पुष्प मेलामा ५० लाख भन्दा बढीको कारोबार «

पुष्प मेलामा ५० लाख भन्दा बढीको कारोबार

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लिएको लक्ष्यभन्दा बढीको कारोवार भएको छ ।
शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सुरु भएको १३ औँ पुष्प मेलामा साढे ५६ लाख रुपैयाँको कारोबार भएको छ । चारदिनसम्म चल्ने मेलामा ५० लाखको कारोबार गर्ने लक्ष्य लिएको थियो । तर आइतबार तेस्रो दिनमा नै साढे ५६ लाख रुपैयाँको कारोबार भएको फ्यानका महासचिव विष्णु पौडेलले जानकारी दिए ।
पहिलो दिन छ हजार पाँच सय जनाले अवलोकन गरेका थिए भने १२ लाख रुपैयाँको कारोवार भएको थियोे । शनिबार १५ हजार जनाले अवलोकन गरेका थिए, जसमा २५ लाख रुपैयाँ बाराबरको कारोबार भएको थियो भने आइतबार १० हजारले मेला अवलोकन गरेका थिए । जसमा साढे १९ लाख रुपैयाँको कारोबार भएको महासचिव पोखरेलले जानकारी दिए । सोमबार अन्तिम दिन कारोबार झनै बढ्ने अनुमान गरिएको उनले बताए । विगतको अनुभव हेर्दा अन्तिम दिन अवलोकनकर्ताहरु अलि बढी आउने गरेको र कारोवार पनि बढी हुने गरेको उनले बताए ।
प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् । यस वर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन बिस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको महासचिव पोखरेलले जानकारी दिए ।
प्mयानले मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको थियो । सम्झना नर्सरीले विभिन्न विधामा ४ वटा पुरस्कार प्राप्त गरेको छ । गोदावरीको प्रतियोगितात्मक प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टिपीआर मितेरी नर्सरी दोस्रो र टिटिआर वंगलामुखी नर्सरीले तेस्रो भएका थिए । त्यस्तै मिनियचरतर्फ अजिमा नर्सरी र कट्फलावरतर्फ सिर्जना कट फ्लावर नर्सरी पुरस्कृत भएका थिए ।
नेपालमा २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले आ.व. २०७५-७६ सम्म आइपुग्दा सतसय भन्दा बढी पुष्प व्यवसायीहरुद्वारा यस व्यवसायमा संलग्न रहेका छन् । यो व्यवसाय ४३ जिल्लामा बिस्तार भएको छ । १५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको जानकारी गराउँदै उनले यस व्यवसायमा ४३ हजार पाँचसय भन्दा बढी जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् ।
पुष्प मेलाको उद्घाटन कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले गरेका थिए । मेलाको अवलोकनका लागि सर्वसाधरणदेखि लिएर विद्यार्थी, अनुन्धानकर्ता, किसान, उद्योगी, कुटनीति नियोगका प्रतिनिधिहरु, विभिन्न दलका नेता लगायतका व्यक्ति आएको फ्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्