Logo

पूर्वाधार निर्माणमा जनशक्ति र उपकरण परिचालन न्यून

म्याग्दी-जिल्लाको विकासको आधार मानिने सडकको पूर्वाधार निर्माणमा जनशक्ति र उपकरणको न्यून परिचालन भएको छ । निर्माण व्यवसायीले हिउँदमा जनशक्ति र उपकरण कम परिचालन गर्दा कालोपत्रे गरिने सडकको स्तरोन्नति समयमै सम्पन्न नहुने देखिन्छ ।
पूर्वाधार निर्माणका लागि अनुकूल मानिने हिउँदको समयमा निर्माण व्यवसायीले जनशक्ति परिचालन कम देखिएपछि जिल्लाका सरोकारवालाले समयमै काम सम्पन्न नहुने भन्दै चासो देखाएका छन् । गण्डकी प्रदेश सरकार मातहत गलेश्वर राहुघाटदेखि पिप्ले–भगवती हुँदै बेग जोड्ने सडक, बेनीदेखि दरबाङ जोड्ने सडकमा कालोपत्रे योजना सञ्चालन भएका छन् । तर कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले प्रभावकारी रूपमा हिउदँकै समयमा पनि काम गर्न सकेका छैनन् ।
बागलुङ–बेनी सडक र कालिपुल बसपार्क सडक (बेनी–गलेश्वर) कालोपत्रे योजनासमेत अधुरै छ । बागलुङ–बेनीको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । कार्यालयमार्फत सञ्चालित र संघमार्फत प्रदेशलाई हस्तान्तरण भएका कालोपत्रेसहित सडक स्तरोन्नति योजनालाई निर्धारित समय र गुणस्तरीय तवरले सम्पन्न गर्नका लागि निरन्तर ताकेता गरिएको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । कार्यक्षेत्रमा पर्याप्त मजदुर र मेसिन उपकरण परिचालन नभएपछि सम्बन्धित निर्माण कम्पनीलाई ध्यानाकर्षण गराइएको र पत्राचारसमेत गरिएको कार्यालयका प्रमुख ओमराज ढुंगानाले बताए ।
बेनी–सिमचोकसम्मको १२ किलोमिटर ५८५ मिटर सडकको भौतिक प्रगति ५० प्रतिशत छ, तर सडक फराकिलो बनाउने, नाली निर्माण र ग्याबिन पर्खाल लगाउने कामले समेत पूर्णता पाउन सकेको छैन । लामा समानान्तर जेभीसँग २०७४ साउन ६ गते सम्झौता भएर २०७६ माघ १२ गते सम्पन्न गर्ने मिति भए पनि निर्धारित मितिमा आधामात्रै काम गरेको निर्माण कम्पनीले कार्यक्षेत्रमा न्यून मात्रामा जनशक्ति र उपकरण परिचालन गरेको छ ।
निर्धारित मितिमा कार्यसम्पन्न गर्न नसकेको र निर्माण कम्पनीबाट कार्ययोजना सहितको प्रतिबद्धता आएपछि आगामी कात्तिकसम्म म्याद थप गरिएको कार्यालय प्रमुख ढुंगानाले बताए ।
निर्माण व्यवसायीको कार्ययोजना सहित हामीले म्याद थपका लागि मन्त्रालयमा पठाएको कार्यालय प्रमुख ढुंगनाले जानकारी दिए । आगामी वर्षायाम अगावै ७ किलोमिटर सडक कालोपत्रे गरिसक्ने कार्ययोजनामा उल्लेख छ, कार्ययोजना अनुसारको काम नभए कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
त्यसैगरी मंगला गाउँपालिकाको सहस्रधारादेखि दरबाङ खण्डको कालोपत्रेका लागि परिचालित निर्माण कम्पनीको कामसमेत सन्तोषजनक छैन । ६ किलोटिमर ८ सय मिटर सडक कालोपत्रेका लागि परिचालित निर्माण कम्पनी विरुवा क्यारभान जेभीले २० प्रतिशत मात्रै भौतिक प्रगति हासिल गरेको छ । त्यस्तै गलेश्वरदेखि पिप्ले–भगती हुँदै बेग जोड्ने ८ किलोमिटर सडक कालोपत्रे योजनाको अहिलेसम्म जम्मा ४१ प्रतिशत भौतिक प्रगति भएको छ ।
कार्यक्षेत्रमा परिचालित एपेक्स–खड्का कृष्ण जेभीले विगत दुई महिनादेखि यो सडकको काम रोकेको छ । सडकखण्ड अन्तर्गत कतै पनि अहिले मजदुर र उपकरण परिचालन नभएको पाइएको छ । निर्माण कम्पनीका इन्जिनियर निश्चल पौडेलले कार्यक्षेत्रमा गर्नुपर्ने कार्य शीर्षक अनुसारको रकम व्यवस्थापन नभएकाले आफूहरूले काम रोक्नुपरेको प्रतिक्रिया दिए ।
गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित सडकको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले स्थलगत अवलोकन गर्दै समयमै ठेकेदारलाई गुणस्तर कामसहित काम सम्पन्न नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री बस्नेतले चारवटै सडक आयोजनाका निर्माण कम्पनीका प्रतिनिधिलाई भेटेर कम्पनीलाई रकमको अभाव हुन नदिने, तर कामै नगरी बस्नेलाई भने कानुनी दायरामा ल्याउने बताउँदै हिउँदको समयमा आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरेर काम निर्माण गर्न व्यवसायीका इन्जिनियरलाई आग्रह गरेका थिए ।
प्रदेश सभा सदस्य विनोद केसीले हिउँदयाममा जिल्लाको गौरव आयोजनाको पूर्वाधार निर्माण कार्यले गति नपाउनु चिन्ताजनक भएको बताए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाको ठूलो आयोजनाको नियमित अनुगमन भएको बताउदै कमजोर रूपमा जनशक्ति र उपकरण गर्ने निर्माण ब्यवसायीलाई ध्यानाकर्षण गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्