Logo

‘भिडियो कन्फ्रेन्समा हाइ–हेलो मात्रै भएको हो’

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फ्रेन्समात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रीपरिषद्का सदस्यहरुसँग गरेको भिडियो कन्फ्रेन्समा ‘हाइहेल्लो’ मात्रै गरिएको तर मन्त्रीपरिषद्को बैठक नै चाहि नबसेको स्पष्ट पारेका हुन् ।
उनले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रुपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टि जनाए । उनले भने, “त्यो कानुनी छ किनभने मन्त्रीपरिषद्ले कार्यसम्पादन सम्बन्धी विषयमा भिडियो कन्फ्रेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ । तर हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौं । एजेण्डा पनि त्यहाँ कुनै थिएन र पास गरिएन । हामी अरु कुराहरुमा पनि यसलाई पहिलो प्रयास हो, अभ्यास हो । हामी टेक्नोलोजीमा गर्न सक्छौं भन्ने प्रमाणित भयो भनेका छौ ।”
प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले हेलो हाइ भन्नका लागि मात्रै भिडियो कन्फ्रेन्स गरिएको हो भने कार्यसम्पादन नियमावली किन संशोधन गरियो भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री बाँस्कोटाले भविष्यमा गर्नुपरे गर्न सकिन्छ भनेर कार्यसम्पादन नियमावली संशोधन गरिएकाले आवश्यक परे भिडियो कन्फ्रेन्स मार्फत् क्याबिनेट पनि बस्न सक्ने बताए ।
विदेशमा जहाजबाट नै मन्त्रीपरिषद्का बैठक हुने गरेको भन्दै भिडियो कन्फ्रेन्सलाई सूचना चुहियो र गोपनियता भंग भयो भनेर भन्न नमिल्ने तर्क उनले गरे । मन्त्रीपरिषद् कार्यसम्पादन नियमावली संशोधन गरेर सिंगापुरमा रहेका प्रधानमन्त्रीसँग भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद्को बैठक बसेको विषयलाई सत्तारुढ दलकै नेताहरुले पनि विरोध गर्दे आएका छन् । चौतर्फी विरोध हुँदै आएको यो बैठकलाई सरकारका प्रवक्ताले भने क्याबिनेट बैठक नै नभएको बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्