सामाजिक काममा सघाउँदै तनहुँ हाइड्रो

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन अवस्थामा रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको छ । आयोजनाबाट प्रभावित विभिन्न पालिकामा सामाजिक उत्तरदायित्व अन्तर्गत नाला निर्माण, तटबन्धन, आमा समूहको भवन निर्माण, सडक बत्ती जडान, नदी नियन्त्रण लगायतका काम गर्दै आएको हो ।
आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौं, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।’ आयोजनाको सहयोगमा व्यास नगरपालिका–५ बेनीपाटनमा पराशर माध्यमिक विद्यालयको भवन निर्माण भइरहेको छ ।
व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयको दुई तले आठ कोठा भवनको काम अन्तिम चरणमा पुगेको छ । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच एक करोड ३८ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो । विद्यालय भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसैगरी भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माणको काम पनि हालै सुरु भएको छ ।
९४ लाख ५७ हजारको लागतमा निर्माण सुरु भएको भवन विसं २०८१ माघ २४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ । विद्यालय भवन निर्माणको ठेक्का स्याङ्जास्थित निवास इन्जिनियरिङ कन्सल्टेन्सीले प्राप्त गरेको छ । आयोजनाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत ऋषिङ गाउँपालिका–१ झापुटारमा नाला निर्माण, व्यास–५ स्थित सेतीमादीको दोभानस्थित पराशर पार्कमा तटबन्धन, व्यास–१३ बेलवासमा सिद्धबेनी माध्यमिक विद्यालयमा सुधारात्मक निर्माण, आमा मिलीजुली समूहको भवन निर्माण, व्यास–५ को चापाघाटदेखि आयोजनाको क्याम्पसम्म सडक बत्ती जडान गरिएको छ ।
त्यस्तै व्यास–१३ को बेलवासदेखि ऋषिङ–१ झापुटारसम्म सेती नदीमा तटबन्धन, आयोजना प्रभावितलाई सीपमूलक तालिम, कोभिड प्रभावित विपन्न परिवारको सहयोगार्थ राहत वितरण, भिमाद–५ वान्टाङ खोलामा पाइप कल्भर्ट, सिचाइँ, कुलो, खानेपानी, पल्ट्याङमा ग्रामीण सडक स्तरोन्नति, म्याग्दे–४ मा खानेपानी पूर्वाधार निर्माणमा आयोजनाले सहयोग पुर्याएको छ । आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत ११ वटा योजना उपभोक्ता समितिमार्फत् सञ्चालित छन् ।
आयोजनाको बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने व्यास नगरपालिका–५ स्थित सेती र मादी नदीको दोभानको दायाँतर्फको नदी किनार संरक्षण कार्य एक करोड ८९ लाखमा खरिद सम्झौता भई निर्माण सम्पन्न भएको जनाइएको छ । त्यस्तै भिमाद नगरपालिका–५ मा ६ लाख ७२ हजारको लागतमा बिर्ता ढुङ्गे सिचाइँ नहर, २० लाख ७५ हजार लागतमा वान्टाङखोला अस्थायी मर्मत कार्य सम्पन्न भएको छ ।
म्याग्दे गाउँपालिका–४ मा १८ लाख ६५ हजार लागतमा डडुवा कोलडाँडा पिपलथोक धारादी लिफ्टिङ खानेपानी योजना, २२ लाख ६० हजारमा ऋषिङ गाउँपालिका–१ स्थित चालिसे काहुँ झापुटार सडक मर्मत, १२ लाख लागतमा पल्ट्याङ ग्रामीण सडक स्तरोन्नति, ऋषिङ गाउँपालिका–१ मा नौ लाख लागतमा खोल्सी ढल व्यवस्थापन, व्यास–५ वडा कार्यालयमा १२ लाख लागतमा वडा वनको पेटी मर्मत गरिएको छ ।
आयोजनाबाट प्रभावितलाई विभिन्न सीपमूलक तालिम दिएर उद्यमी बनाउने प्रयास गरिएको छ । आयोजनाको पुन:स्थापना तथा आदिवासी जनता योजनामा व्यवस्था भए अनुरुप आयोजना प्रभावितको सामाजिक विकास एवं जीविकोपार्जन पुन:स्थापना अन्तर्गत बाख्रापालन, सिलाइ बुनाइ, हाउस वायरिङ, प्लम्बिङ तालिम प्रदान गरिएको आयोजनाले जनाएको छ । आयोजनाले प्रभावित क्षेत्रका १२१ जनालाई सीपमूलक तालिम प्रदान गरेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए ।