Logo

भरतपुर महानगरको ४५ किलोमिटर चक्रपथ निर्माण

चितवन– चितवनको भरतपुर महानगरपालिकामा महानगरीय रिङरोड बनाउने अभियान तीव्र पारिएको छ । केन्द्र, प्रदेश र महानगर आफैले बजेट विनियोजन गरी झण्डै ८८ किमि चक्रपथ (रिङरोड) मध्ये अहिलेसम्म ४५ किलोमिटर सडक निर्माण सम्पन्न भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

सडक सञ्जाल विस्तार विना यहाँको विकास पूरा नहुने भन्दै आफूहरूले बहुवर्षीय योजनाअन्तर्गत महानगरीय रिङरोडलाई प्राथमिकताका साथ काम गरेको दाहालले दाबी गरिन् । अभियानअन्तर्गत नै महानगरीय रिङरोडको पश्चिम खण्डको उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा बनेको करिब आठ किलोमिटर सडकको बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले उद्घाटन गरे ।

उद्घाटन गर्दै मन्त्री दुलालले भरतपुरको विकासका लागि रिङरोडले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘रिङरोडले भरतपुरको मात्र होइन समग्र चितवनको विकासमा ऐतिहासिक भूमिका खेल्छ,’ उनले भने, ‘निर्माण गर्नेले भन्दा पनि भोलिको पुस्ताले गर्भ गर्ने गरी काम गरेका छौं ।’ उनले यस परियोजनाले भरतपुरलाई जोड्नका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।

अहिले राजधानीमा २८ किलोमिटर मात्र रिङरोड छ । यहाँ ८८ किलोमिटर बन्दै छ । यसले सिंगो भरतपुर महानगरपालिकालाई समेट्छ,’ उनले भने, ‘यसले महानगरपालिकाको विकासका लागि गेम चेन्जर प्रोजेट हो भन्ने मैले लिएको छु ।’ उनले बागमती प्रदेश सरकारको स्रोतबाट एक हजार किलोमिटर सडक कालोपत्रे गरिएको बताए ।

पूर्वाधार विकास कार्यालय चितवनको नेतृत्वमा निर्माण भएको करिब आठ किलोमिटर सडक शिसवार, शिशै, वनकट्टा, मगनी नमुनाचोक, पिपरा, ददहनी क्षेत्रलाई समेटेको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको यस रिङरोडको काम विभिन्न चरणमा भइरहेका छन् । पश्चिम खण्डको ८ किलोमिटर सडक निर्माण भएको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

विसं २०७८ पुस ८ गते निर्माणका लागि ठेक्का सम्झौता गरी २०८० असोज ८ गते सडक कालोपत्रे गरिएको हो । १४ करोड ६० लाख रुपैयाँमा भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा कम्पनीले निर्माण सम्पन्न गरेको हो । समयमा नै काम सम्पन्न गरेको भन्दै सो अवसरमा निर्माण व्यवसायी सहदेव खड्कालाई सम्मानसमेत गरिएको थियो । सडकको भाग १० मिटरको रहे पनि स्थानीयले ३० मिटरसम्म कुनै पनि संरचना निर्माण गर्न नपाउने पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्