Logo

मुग्लिन–पोखरा सडक

चार किलोमिटर खण्डमा दुईतर्फी कालोपत्रे

तनहुँ– मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटर दूरी दुईतर्फी कालोपत्रे सकिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गर्ने काम सकेको हो । १२.५ किलोमिटर दूरीमा एकतर्फी कालोपत्र सकिएकोमा सोही दूरीमा नै दुईतर्फी कालोपत्रे गर्ने लक्ष्यअनुसार काम भइरहेको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार हाल बन्दीपुरको छिर्कने–डुम्रे खण्डमा दुईतर्फी कालोपत्रेको काम भइरहेको छ । उनले भने, ‘उक्त ठाउँमा दुईतर्फी नै कालोपत्रे गरेर सवारी सञ्चालन सहज बनाउने काम भइरहेको छ । अन्य ठाउँमा पक्की पुल, कल्भर्ट निर्माण र डिभाइडर बनाउने कामले गति लिएको छ ।’ पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४५ प्रतिशत काम सकिएको छ ।

तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१.५ किलोमिटर दूरीको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा ६३१ घरटहरा भत्काइनेछ । त्यसका लागि २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ ।

पूर्वी खण्डको कामका लागि वि.सं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद वि.सं २०८१ वैशाखसम्म रहेको छ । यता पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्रे गर्न तयारी थालिएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्रे थाल्ने तयारी गरिएको हो ।

त्यसका लागि अहिले उक्त खण्डमा बेस राख्ने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए । केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ । हालसम्म यो खण्डको प्रगति १४ प्रतिशतमात्रै छ । सडक कालोपत्रेका लागि करिब दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताए । उनले भने, ‘जनवरीको अन्तिम वा फेबु्रअरीको सुरुदेखि कालोपत्रे हुनेछ । त्यही अनुसार अहिले काम भइरहेको छ ।’

उनका अनुसार हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन् । त्यस्तै आयोजनास्थलमा चार सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ । सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौंडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं २०७८ जेठ २ गते सम्झौता भई वि.सं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद वि.सं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो ।

विसं २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्