धानमा पोके रोग लागेपछि किसान चिन्तित

बागलुङ-धान भित्राउने समयमा कालो पोके रोग लागेपछि बागलुङको जैमिनी नगरपालिकाका किसान चिन्तित बनेका छन् । जैमिनी नगरपालिकाको झण्डै ३ सय हेक्टर जमिनमा लगाइएको ‘शंकर युएस १२’ नामको हाइब्रिड धानमा कालो पोके रोग लागेको छ ।
चिसो र वर्षाका कारण लाग्ने यो रोगबाट ५० प्रतिशतसम्म उत्पादन घटाउने कृषि प्राविधिकहरुले बताएका छन् । धानको दाना लाग्ने समयदेखि नै कालो पोके रोग लागेपछि धानको दाना नलाग्ने, लागेको दाना नबढ्ने र पुष्ट दाना नहुने समस्या हुन्छ । ‘धानका लागि कालो पोके खतरनाक रोग हो’ कृषि प्राविधिक रविन्द्र शर्माले भने ‘यसपाली पोके धेरै देखिएकाले धान उत्पादन घट्ने निश्चित छ ।’
धानमा दाना लागेर पुष्टिने बेलामा लागेको कालो पोके रोगले उत्पादन घाटाउने स्थानीय किसान होमनाथ शर्माले बताए । ‘भएको एक हलको मेलो जमिनमा यही धान लगाएको थिएँ, पाँच मुरी धान फल्ने खेतमा ५० पाथी उब्जिन्छ कि उब्जिन्न ।’ शर्माले भने ‘बीउ या मौसमका कारणले हो उत्पादन घटेर बर्बाद बनाउने भयो ।’ शर्मा जस्तै अन्य किसानले लगाएको धानमा यो रोगको समस्या छ । कालो पोके रोगकै कारण बिगतको तुलनामा यस वर्ष धानको उत्पादन ह्वात्तै घट्नेमा किसान चिन्तित बनेका छन् ।
विशेषगरि ‘शंकर युएस १२’ जातको धानमा मात्रै यो समस्या देखा परेको हो । अरु स्थानीय जातका धानमा रोगको संक्रमण नरहेको प्राविधिक शर्माले बताए । जैमिनीका किसानले केही वर्ष पहिलेदेखि नै यो धानको बीउ प्रयोग गर्दै आएका थिए । ‘दश वर्ष पहिलेदेखि यहाँ उत्पादन हुँदै आएको धान हो’ जैमिनी नगरपालिकाका कृषि शाखा प्रमुख अर्जुनप्रसाद श्रेष्ठले भने ‘यसपटक चिसो र वर्षाका कारण कालो पोकेको समस्या देखाप¥यो ।’
अरु धानभन्दा धेरै उत्पादन हुने भएकाले किसानहरुको रोजाईमा ‘शंकर युएस १२’ जातको धान परेको थियो । रोगको संक्रमणका कारण धान खेतीमा क्षति पुग्ने निश्चित भए पनि किसानले क्षतिपूर्ति भने नपाउने भएका छन् ।
नेपाल सरकारले ‘शंकर युएस १२’ जातको धानको बीउ समुन्द्र सतहबाट ७ सय मिटर तल मात्रै प्रयोग गर्न सिफारिस गरेको छ । जैमिनीका किसानले यो धान लगाएको अधिकांश भू–भाग ७ सय मिटरभन्दा माथि १४ सय मिटरसम्म रहेकाले क्षतिपूर्ति सिफारिस गर्न नसकिने कृषि प्राबिधिक बताउँछन् ।
‘हाम्रो सल्लाह र सिफारिसमा लगाइएको होइन, किसानले आफैं ल्याएर बीउ लगाए’ उनले भने ‘सिफारिस नभएको बीउले बेला–बेला धोका दिइरहन्छ ।’ विगतका वर्षमा राम्रो उत्पादन भएको भन्दै कृषि शाखाका प्रमुख श्रेष्ठले नै व्यक्तिगत रुपमा समेत बीउ बिक्री गरेका थिए । ‘सरकारले सिफारिस गरेको छैन, तर किसानले मागेपछि हामीले पनि बीउ दियौं’ श्रेष्ठले भने ‘अहिले अधिक वर्षा र छिटो चिसो मौसम सुरु भएकाले समस्या देखियो ।’ किसानहरुले भने मौसमी संक्रमणका कारण बालीमा भएको नोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।
त्रिलोचन रिजाल