Logo

सडक र हवाई सेवा विस्तारको माग

महेन्द्रनगर– सुदूरपश्चिम क्षेत्रको दिगो पर्यटन विकासको लागि सडक र हवाई सेवा विस्तार गर्नु पर्ने माग व्यवसायीहरूले गरेका छन् ।

प्रमुख पर्यटकीय गन्तव्य पोखरा, काठमाडौंलगायतका क्षेत्रहरूसम्म पर्यटकलाई सहज रूपमा आउन जानको लागि सडक सञ्जाल र हवाई मार्गको विस्तार गर्नुपर्ने माग व्यवसायीहरूले गरेका हुन् । यो वर्ष पोखराबाट सुरु भएको ‘जाऊ है पोखरा’ अभियान २०८० अन्तर्गत महेन्द्रनगरमा आयोजित पर्यटन व्यवसायीसहित विभिन्न नगरपालिकाका नगर प्रमुख एवं संघ संस्थाका पदाधिकारीबीचको छलफलमा सहभागीहरूले दिगो पर्यटनमा जोड दिए ।

उनीहरूले सडक र हवाई मार्गको सहज पहुँच भए भारतको नैनितालदेखि अन्य ठाउँमा पर्यटक पुग्ने दाबी गरे । अब पर्यटकीय गन्तव्यहरूको एकीकृत ढंगले समन्वय र सहकार्य गरी अघि बढेमा मित्र राष्ट्र चिन र भारत जस्ता विश्वका धेरै जनसंख्या भएको मुलुकबाट एकदेखि दुई प्रतिशत मात्र घुमफिरमा हिँडेका पर्यटकलाई आकर्षण गर्न सकिने व्यवसायीहरूले बताएका छन् ।

पर्यटन व्यवसायी परमानन्द भण्डारीले पोखराका लागि सिधै हवाई उडान नहुने र काठमाडौं गएर मात्र पोखरा जानुपर्ने बाध्यताले आफूहरुलाई भारतको दिल्ली जान सहज र सरल भएको बताए । उनले भने, ‘भारतको सीमावर्ती क्षेत्र उत्तराखण्डलगायतबाट नेपाल घुम्न आउने पर्यटकहरूले पोखरा,काठमाडौंलगायतका क्षेत्रहरूमा जान महेन्द्रनगरबाट करिब २४ घण्टाभन्दा पनि बढी समय लाग्ने गरेको छ ।’

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले होटल संघ,पोखरा र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजनामा भएको ‘जाऊँ है पोखरा’ अभियान सुदूरपश्चिमका बर्दिया, शुक्लाफाँटा, दोधारा चाँदनीको झोलुंगे पुल, लिंगा, बेदकोट ताल, भम्केनी धाम, खप्तडलगायतका पर्यटकीय क्षेत्रहरूलाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने योजना अघि बढाएको बताए । उनले भने, ‘धनगढीबाट सिधै पोखरा उडानका लागि स्थानीय र प्रदेश सरकारले नै सहकार्य गरेर वातावरण बनाउने र केन्द्र सरकारलाई दबाब दिनुपर्छ ।’

विदेशी पर्यटकहरूलाई लुट्नुपर्छ जस्तो नीतिले पर्यटन नचल्ने भन्दै उनले केन्द्र सरकारले नीतिमा नै सुधार ल्याउनुपर्नेमा जोड दिए । त्यसैगरी वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहोराले हवाई उडानबाट पोखरा जाँदा काठमाडौं हुँदै जानुपर्ने बाध्यता रहँदा बढी खर्चिलो र बढी समय लाग्ने समस्या देखिएको बताए । उनले भने,‘पोखरासँगको कनेक्टिभिटी सहज हुनुपर्छ, पर्यटकीय राजधानी मानिने पोखरासम्म आफूहरूले जानको लागि समस्या हुनाले पोखरा र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा कठिनाइ भएको छ । पर्यटकीय सम्भावना प्रचुर रहेको सुदूरपश्चिमको प्रचारप्रसार हुन सकेको छैन ।’

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखरा कार्यालयका वरिष्ठ अधिकृत कुन्दन मिश्रले पर्यटन बोर्ड निजी क्षेत्रको मागमा स्थापना भएको स्मरण गर्दै निजी क्षेत्रबाट सुरु भएको बताए । उनले भने,‘भारत र चीनबाट घुमघाममा निस्कने पर्यटकहरूको जनसंख्याको एक प्रतिशत मात्रै पर्यटक नेपाल ल्याउन सकेमा पनि नेपालको पर्यटन क्षेत्रमा कायापलट हुन्छ ।’ सीमावर्ती क्षेत्रका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दा भारतीय पर्यटक भित्र्याउन मद्दत पुग्ने आफूहरूले विश्वास लिएको मिश्रले बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पितम्बर जोशीले भारतबाट आउने पर्यटकलाई सीमा क्षेत्रबाट प्रवेश गरेपछि सहज यात्राको व्यवस्था गर्नुपर्ने माग गरे । उत्तराखण्डसँग जोडिएको महेन्द्रनगर नाका देशका लागि प्रशस्त मात्रामा पर्यटक भित्र्याउन सक्ने नाका भएको उनको भनाइ थियो । उनले भने,‘लामो यात्रा र बिग्रेको सडकले पर्यटकलाई सास्ती हुने भन्दै महेन्द्रनगरबाट लक्जरी पर्यटकीय बस सञ्चालन गर्ने र धनगढीबाट पोखरासम्म सिधा हवाई उडान गर्नुपर्छ ।’

होटल संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, खप्तड, अपि सैपाललगायत पर्यटकीय र ऐतीहासिक धरोहर उक्त प्रदेशमा भए पनि प्रचारप्रसार हुन नसकेको गुनासो गरे । त्यसैगरी होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा प्राकृतिक, संस्कृति र साहसिक पर्यटकका लागि महत्वपूर्ण स्थल रहेको दाबी गरे । ‘जाऊँ है पोखरा’ अभियान पोखराका पर्यटन व्यवसायीको मात्र नभएर साझा अभियान भएको उनको भनाइ थियो । पर्यटनसँग सम्बन्धित समस्या व्यवसायीका साझा समस्या रहेकाले मिलेर समाधानका उपाय खोजिनुपर्नेमा सुवेदीले बताए ।

होटल संघ पोखराका सचिव पार्वती पाण्डेले यो अभियान विभिन्न कार्यक्रमसहित लुम्बिनी, नेपालगन्ज, धनगढी हुँदै महेन्द्रनगर पुगेर समापन भएको बताइन् । टोलीमा २० जना सहभागी भएको र उक्त अभियान संघले २० वर्ष अघिदेखि नै सुरु गरेको संघका सह कोषाध्यक्ष वैभव पौडेलले बताए । उनले भारतीय पर्यटकलाई आकर्षण गर्न चलिए पोखरा अभियान गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्