Logo

अस्थायी पुलमा रकम तिरेर सवारीसाधन वारपार

सुर्खेत– भेरी नदीमा पुल निर्माण नहुँदा ह्युमपाइप निर्माण गरी यातायातका साधन सञ्चालन गर्न थालिएको छ । अघिल्लो वर्षदेखि भेरी नदीमा हिउँदयाममा पानीको मात्रा घटेसँगै ह्युमपाइप प्रयोग गरेर अस्थायी पुलमार्फत यातायातका साधन तार्ने काम हुने गरेको छ ।

भेरी करिडोरभित्र पर्ने यो ठाउँमा तीन वर्षअघि बेलिब्रिज निर्माण भइसक्नुपर्ने थियो । निर्माण व्यवसायीले समयमा काम नगर्दा पुल निर्माण विलम्ब हुँदै आएको छ । यही ठाउँमा अघिल्लो वर्ष निर्माणकार्य जारी रहेको बेलिब्रिज भत्किएपछि पुलको काम ढिला भएसँगै ह्युमपाइप प्रयोग गरी यातायातका साधन तार्ने काम सुरु भएको छ ।

यही अस्थायी पुलमा यातायातका साधन वारपार गरेवापत युवाले रकम असुल गरिरहेको गुनासो आएको छ । डोल्पा जोड्ने मुख्य पुलका रूपमा रहेको नलगाड नगरपालिका–१२ तल्लुबगर र रुकुम पश्चिम आठबीसकोट–५ बीचमा रहेको भेरी नदीमा सवारीसाधन आवतजावत गर्ने पुल नबनेकै कारण स्थानीय युवाले गैरकानुनी रूपमा शुल्क उठाउन थालेका हुन् । निर्माणकार्य पूरा हुँनै लाग्दा बेलिब्रिज भाँचिएपछि अहिले उक्त स्थानमा पुन: बेलिब्रिज निर्माणको काम भइरहेको छ ।

बुधबारमात्रै भेरी नदीमा ह्युमपाइप राखेर बनाइएको फड्को निर्माणकार्य सकिएको र व्यक्तिगत लगानीमा बनाइएकाले चारपांग्रे सवारीसाधन तारेवापत शुल्क उठाइएको स्थानीय युवा खिम मल्लले बताए । ‘ह्युमपाइपको फड्कोमा करिब ४० लाख खर्च भएको छ, जसमा डोल्पामा विद्युतको ठेक्का लिनुभएका व्यवसायीले आफ्ना सामान सार्न २० लाख बराबरको ह्युमपाइप किन्दिनुभएको हो, हाम्रो मात्रै करिब २० लाख खर्च भएकाले उक्त लगानी उठाउन पनि शुल्क उठाउन थलिएको हो,’ मल्लले भने ।

‘खासमा शुल्क त उठाउन नमिल्ने हो, तर व्यक्तिगत लगानी भएको छ, एक्जाभेटर, टिपर, कामदार लगाइएको छ, त्यसवापतको खर्च रुकुम र डोल्पाका स्थानीय तहले गरेको भए, हामी पैसा उठाउने थिएनौं ।’ अहिले बोलेरो जीपको पाँच हजार, मिनिट्रकको १० हजार र ठूलो ट्रकको १५ हजार उठाउन थालिएको उनले बताए । यात्रुबाहक गाडी आएमा तिनलाई पनि पाँच हजार लगाइने उनको भनाइ छ । आफ्नै आठबिसकोट नगरपालिकाको स्वास्थ्य सामग्री बोकेको जीपलाई पनि पाँच हजार उठाइएको उनले बताए ।

आफूले एउटा मालबाहक ट्रक तारेवापत १० हजार तिरेको डोल्पाका व्यापारी खिमबहादुर सिंहले बताए । ‘केही स्थानीय युवाले पैसा नदिउञ्जेल डोल्पाका लागि सामान बोकेको मालबाहक ट्रक तार्न दिएनन्, पछि १० हजार पैसा जम्मा गरिसकेपछि मात्र तार्न दिए, पैसा तिरेको प्रमाण भने केही दिएनन्,’ उनले भने । यसरी प्रत्येक पटक सवारी पास गराउँदा पैसा तिर्नु परेपछि व्यापारी मारमा परेको र यसको असर महंँगी बढेर डोल्पाली उपभोक्ता मारमा पर्ने उनको भनाइ छ ।

भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुजन अधिकारीले यसरी व्यक्तिगत रूपमा सवारीसाधन तारेवापत शुल्क उठाउन नमिल्ने बताए । ‘ह्युमपाइपको पुलमा व्यक्तिगत लगानी भएको भन्ने सूचना आएको थियो, त्यसमा विद्युतका निर्माण व्यवसायी र स्थानीय युवाले लगानी गरेका रहेछन्, यसरी लगानी भएको ठाउँमा सरकारी कार्यालयले लागेको खर्च बेहोरेर सवारीसाधन पास गराउन सक्दैन,’ उनले भने । पश्चिम रुकुम र डोल्पाका स्थानीय तहले समन्वय गरेर केही पैसा उठाएर सवारीसाधन आवतजावतमा सहजीकरण गराउनुपर्ने उनको भनाइ छ ।

यता डोल्पाका ६ वटा स्थानीय तहमा केन्द्रीय प्रसारणलाइन विस्तारको जिम्मा लिएका विभान्सु महिनावती जेभीका मेनेजर नरेन्द्र काफ्लेले ह्युमपाइपको पुल निर्माणका लागि आफूहरूले २० लाख लगानी गरेको बताए । ‘डोल्पामा केन्द्रीय प्रसारण लाइन विस्तारको जिम्मा लिइसकेपछि हामीलाई सयौँ टन पोल, तारलगायतका सामान लैजानुपर्ने हुन्छ, त्यसका लागि सिधै गाडी लैजानका लागि ह्युमपाइप हामीले किनिदिएका हौँ,’ उनले भने । दुई सय मालबाहक ट्रक लैजाने र त्यसपछि ह्युमपाइप निकालिने उनको भनाइ छ ।

यता डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार सवारीसाधन तारेवापत पैसा उठाउनु कानुनविपरीत भएको बताए । आफूसँग पैसा उठाएका विषयमा कुनै लिखित उजुरी नआएको र यदि आएमा तुरुन्तै कारबाही गरिने उनको भनाइ छ । सहज रूपमा सवारीसाधन वारपार गर्ने व्यवस्था मिलाउनका लागि रुकुम पश्चिम र जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको उनको भनाइ छ ।

डोल्पाका स्थानीय तहले पनि समन्वय गरेर सहयोग गनुपर्ने उनको धारणा छ । अस्थायी पुलबाट स्थानीय युवाले धमाधम पैसा उठाउन थाले पनि डरले यातायात व्यवसायीले लिखित उजुरी दिन सकेका छैनन् । पश्चिम रुकुम, जाजरकोट र डोल्पाको गृह प्रशासन मौखिक उजुरीलाई बेवास्ता गर्दै लिखित उजुरी कुरेर बसेको डोल्पाका सरोकारवालाले बताए ।

प्रतिक्रिया दिनुहोस्