर्यटकीय क्षेत्रमा पनि पूर्वाधार निर्माणमा चिनियाँले काम गरिरहेका थिए । उनीहरू आउन मानिरहेका छैनन् । समग्र अर्थतन्त्रमा नै यसले प्रत्यक्ष असर पार्छ । यसले मुलुकको अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर पार्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्