रुख कटानको आदेश नआउँदा सडक निर्माणमा ढिलाइ «

रुख कटानको आदेश नआउँदा सडक निर्माणमा ढिलाइ

दोलखा-चरिकोट–जिरी सडक विस्तारको लक्ष्य भेट्न रुख र विद्युत्का पोल बाधक भएका छन् । सडकको आफ्नो क्षेत्र भित्र रहेका सार्वजनिक जग्गामा रहेका रुख कटानका लागि समयमै आदेश नआउँदा र विद्युत्का पोल हटाउने प्रक्रियामा भएको ढिलाइले सडकको प्रगति अपेक्षा अनुसार नभएको हो ।
चरिकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक विस्तारका लागि ठेक्का सम्झौता भएको एक वर्ष पुग्न लागेको छ । तर यो अवधीमा १० प्रतिशत पनि भौतिक प्रगति हुन सकेको छैन । कार्यतालिका अनुसार अहिलेसम्म १५ प्रतिशत काम पूरा हुनु पथ्र्यो । सडक डिजाइनको चेक सर्भेपछि गत चैतदेखि निर्माण व्यवसायीले काम सुरु गरेका हुन् । सार्वजनिक जग्गामा रुख कटानको आदेश पर्खँदा निजी जग्गा भएको ठाउँबाट काम सुरु भयो ।
लामोसाँघुदेखि जिरीसम्मको ११० किलोमिटर सडकमध्ये तेस्रो प्याकेजको काम अहिले चरिकोटदेखि जिरीसम्मको रहेको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माणाधीन सडकमा उडहिल-लामा जेभीले ठेक्का पाएको छ । ऋण दाताको सर्त अनुसार ठेक्कामा भारतीय कम्पनी उडहिलको ५१ प्रतिशत र नेपाली कम्पनी लामा कन्ट्रक्सनको ४९ प्रतिशत सेयरमा ठेक्का सम्झौता भएको हो । २ अर्ब २८ करोड लागतमा ठेक्का सम्झौता भएकोमा साइडमा लामा कम्पनीले नै काम गर्छ ।
लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीप बराइले रुख कटानको काम ढिला भएपनि अहिले वन विभागबाट आदेश पाएकाले चाँडै रुख कटान हुने बताए । विद्युत्का पोल सार्नका लागि पनि विद्युत प्राधिकरणसँग समन्वय भइरहेको बताए । सडक विस्तारको पहिलो र दोस्रो प्याकेजमा लामो समयदेखि समस्या भइरहेका बेला तेस्रो खण्डमा भने अहिलेसम्म कुनै समस्या नभएको बताए ।
अहिले चरिकोटदेखि सिद्धाकोथानसम्म विभिन्न ठाउँमा काम भइरहेको छ । काम सुरु भएको ८ महिनामा आधाभन्दा बढी समय वर्षात् र दर्सैंतिहार जस्ता पर्व परेकाले पनि काम केही ढिला भएको हो । अब जिरीसम्म काम सुरु गर्ने योजना रहेको निर्माण व्यवसायी कम्पनी लामा कन्ट्रक्सनका व्यवस्थापक रविन्द्र श्रेष्ठले जानकारी दिए ।
‘अरुले रुख कटान र विद्युतका पोलको समस्या समाधान नभइ काम सुरु गर्दैनन्’ उलने भने ‘हामीले त्यसलाई नपर्खी सहज भएको ठाउँबाट काम सुरु ग-यौं, पर्खेको भए अहिलेसम्म कामै सुरु हुँदैनथ्यो ।’ सुरुमा व्यवस्थापकीय कामका कारण केही ढिला भएपनि चालु आर्थिक वर्षको अन्तसम्म लक्ष्य भेट्दै ३५ प्रतिशत काम प्रगति हुने गरी काम गर्ने बताए ।
४३ वर्ष अघि स्वीस सरकारको सहयोगमा निर्माण गरिएको सडकमा केन्द्रदेखि दायाँ बायाँ ३० मिटर जग्गा मुआब्जा तिरेर सडकले आफ्नो स्वामित्वमा ल्याइसकेको छ । तर आफ्नै क्षेत्रभित्रका रुख कटान र विद्युत्का संरचना हटाउन ढिलाइ हुँदा काममा बाधा भएको हो ।
डिभिजन वन कार्यालय चरिकोटकी प्रमुख सन्तमाया श्रेष्ठले विभागबाट रुख कटानको आदेश आइसकेकाले अहिले संयुक्त रुपमा छपानको काम भइरहेको बताइन् । अब केही दिनभित्र रुख कटान हुने भन्दै उनले सडक विस्तारमा वनको कुनै अवरोध नभएको दाबी गरिन् ।
त्यस्तै नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्र प्रमुख विपिन ढकालले विद्युत्का पोल सार्न कुनै बजेट नभएकाले प्राधिकरण आफैंले नसक्ने बताए । पोल सार्नका लागि सडक आयोजनाले खर्च व्यवस्थापन गरे पोल सार्न कुनै समस्या नहुने बताए ।

असारसम्म चरिकोट–तामाकोसी कालोपत्रे गर्ने
सडक विस्तारको ठेक्का पाएको कम्पनीले चालु आर्थिक वर्ष भित्र चरिकोटदेखि तामाकोसी बजारसम्मको १७ किलोमिटरमा कालोपत्रे गर्ने कार्ययोजना बताएको छ । लामा कन्ट्रक्सनका निर्देशक जिपछिरिङ शेर्पाले कुनै बाधा अवरोध र मौसमले साथ दिए तामाकोसीसम्म कालोत्रे हुने बताए ।
चरिकोटदेखि तामाकोसीसम्मको अघिकांश वाल, ग्याविनको काम सकिएका छन् । कम्पनीका व्यवस्थापक रविन्द्र श्रेष्ठले रुख कटान हुने वित्तिकै रुखका कारण रोकिएका काम सम्पन्न गरेर एक महिनाभित्र कल्भर्ट निर्माण सकेर नाली निर्माण र पुरानो कालोपत्रे उप्काउने काम सुरु गर्ने बताए ।
श्रेष्ठका अनुसार त्यसपछि बेस र सब बेसको काम सुरु हुने र चैतदेखि कालोपत्रे सुरु हुन्छ । अन्य क्षेत्रमा पनि बेस हाल्ने योजना छ । कम्पनीले बिरुवामा क्रसर राखेर बेसका लागि आवश्यक सामग्री उत्पादन थालिसकेको छ । सिद्धाकोथानमा पनि केही समयमै उत्पादन थाल्ने तयारी रहेको छ । अपुग सामग्रीका लागि अन्य निजी क्रसरहरुसँग समन्वय भइरहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्