Logo

भूकम्पले दरबारमा क्षति पुर्‍याएपछि प्रशासनद्वारा त्रिपालमा सेवा

सुर्खेत– वि.सं १८५२ मा निर्माण भएको जाजरकोटको सेतो दरबारमा गत कात्तिक १७ गते गएको भूकम्पबाट क्षति भएपछि जिल्ला प्रशासन कार्यालयको सेवा त्रिपालबाट सुरु भएको छ । प्रशासन कार्यालयमा रहेको खुला चौरमा त्रिपाल टाँगेर सेवा सुरु भइरहेको प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए । हाल सेतो दरबारबाट परिचित दुई वटा ठूला दरबार भूकम्पले छियाछिया भएपछि खुला आकाशमा सेवा प्रवाह गर्नुपरेको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारीको आवास पनि भत्किएका कारण जिल्ला कारगारमा बसाइँ सरेको छ । प्रशासनको कामलाई सहजता ल्याउनका लागि खुला चौरमा अस्थायी टहरा निर्माणको कामसमेत जारी छ । विभिन्न संघ संस्थाको सहयोगमा उक्त संरचना निर्माण हुन लागेको हो । अहिले त्रिपालमा सेवा दिँदा पानी, हावाका कारण भारी समस्य थपिएपछि अस्थायी संरचना निर्माण गर्न लागिएको हो । दैनिक सेवाग्राहीको भीड हुने प्रशासनमा सेवा लिनका लागि ठाउँको भारी अभाव हुँदै आएको छ ।

साँघुरो ठाउँमा त्रिपालमा बसेर काम गर्दा आफू समस्यमा रहेको कर्मचारी बताउँछन् । तत्कालीन राजाले ६० हजार रुपैयाँमा उक्त दरबार सरकारलाई बिक्री गरेका थिए । वि.सं १९९० माघ २ गते गएको भूकम्पबाट क्षति बेहोरेको जाजरकोट दरबारले फेरि गत कात्तिक १७ गते शुक्रबार फेरि भूकम्पमा परी क्षति बेहोर्नु परेको हो । हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार वि.सं १८५२ मा निर्माण गरिएको थियो ।

‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यस अघिका दुईवटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवैपटक दरबार पुनर्निर्माण गरिएको थियो । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि परेको छ । पर्यटकीय गन्तव्यका रूपमा रहेको जिल्लाको इतिहासमा भूकम्पले फेरि जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

यसभन्दा ९० वर्षअघि १९९० माघ २ गते नेपाल र भारत केन्द्रबिन्दु भएर गएको ८ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्णरूपमा भत्किएको थियो । उक्त भुइँचालोबाट आठ हजार पाँच सयभन्दा बढी नागरिकको ज्यान गएको थियो । जाजरकोटमा भएको मानवीय क्षतिको भने तथ्यांक छैन । ९० वर्षअघिको उक्त भुइँचालोलाई दरबारमा क्षति पुर्‍याउने शक्तिशाली विपद्का रूपमा जाजरकोटबासीले लिन्छन् । सेतो दरबार भनिने जाजरकोट दरबार १९९० को भूकम्प जानुभन्दा अघि १८५२ सालमा निर्माण गरिएको हो ।

तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलंगा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर यो दरबार निर्माण गरिएको थियो । त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबार पनि अहिले सरकारी निकायको कार्यालयका रूपमा छ । यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंकका कामकाज हुने रातो दरबारमा संघीयतापछि जिल्ला समन्वय समितिको कार्यालय छ ।

रातो दरबार बनेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार बनाएको जाजरकोट दरबार इतिहासका जानकार राजेन्द्रविक्रम शाहले बताए । जाजरकोट दरबारले दोस्रोपटक भूकम्पीय क्षति भोगेको २०४५ सालमा हो । उदयपुर केन्द्रबिन्दु रहेको उक्त वर्षको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पले दरबारको पश्चिम भाग (जसलाई पश्चिम नाल भनिन्थ्यो) मा क्षति पुगेको थियो । यसलाई २०५१ सालमा पुन:निर्माण गरिएको हो । त्यो भूकम्पले दरबारमा क्षति पुगे पनि मानवीय क्षति भने जाजरकोटमा नभएको शाहले बताए ।

तीनपटक भूकम्पीय क्षति भोगेको जाजरकोट दरबारबाट इन्द्रनारायणपछिका सात जना राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाशविक्रम शाह थिए । इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए । जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत २०१७ सालदेखि नै सरकारी कामकाज हुँदै आएका थिए ।

प्रकाशविक्रमदेखि पछिका राजा २०१७ देखि नै ती दरबारमा बस्न छोडेका थिए । २०१७ सालमै जाजरकोटी राजा प्रकाशविक्रम शाहले नेपाल सरकारलाई ६० हजारमा जाजरकोट दरबार बेचेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको शाह बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्