Logo

चार हजार रोपनीमा मकै बीउ प्रवर्द्धन कार्यक्रम

दमौली– कृषि ज्ञान केन्द्रले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलमा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका २० कृषक समूहमार्फत् उक्त कार्यक्रम सञ्चालन गरेको हो । मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रमलाई कृषि, भूमि तथा सहकारी मन्त्रालयले प्राथमिकतामा राखेको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।

उक्त कार्यक्रम सञ्चालनका लागि एउटा क्लष्टरमा कम्तिमा पनि एक सय रोपनी हुनुपर्ने प्रावधान रहेको थियो । कार्यक्रम सञ्चालनका लागि ६८ लाख बजेट रहेकामा ३९ लाख दुई हजार खर्च भएको लामिछानेले जानकारी दिए । उनका अनुसार कार्यक्रमअन्तर्गत समूहलाई ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा विविध सामग्री उपलब्ध गराइएको छ ।

लामिछानेका अनुसार मकै बीउ उत्पादनका लागि कृषक समूहलाई पाँच हजार ५१४ केजी बीउ वितरण गरिएको छ । त्यस्तै ३९ मिनिटिलर, २१ कम्बाइन मिल, ४७ मकै छोडाउने उपकरण, १४ डिजिटल तराजु, ५२ स्प्रेयर, ४२० त्रिपाल र दुई सय मिटर कुलो पाइप वितरण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–६ स्थित एकता कृषक समूहले एक सय रोपनी क्षेत्रफलमा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ ।

त्यस्तै आँबुखैरेनी गाउँपालिका–६ कै घलडाँडा कृषक समूहले चार सय रोपनी, आँबुखैरेनी गाउँपालिका–२ स्थित गाउँघर कृषक सहकारी संस्थाले दुई सय, ऋषिङ गाउँपालिका–३ स्थित मिलीजुली कृषि तथा पशुपालन समूहले १२०, घिरिङस्थित कालीगण्डकी कृषि सहकारी संस्थाले १५०, बन्दीपुरस्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले एक सय रोपनीमा बीउ उत्पादन गरेका छन् ।

यस्तै बन्दीपुरकै आँधीमुल तरकारी उत्पादक कृषि सहकारी संस्थले तीन सय, व्यासस्थित पिपलटार कृषक समूहले एक सय, हरियाली फलफूल तरकारी कृषक समूहले १६०, जौबारी कृषक समूहले एक सय, बर्लाची कृषि उत्पादक सहकारीले चार सय, पोखरीडाँडा कृषक समूहले एक सय, अन्नपूर्ण कृषि उत्पादक सहकारीले एक सय क्षेत्रफलमा कार्यक्रम विस्तार गरेका छन् ।

त्यस्तै भानुस्थित साथ फलफूल तथा कृषि सहकारी संस्थाले चार सय, नवआकृति बहुउद्देश्यीय कृषक समूहले १५०, समता कृषि सहकारी संस्थाले तीन सय, फाउदी कृषि सहकारी संस्थाले पाँच सय, म्याग्देस्थित नेपानेटारी कृषक समूहले १०५, माहिन्द्री गंगा कृषि सहकारी संस्थाले दुई सय र म्याग्देस्थित नमुना कृषि तथा पशुपालन कृषक समूहले एक सय हेक्टर क्षेत्रफलमा मकै बीउ उत्पादन विस्तार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्