प्रतिवर्ष ११ अर्बको क्लिङ्कर आयात «

प्रतिवर्ष ११ अर्बको क्लिङ्कर आयात

सिमेन्ट उद्योगमा स्वदेशी तथा विदेशी लगानी वृद्धि भइरहे पनि सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिङ्कर आयात भने अस्वभाविक रुपमा वृद्धि भएको छ । प्रतिवर्ष ११ अर्बको औसतमा क्लिङ्कर आयात भएको छ । नेपालमा बढ्दो माग र स्वदेशी क्लिङ्कर उत्पादनबीच सन्तुलन मिल्न नसक्दा आयात बढेको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार पछिल्लो ५ वर्षमा मात्रै ५६ अर्ब रुपैयाँ बराबरको क्लिङ्कर आयात भएको छ । स्वदेशमा लगानीको प्रतिकुल अवस्थामा पनि यो क्षेत्रमा ठूला घरानाले उल्लेख्य लगानी गरेका छन् भने पछिल्लोपटक चिनियाँ लगानी होङ्सीले समेत उल्लेख्य लगानी गरेको छ ।
सरकारले विदेशबाट क्लिङ्कर आयात घटाइ स्वदेशमै उत्पादन गर्ने नीति अख्तियार गरेको छ । सिमेन्टमा मुलुक आत्मनिर्भर बने पनि क्लिङ्करका लागि शतप्रतिशत परनिर्भर भएर ठूलो रकम बाहिर जान थालेपछि त्यसलाई रोक्न स्वदेशमै उत्पादन गर्न लागिएको हो । आर्थिक वर्ष २०७२÷०७३ को तुलनामा २०७३÷०७४ मा क्लिङ्कर साढे दुई गुणाले वृद्धि भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । केन्द्रको तथ्यांकअनुसार पछिल्लो ५ वर्षभित्र ५६ अर्ब बराबरको क्लिङ्कर आयात भएको छ ।
वाणिज्य मन्त्रालयले खनिज प्रशस्त भएका जिल्लामा क्लिङ्कर उत्पादनको गृहकार्य अगाडि बढाएको मन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए ।     “सिमेन्टमा आत्मनिर्भर भए पनि क्लिङ्करका लागि बर्सेनि अर्बौं रुपैयाँ बाहिर गइरहेको छ,” मन्त्री विश्वकर्माले भने, “वैदेशिक लगानी भिœयाई उत्पादनका लागि तयारी गरिरहेका छौं ।” भारत, दुबई र यूएईका व्यवसायी स्थानीयस्तरमा उत्पादन गरेर निर्यात गर्ने गरी लगानी गर्न इच्छुक रहेकाले यसका लागि अनुरोध गरिएको र केही व्यवसायी सम्पर्कमा आएकाले चाँडै प्रक्रिया अघि बढाउने उनले जानकारी दिए । 
मन्त्रालयका अनुसार, हाल शतप्रतिशत क्लिङ्कर छिमेकी मुलुक भारतबाट आयात गर्ने गरिएको छ । यसले व्यापार घाटा थप बढाइरहेको छ । “मुलुकमा सिमेन्ट उत्पादन गर्ने प्लान्ट जस्तै क्लिङ्कर उत्पादन गर्ने प्लान्टका लागि वैदेशिक लगानीलाई आमन्त्रण गरिसकेका छौं,” मन्त्री विश्वकर्माले भने ।  क्लिङ्कर उत्पादन गर्न खनिज आवश्यक पर्ने भएकाले दोलखा, धादिङ, संखुवासभा र जाजरकोटमा खानी रहेकाले क्षेत्र उपयुक्त देखिएको मन्त्रालयले जनाएको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७३÷७४ मा २४ अर्ब ९६ करोड रुपैयाँ बराबरको २९ लाख ३९ हजार १ सय ५२ टन क्लिङ्कर आयात भएको छ । चालु आर्थिक वर्षको दुई महिनामै ४ अर्ब २४ करोड रुपैयाँ बराबरको ५ लाख ५ हजार ५ सय ६४ टन क्लिङ्कर  आयात भएको छ । 
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२÷७३ मा ९ अर्ब ९३ करोड ५४ लाख ९० हजार ५ सय ८९ रुपैयाँ बराबरको १ अर्ब ४७ करोड १८ लाख ६७ हजार ७ सय ७७ टन क्लिङ्कर  आयात भएको छ । त्यस्तै आव ०७१÷७२ मा ८ अर्ब ४० करोड १४ लाख ४६ हजार रुपैयाँ बराबरको १ अर्ब २३ करोड ४० लाख ३२ हजार टन आयात भएको छ । आर्थिक वर्ष ०७०÷७१ मा ६ अर्ब ६४ करोड ७४ लाख ४६ हजार रुपैयाँको १ अर्ब ९ करोड ५५ लाख ९ हजार टन आयात भएको छ । त्यस्तै आर्थिक वर्ष ०६९÷७० मा ५ अर्ब ९९ करोड ३० लाख ४४ हजार रुपैयाँबराबरको ९२ करोड २३ लाख ४३ हजार टन आयात भएको केन्द्रको तथ्यांक छ ।  

क्लिङ्कर आयात
आर्थिक वर्ष    आयात गर्दाको रकम (रु. करोडमा) 
२०७३÷०७४    २४९६
२०७२÷०७३    ९९३
२०७१÷०७२     ८४० 
२०७०÷०७१    ६६४ 
२०६९÷७०    ५९९
स्रोत ः भन्सार विभाग÷व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र

प्रतिक्रिया दिनुहोस्