Logo

किसानलाई हाते ट्र्याक्टर

काभ्रेको पाँचखाल नगरपालिका र वडा नं ९ को संयुक्त आयोजनामा पलाञ्चोकका किसानलाई २५ वटा हाते ट्र्याक्टर वितरण गरिएको छ । पाँचखाल नगरपालिका–९ को कार्यालयमा मङ्गलबार कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेश खरेलले स्थानीय कृषकलाई ट्र्याक्टर वितरण गरेका हुन् ।
नगर प्रमुख खरेलले कृषिमा यान्त्रिकीकरण र व्यवसायीमा आधुनिकीकरण गर्ने उद्देश्यले ट्र्याक्टर वितरण गरेको बताए । त्यस क्रममा उनले किसानलाई सामग्रीको उचित प्रयोग गरी आम्दानीमा वृद्धि हुने विश्वाससमेत व्यक्त गरे । उनले अनुदानमा पाएको भनेर दुरुपयोग नगरी कृषिलाई आधुनिकीकरणसँग जोडेर उत्पादन बढाउन प्रयोग गर्न अनुरोधसमेत गरे ।
पाँच जनाको समूह बनाएर वितरण गरिएको ट्र्याक्टरले १०० कृषक परिवारलाई समेट्ने वडाध्यक्ष किरण श्रेष्ठले बताए । ५० प्रतिशत अनुदानमा कृषकले २० हजार ५०० तिर्ने गरी उपलब्ध गराइएको उनको भनाइ छ । किसानको समूह गठन गरी ती ट्र्याक्टर वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा नं ९ ले यसअघि पनि २७ वटा हाते ट्र्याक्टर वितरण गरेको थियो भने नगरपालिकाको–६ ले पनि यसअघि हाते ट्र्याक्टर वितरण गरिसकेको छ । त्यस्तै नगरपालिकाको समन्वयमा वडा नं ४ मा पनि हाते ट्र्याक्टर वितरण गर्ने तयारीमा लागेको पाँचखाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकनारायण भण्डारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्