रोजगारीका लागि युवा भारत, गाउँ शून्य

हुम्ला– संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् । जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजारभन्दा बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेका छन् ।
अदानचुलीमा कुनै काम नभएर युवा रोजगारविहीन भएपछि कामको खोजीमा गाउँ नै शून्य बनाउने गरी भारत लागेका हुन् । शहरका युवाले रोजगारको खोजीमा खाडी मुलुकका लागि हातमा पासपोर्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाम लागेजस्तै सुदूरका गाउँका युवा पनि लाम लागेरै दिनहुँजसो छिमेकी मुलुक भारतको कालापहाड लागिरहेका छन् । अदानचुली गाउँपालिकाबाट मात्र दैनिक १० देखि १५ युवा भारतको कालापहाडलगायत सहरमा कामका लागि गाउँ छोड्ने गरेका छन् ।
हुम्लाको अदानचुली गाउँपालिकाका अधिकांश बस्ती युवाविहीन हुन थालेको नेकपा (एमाले) गाउँ कमिटीका अध्यक्ष बुध भण्डारीले बताए । गाउँमा चरम आर्थिक मन्दी छाएपछि आफ्नो घरपरिवारलाई लुगाफाटो ल्याउन र केही रकम कमाउन सयौंको संख्यामा अदानचुली गाउँपालिका र चंखेली गाउँपालिकाका युवा कालापहाड (भारत) जान थालेका भण्डारीले बताए ।
यही पुस १० गते मंगलबार परेको कर्णाली क्षेत्रको स्थानीय चाड भैलो पूर्णिमा परिवारसँग मनाएपछि एक हजारको हाराहारीमा युवाले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कवाडी प्रहरी चौकीले जनाएको छ । गएको एक सातामा गाडीमा र पैदल हिँडेर भारत जानेको संख्या निकै बढी देखिएको छ । कावाडी प्रहरीचौकीका एक सुरक्षाकर्मीले चेकजाँच गर्दा र सोधीखोजी गर्दा गाडी र पैदलमा गएका सबैले भारत जान लागेको बताएका जानकारी दिए ।
अहिले हुम्लाको दक्षिण क्षेत्रका गाउँबस्तीमा युवा विरलै भेटिने गरेको अदानचुली गाउँपालिका–२ का भक्त बुढाले बताए । उनका अनुसार एक सातादेखि नयाँ अत्यावश्यक कामबाहेक अरू युवा गाउँमा भेट्न मुस्किल भएको बुढाले बताए । गाउँमा एक वर्षयता पैसा कमाउने कुनै माध्यम नभएपछि अधिकांश युवा परिवारका सदस्यलाई एकसरो लुगाफाटोको जोहो गर्न बाध्य भएर भारत जानुपरेको बुढाको भनाइ छ । अहिले गाउँमा कोही बितेपनि लास उठाउने युवा पाउन मुस्किल भएको उनको गुनासो छ ।
आफ्नो गाउँ घरबाट मात्रै यही पुस १३ गते २३ जना तथा विभिन्न टोल भएको अदानचुली–२ बाट झण्डै सयको संख्यामा भारत गएका उनको भनाइ छ । हिउँदमा घरको काम पनि हुँदैन । विकास निर्माणको काम गरेर केही रकमको जोहो गर्ने गरेको यहाँका युवाका लागि एक वर्षयता विकास निर्माणका कामहरु ठप्प भए पनि झण्डै दुई दशकपछि पहिलोपटक यति ठूलो संख्यामा युवा विदेशिएका हुन् । लामो समयदेखि छिमेकी मुलुक नगएको यहाँका युवा दिनहुँ सयौंको संख्यामा छिमेकी मुलुक भारत गएको अदानचुली–५ का रामबहादुर छत्यालले बताए ।
गाउँमा रोजगारीका काम नहुनु, गाउँपालिकाले भएका योजनाको भुक्तानी प्रक्रिया समयमा पूरा नगर्दा फ्रिज हुनुलगायत कारणले अदानुचलीका युवाले हिउँदको आफ्नो कामको गन्तव्यका रुपमा भारतलाई रोजेका हुन् । गएका वर्षहरुमा औषधि उपचार गर्न र केही अत्यावश्यक कामका लागि हरेक गाउँबाट बढीमा पाँच/सातजना कालापहाड जाने गरेको भए पनि यो वर्ष जानेको संख्या निकै वृद्धि भएको अदानचुली–२ को मष्टादेव आधारभूत विद्यालयका अस्थायी शिक्षक छप्की बुढाले बताए ।
केही दिनअघि अदानचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम खातामार्फत भुक्तानी गरेपछि उक्त रकमले गाडी ‘रिजर्भ’ गरेर यहाँको युवाले दुई/तीन महिनाको गन्तव्यका रुपमा कालापहाड रोजेका हुन् । आफूसहित २२ जनाको समूहले जिप बाजुराको मार्तडीसम्म रिजर्भ गरेर गएको र पुस १३ गते मात्रै पाँच सयको संख्यामा युवा कालापहाड लागेका भारत जान लागेका एक युवाले जानकारी दिए ।
कर्णाली कोरिडोरमा अस्थायी रुपमा चलेका जिपहरुमा प्रायः कालापहाड जाने अदानचुलीका युवा मात्रै भेटिने गरेका छन् । कुनै जिपले बेलुका अबेरसम्म पनि गाउँबाट युवा ओसारिरहेका हुन्छन् । आफूसँग गाडी भाडा नभएका दर्जनौं युवा बाजुराको मार्तडीसम्म राति हिँडेर पनि जाने गरेको बुढाले बताए । अदानचुली–३ मकै गाउँका अंकल रोकायाले गाउँभर खोज्दा पनि गाडी भाडा नपाएपछि आफूसहित केही युवा पैदलै बाजुराको मार्तडी पुगेको बताए ।