Logo

किसानलाई अनुदानमा २२ हजार कार्टुन

जुम्ला– जुम्लाका स्याउ किसानलाई अनुदानमा कार्टुन वितरण गर्ने निर्णय गरिएको छ । भदौ २ बाट स्याउ संकलन तथा निर्यात खुलेसँगै जुम्लाका किसानलाई स्याउ संकलन गर्नको लागि कृषि विकास कार्यालय राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले कार्टुन वितरण गर्ने निर्णय गरेको हो ।

स्याउ ढुवानी व्यवस्थित गर्न, कुहिने जोखिमबाट बचाउन वार्षिक विनियोजित कार्यक्रमअनुसार किसानलाई अनुदानमा कार्टुन वितरण गर्न लागिएको हो । स्याउको क्षेत्र विस्तार, उत्पादन वृद्धि तथा बजारीकरणलाई सहज बनाउन काम गर्दै आएका यी दुई कार्यालयले यस वर्ष जुम्लाका स्याउ किसानलाई २२ हजार ‘जुम्ली स्याउ’ लेखिएको कार्टुन अनुदानमा वितरण गर्ने छन् ।

जसअन्तर्गत कृषि विकास कार्यालयले ११ हजार र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले ११ हजार कार्टुन ५० प्रतिशतमा वितरण गर्ने भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले कार्टुन वितरण सुरु गरिसकेको छ । कृषि विकास कार्यालयले वितरणको कार्य सुरु गर्न लागेको कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए ।

उनका अनुसार किसानलाई ५० प्रतिशत अनुदानमा प्रति कार्टुन ४५ रुपैयाँ तिर्नु पर्ने छ । कृषि विकास कार्यालयमा कार्टुन खरिदका लागि ६ लाख विनियोजन गरिएको थियो । सोही बजेटबाट अनुदानका कार्टुन खरिद गरिएको हो । कृषि विकास कार्यालयमा गत आवमा कार्टुन खरिदमा १० लाख विनियोजन भए पनि कार्यालयकै ढिला सुस्तीले समयमै कार्टुन खरिद नहुँदा बजेट फ्रिज भएको थियो ।

परियोजना कार्यान्वयन इकाई जुम्लाले अनुदानमा कार्टुन वितरण थालेको छ । कुल ९ लाख ९० हजार लागतमा ११ हजार कार्टुन जुम्ला पुर्‍याएको परियोजनाले हालसम्म ७ हजार बढी कार्टुन वितरण गरिसकेको छ । गत मंगलबारदेखि किसानलाई कार्टुन वितरण गर्न थालिएको कार्यालय प्रमुख सन्तोषकुमार चौधरीले बताए । उनका अनुसार ११ जना किसानलाई ७ हजार ९४० कार्टुन बाँडिसकिएको छ ।

किसानको स्याउ सहजै रूपमा निर्यात गर्न यो कार्टुनले सजिलो बनाउने छ । एक किसानलाई २ सयदेखि १ हजारसम्म कार्टुन उपलब्ध गराइएको छ । चार लाख ९५ हजार रुपैयाँ कार्यालय र ५० प्रतिशत किसान गरी कुल ९ लाख ९० हजार रुपैयाँमा कार्टुन जुम्ला आइपुगेको हो । किसानले तीन सयदेखि एक हजार रुपैयाँसम्म कार्टुन लिएका छन् ।

कार्टुनमा १० देखि १२ केजीसम्म स्याउ अटाउनेछ । बाह्य कार्टुनमा स्याउ निर्यात गर्दा जुम्ली स्याउको पहिचान र गुणस्तरमा समस्या हुन सक्ने जोखिमलाई मध्यनजर गरी जुम्ली स्याउ लेखिएको कार्टुन वितरण गरिएको हो । स्याउको प्याकेजिङ लेवलिङ तथा पोस्ट हार्भेष्ट क्षति न्यूनीकरण कार्यक्रमअन्तर्गत स्याउ कार्टुन उपलब्ध गराइएको हो ।

जुम्लाको अधिकांश स्याउ सुर्खेत, नेपालगन्ज पुगिसकेको बेला सरकारी अनुदानका कार्टुन वितरण गर्दा सबै किसान लाभान्वित हुन नसक्ने देखिएको छ । साउन अन्तिम तिर खरिद गरेर वितरण गरेको भए धेरै किसान लाभान्वित हुने थिए । स्याउ किसान विष्णु अधिकारीका अनुसार किसानलाई अनुदानमा कार्टुन दिनु धेरै राम्रो हो । बाहिरको कार्टुन कच्चा हुन्छ । जोखिम पनि छ । तर अनुदानको कार्टुन समयमै वितरण नहुँदा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्