बाह्रबिसे सबस्टेसन निर्माण सकिएन
मध्य भोटेकोशीको बिजुली खेर जाने

काठमाडौं– सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण समयमा पूरा नभए मध्य भोटेकोशी जलविद्युत आयोजनाको विद्युत खेर जाने भएको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाएको १०२ मेगावाट बिजुली खेर जाने अवस्था आएको हो ।
बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएका चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । प्राधिकरणले कार्यसम्पादनमा सुधार्न गर्न पटक पटक निर्देशक दिए पनि ठेकेदार कम्पनीले सबस्टेसन निर्माण समयमा गरेको छैन । प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभई मध्य भोटेकोशीको विद्युत जोड्न नसकिए त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिँदै आएको छ ।
सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मर जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरण जडान भइरहेका छन् । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेका छन् भने जडान गर्न बाँकी छ । सिभिलतर्फको फिनिसिङ काम पनि बाँकी छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।
विद्युत खेर जान नदिन आयोजनाको विद्युत जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको छ । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सबस्टेसन निर्माण क्षेत्रको भ्रमण गरेर तत्कालै सम्पन्न गर्न ताकेता गरेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोली बिहीबार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गर्न गएको थियो ।
टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायत विषयमा छलफल गरेको थियो । छलफलपछि सबस्टेसनको निर्माण आगामी माघको पहिलो हप्ताभित्र सम्पन्न गर्ने तालिका तय गरिएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माण व्यवसायीले पछिल्लो समयमा आफ्नो कार्य सम्पादनमा सुधार गरी सबस्टेसन निर्माणमा राम्रो प्रगति हासिल गरेको बताए ।
घिसिङले सबस्टेसनमा राखिने उपकरणहरु सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि भइसकेको अवस्थामा जनशक्ति थप गरी जडान कार्यलाई तिव्रता दिन निर्देशन दिए । ‘मध्यभोटेशी विद्युत उत्पादन सुरु गर्ने अवस्थामा पुगेको छ । आयोजनाबाट विद्युत उत्पादन सुरु हुनुभन्दा पहिले नै सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्छ,’ उनले भने, ‘काठमाडौं उपत्यका नजिक रहेको मध्यभोटेकोशीले यस वर्षको शुख्खायामको विद्युतको माग धान्नका लागि ठूलो सहयोग गर्छ ।’
कार्यकारी निर्देशक घिसिङको टोलीले मध्य भोटेकोशी जलविद्युत आयोजनाको पनि अनुगमन गरेको थियो । आयोजना पुसभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन् । मध्य भोटेकोशीबाट उत्पादित विद्युत २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिने छ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ ।
बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न नसकिएको मध्य भोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीले बताए । समस्या समाधानका लागि स्थानीयसँग निरन्तर छलफल भइरहेकाले छिट्टै सहमतिमा पुग्ने विश्वास उनले व्यक्त गरे । प्राधिकरणले मध्यभोटेशीको विद्युत प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि २२०/१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ ।
२२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिंगल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनु पर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ । कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्नेछ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनु पर्ने छ ।
यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरणहरु आपूर्ति भइसकेका छन् । कार्यकारी निर्देशक घिसिङले उक्त प्रसारण लाइनमा पर्ने टावर निर्माणको काम तत्काल सुरु गर्न कम्पनीका प्रतिनिधिलाई आग्रह गरे । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौं प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ ।
तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये १३ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये १२ वटा सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नु पर्ने छ । एउटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको २७ किलोमिटर तार तानिएको छ ।
त्यस्तै बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन् । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ४ वटा टावर निर्माण हुन सकिरहेको छैन । १९ किलोमिटर तार तानिएको छ । ४००/२२० र १३२/११ केभी लप्सीफेदी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण नै सुरु हुन सकिरहेको छैन ।