‘नेपालले फरक खालको वाणिज्य नीति अवलम्बन गर्नुपर्छ’

काठमाडौं– विश्व व्यापार संगठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा दुई दिने ‘डब्लुसिपी नेपाल– एआइबी साउथ एशिया कन्फ्रेन्स, २०२४’ सुरु भएको छ । विश्व व्यापारमा दक्षिण एशियाको प्रतिस्पर्धीपन, आपूर्ति श्रृंखला र वातावरणीय तथा सामाजिक पक्ष (ग्लोबल ट्रेड एण्ड साउथ एशियाः कम्पिटेटिभनेस, भ्यालु चेन एण्ड इएसजी) विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रो. अच्युत वाग्लेले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुने चरणमा रहेको सन्दर्भमा नेपालले फरक खालेको वाणिज्य नीति अवलम्बन गरिनुपर्ने आवश्यकता औंल्याए । नेपालले विश्व बजारमा प्रतिस्पर्धाका लागि अग्र र पृष्ठपोषणसहितको वस्तु उत्पादनमा जोड दिनुपर्ने वाग्लेको भनाइ छ ।
एआइवि–एसएसी एक्जुकेटिभ बोर्डका अध्यक्ष प्रोफेसर एस रघुनाथले दक्षिण एशियाली मुलुकको वैदेशिक व्यापारसँग सम्बन्धित नीति निर्माणमा यस सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सहज आपूर्ति श्रृंखला निर्माण गर्न विश्वव्यापी रुपमा एक अर्का देशबीच अन्तरनिर्भरता रहेको भन्दै उनले सबैको समान सहभागिता र योगदान आवश्यक रहने उल्लेख गरे । स्थानीयस्तरको उत्पादन प्रवर्द्धनमा नवप्रवर्तन तथा बौद्धिक अधिकारको अधिकतम प्रयोगमा रघुनाथले जोड दिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालको वैदेशिक व्यापारलाई सन्तुलित रुपमा अगाडी बढाउन देखिएको नीतिगत खाडललाई पुर्नका लागि अनुसन्धानकर्ता तथा अध्येताबाट आउने सुझाव सरकारले सकारात्मक रुपमा लिने र आवश्यकताअनुसार ती सुझाव कार्यान्वयनका लागि पहलसमेत गर्ते बताए । प्रभावकारी नीति निर्माणका लागि विभिन्न क्षेत्रको विज्ञता आवश्यक पर्ने उनको भनाइ छ ।
विश्वव्यापी आपूर्ति श्रृंखला निर्माण तथा नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिपस्पर्धी बनाउन आवश्यक नीतिगत, संरचनागत र कार्यान्वयन तहमा देखिएका समस्या समाधानको आवश्यकता औंल्याए । नेपालले अतिकम विकसित मुलुकबाट स्तरोन्नती पछि व्यापार क्षेत्रमा गुमाउने विभिन्न सुविधाको व्यवस्थापनका लागि रणनीतिक रुपमा काम गरिरहेको उनले बताए । दीगो विकास लक्ष्य प्राप्तिका लागि आन्तरिक उत्पादकत्व बढाएर प्रतिस्पर्धी बजार निर्माण गरिनु पर्ने उनको जोड छ ।
संयुक्त राष्ट्रसंघको जेनेभा स्थित स्थायी नियोगका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले वैदेशिक व्यापार विकास र समृद्धिको इन्जिन रहेको उल्लेख गर्दै दक्षिण एशिया विश्व बजारको ठूलो हिस्सा रहेको बताए । नेपाललगायत देशहरुले बेहोरिरहेको उच्च व्यापार घाटाको समस्या समाधानको लागि उत्पादन र बजारको विविधिकरण गरिनु पर्नेमा उनको जोड छ ।
दक्षिण एशियाका नेपाल र बंगलादेश अतिकम विकसित मुलुकबाट सँग सँगै स्तरोन्नती भइरहेकोमा स्तरोन्नती पछि पनि व्यापारका क्षेत्रमा अहिले पाइरहेका शून्य भन्सार लगायत सुविधाको निरन्तरताका लागि संयुक्त राष्ट्र संघमा विभिन्न तहको छलफल भइरहेको बताए । पुँजी निर्माण गर्न सके आयात व्यवस्थापनमा सहज हुने उनको भनाइ रहेको छ । उनले नेपालको बाणिज्य नीतिलाई समय सापेक्ष बनाउनु पर्ने आवश्यकता औंल्याए ।
विश्व व्यापार संगठन (डल्बुटीओ)का डेपुटी डाइरेक्टर जेनेरल सियाङचेन झाङले विश्व व्यापारमा सहजिकरणका लागि विभिन्न क्षेत्र र तहसँग क्षमता विकासका लागि काम भइरहेको बताए । पछिल्लो समय विश्वव्यापारको परिदृश्यमा बदलाव भइरहेको सन्दर्भलाई जोड्दै उनले अतिकम विकसित मुलुकको व्यापारसँग सम्बन्धित सुविधाको निरन्तरताका लागि पहल गरिने समेत प्रतिवद्धता जनाए ।
जलवायु परिवर्तन र वातावरणीय जोखिम न्युनिकरणसँग सम्बन्धित मुद्दालाई विश्व समुदायले नै गम्भिरताका साथ लिनु पर्ने पनि उनको भनाइ छ । सम्मेलनमा विभिन्न ७ देशबाट ६० भन्दा धेरै विज्ञ, अनुसन्धानदाता, प्राज्ञिक व्यक्तित्वहरुको सहभागीता रहेको छ । दुई दिने सम्मेलनमा विभिन्न विषयमा शोधपत्र प्रस्तुत हुनेछन् ।