कोटगाउँ–रायखोर सडक निर्माणकार्य सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, कोटगाउँ–रायखोर सडक निर्माणकार्य सुरू भएको छ । गाउँपालिकाको गौरवको योजनाअन्तर्गत ५० लाख रुपैयाँको लागतमा सडक विस्तार सुरु गरिएको हो । गाउँपालिकाको विकट पाखपानीको रायखोर मूलपानी, उल्लेरी क्षेत्र जोड्ने गरी सडक विस्तार सुरु भएको वडाध्यक्ष मनकुमार शेरपुञ्जा मगरले जानकारी दिए । पहिलो चरणमा चार किलोमिटरसम्म सडक विस्तार हुने कोटगाउँ–रायखोर सडक निर्माण समितिले जनाएको छ ।
सडकखण्डलाई रायखोर हुँदै मुलपानी र वडा नं ८ को ध्याँसीखर्क मङ्गले जोड्ने चक्रपथ बनाउने उपभोक्ता समितिका अध्यक्ष रोशन शेरपुञ्जा मगरले बताए । उनका अनुसार सडक सञ्जाललाई नमूना बनाउने गरी गाउँपालिकाको सडक मापदण्डअनुसार नै सडक निर्माणको काम सुरु भएको छ ।
सडक विस्तारबाट वडा नं ६ र ८ का स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । सोही सडकखण्डबाट पर्यटकीय तथा धार्मिकस्थल रिखार क्षेत्रसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ । सडकखण्डमा कडा चट्टान भएकाले गाउँपालिकाको बजेटले अपुग हुने भएकाले गण्डकी प्रदेश र संघीय सरकारसँग समेत बजेट माग गर्ने जनाइएको छ ।
गाउँपालिकालाई पाखापानी, बेगखोला र दग्नामबाट चक्रपथ बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । उनका अनुसार भौगोलिकरूपमा विकट तथा चट्टानका कारण सानो बजेटमा सम्भव नभएकाले गाउँपालिकाले प्रदेश र संघीय सरकारसँग बजेट माग गर्ने तयारी गरेको छ ।