Logo

जुम्लाको हवाई टिकट पारदर्शी बनाउने निर्णय

जुम्ला– जुम्लाको हवाई टिकट वितरण गर्ने कार्य लाई पारदर्शी बनाउने निर्णय गरिएको छ । जुम्ला विमानस्थलमा आइतबार आयोजित छलफल पछि त्यस्तो निर्णय गरिएको हो । जुम्लामा समिट, सिता, तारा र नेपाल एयरलाइन्सले उडान गर्दै आएका छन् । यी सबै एयरलाइन्सहरुको टिकट वितरण पारदर्शी नभएको गुनासो छ ।

जुम्ला विमानस्थलमा सञ्चालित सबै वायुसेवा कम्पनीहरूले आ–आफ्नो कम्पनीसँग सहकार्य गरी एयरपोर्ट बाहिर कार्यालय खोल्ने, डायरीमा नाम लेख्ने व्यवस्था मिलाई पारदर्शी रूपमा टिकट वितरण गर्ने निर्णय गरेका हुन् । सबै बायुसेवा कम्पनीहरूले बिहान १० देखि आ–आफ्नो उडान नसकेसम्म कार्यालय सञ्चालन गर्ने र भोलि हुने उडानको टिकट एक दिन अगाडिनै वितरण गर्नुपर्ने निर्णय गरिएको छ ।

१८ सिटे वायुसेवा कम्पनीहरूले १० सिट आ–आफ्नो कार्यालयबाट र सिता एयरको हकमा सात सिट बाड्ने र बाँकी रहेको सिट बिरामी, असक्त, सुरक्षाकर्मी र अन्य इमर्जेन्सि काम परेका व्यक्तिका लागि व्यवस्था गर्ने निर्णय गर्ने निर्णय भएको जुम्ला विमानस्थल प्रमुख सन्तोष अधिकारीले बताए । उनले भने, ‘टिकटलाई पारदर्शी बनाउन गरिएका निर्णय कार्यान्वयनमा सबैले जोड दिएमा केही सुधार होला । सर्वसाधारणले टिकट पाउँलान । तर नियमित उडान गर्ने कुरा हाम्रो लेबलबाट सम्भव छैन ।’

बिरामी, अशक्तता, जटिल काम परेका मान्छे नछुटुन भन्नका लागि सुरक्षाकर्मी, सरकारी र बिरामी सिटमा जाने यात्रुको वर्गिकरण गर्ने निर्णय भएको छ । वर्गीकरण गर्दा पहिलो प्रथामिकतामा बिरामी, दोस्रोमा सरकारी र तेस्रोमा सुरक्षाकर्मीलाई सिट छुटाउनु पर्ने पनि निर्णय गरिएको छ । सिता एयरले चार सिट बाहेक अन्य एयरलाइन्सले ६ सिट वर्गीकरण गरेर बाड्ने भएका छन् । सरकारी कर्मचारी, सुरक्षाका लागि छुटाईएका सिटमा प्रायः सर्वसाधारणनै उड्न पाउने छन् ।

तर अत्यावश्यक काम परेको बेला भने छुटाइएको सिट सुरक्षाकर्मी, सरकारी कर्मचारीले नै प्रयोग गर्ने छन् । यता टिकट वितरण सधै नागरिक मैत्री नै भएको दाबी गर्दै टिकट वितरण भनेजस्तो गर्न सजिलो नभएको एयरलाइन्स कम्पन्नीहरुले बताएका छन् । नागरिकले आफू टिकट पाउँदा चुप लाग्ने र नपाउने बित्तिकै गुनासो गर्ने प्रवृत्ती बढेकोले व्यवस्थापनमा सकस रहेको समिट एयरका गोविन्द भण्डारीले बताए ।

आइतबारको छलफलमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय, चन्दननाथका मेयर राजुसिंह कठायत, नागरिक अगुवा राजबहादुर महतले टिकट वितरणमै अनियमितता र ब्रमलुट भईरहेकोले तत्काल सुधार गर्नुपर्ने र अटेरी गर्ने एयरलाइन्सहरुलाई जुम्ला उडानमै रोक लगाउनु पर्ने आक्रोश पोखे । समन्वय प्रमुख आर्चायले भने,‘पहिलो दिन टिकट लिन जाँदा भोली जहाज आउने टुंगो छैन भन्छन् । भोली गयो हिजोनै टिकट गईसक्यो । जहाज प्याक भयो भनेर टार्छन् । यसरी टिकटमा मनपरी गर्छन् । यो त सरासर अनियमितता हो । यस्ता प्रवृत्तिलाई रोक्नुपर्छ ।’

सबै एयरलाइन्सका टिकट काउन्टर बाहिर हुनुपर्ने, सरकारी सिट छुट्याएर आम नागरिकलाई लाइनमै टिकट दिनुपर्ने र अटेरी गर्र्ने एयरलाइन्सको उडानमै रोक लगाउनु पर्नेमा प्रमुख आर्चायले जोड दिए । मेयर कठायतले काउन्टर बाहिर नखोल्ने, टिकट वितरणमा ब्रम्हल्ट मच्चाउन नपाईने ठोकुवा गरे । उनले भने,‘अनलाईन टिकट वितरणका नाममा समेत एयरलाइन्सहरुले नागरिकलाई सास्ती मात्रै दिएका छन् । सुधारको बहस र निर्णय पटक पटक भए पनि कार्यान्वयन हुन सकेको छैन् । अब सबै सच्चिनुपर्छ ।’

नागरिक अगुवा महतले अन्य बेला सडक यातायात प्रयोग गर्ने सर्वसाधारणले बिरामी हुँदामात्रै हवाई सेवा खोज्दा समेत सहजै टिकट नपाउने प्रवृति कायम रहेको बताए । उनले भने,‘टिकट वितरणमा मनपरी त छदैछ । यसलाई रोक्न प्रशासनले चासो दिएन् । नाम मात्रको अनलाइन सेवा छ । सर्वसाधारणले कहिले प्रयोग गर्न पाउँदैनन् । अब अति भयो । हवाई क्षेत्रको मनपरी रोक्नु पर्छ ।’ सुरक्षा प्रमुखहरुले पनि बाहिर काउन्टर राख्नुपर्ने, लाइन लगाएर टिकट वितरण गर्ने र छुटाइएको सिटमा प्राथमिकिकरण गरेर मात्रै टिकट वितरण गर्नुपर्ने सुझाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्