कालिञ्चोकको जग्गा व्यवस्थापनमा जुट्यो पालिका

दोलखा– आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको कालिञ्चोक क्षेत्र पछिल्लो समय अतिक्रमणको सिकार हुँदै गएको छ । कालिञ्चोकको कुरी, टुटान, घ्याङडाँडा लगायतका क्षेत्रमा अतिक्रमण गरी घरघडेरी बनाउने र प्राकृतिक सौन्दर्य बिगार्न थालेपछि त्यसको व्यवस्थापनका लागि कालिञ्चोक गाउँपालिकाले छानबिन समिति गठन गरेर काम थालेको छ ।
गाउँपालिकाको कार्यपालिका बैठकबाट जग्गा अतिक्रमण र सौन्दर्य बिगारेका कारण र त्यसको समाधानका लागि गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीको संयोजकत्वमा वडा नं. १ का वडाध्यक्ष पदम थामी, वडा नं. ५ का वडाध्यक्ष सहदेव खड्का, वडा नं. ६ का वडाध्यक्ष भरत पाण्डे, वडा नं. ९ का वडाध्यक्ष रामप्रसाद मैनाली र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच सदस्यीय समिति गठन गरेको छ ।
गाउँपालिकाले एक सूचना प्रकाशित गरी आफूसँग भएको प्रमाणसहित कहिले संरचना बनेको हो त्यसको प्रमाण १५ दिनभित्र पेस गर्न आह्वान गरेको छ । त्यसको जानकारी गाउँपालिका उपाध्यक्ष आफैं कुरीमा पुगेर सबै व्यवसायीलाई राखेर जानकारी गराएका छन् । काठमाडौंबाट १३० किलोमिटर पूर्वमा रहेको दोलखा सदरमुकाम चरिकोट पुगेपछि पाँच किलोमिटर कालोपत्रे सडक र १२ किलोमिटर कच्ची सडकको यात्रापछि कुरी पुगिन्छ । कुरीमा करोडौं लगानीमा ६० भन्दा बढी होटल बनेका छन् ।
अन्यत्र पनि घडेरीका लागि जग्गा अतिक्रमण गरेका छन् भने कालिञ्चोक मन्दिर आसपास र घ्याङडाँडा क्षेत्रमा पनि जथाभावी होटल बनेका छन् । केबलकारसहित कतिपय स्थायी संरचनासमेत बनेका छन् । जग्गा विवाद भएपछि कालिञ्चोक केबलकारले गुठी संस्थानसँग भाडा सम्झौता गरेर जग्गा भाडामा लिएको छ । पाँच वर्षअघि नै ४० वटा होटल धनीले पनि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय गुठी समिति बनाएर जग्गा भाडामा दियो । जग्गामा वनले अहिले पनि दाबी गर्दै आएको छ ।
गाउँपालिका उपाध्यक्षसमेत रहेका छानबिन समिति संयोजक बुढाथोकीले सबैको आफ्ना प्रमाण आएपछि सबै सरकारी निकायबीच बसेर एउटा स्थायी समाधान निकाल्ने बताए । कालिञ्चोक स्वदेशी तथा विदेशी पर्यटकको मुख्य रोजाइको केन्द्र बनाएर लाखौं पर्यटक आउने वातावरण बनाउने गरी गाउँपालिकाले काम गर्ने बताए । केबरलकारले गुठी संस्थानसँग सम्झौता गरी निर्माण गरी सञ्चालन गर्दै आएको छ ।
होटलहरूले पनि सम्झौताअनुसार तीन वर्षसम्म भाडा पनि तिरे तर जग्गाको स्वामित्वमा सरकारी निकायबीचमै विवाद भएपछि अहिले त्यो भाडा पनि तिर्न रोकेका छन् । होटल व्यवसायी पासाङ तमाङले सम्झौताअनुसार बनेका होटलले पनि सरकारी निकायकै विवाद भएपछि अहिले भाडा तिर्न छाडेको बताए ।
कालिञ्चोक मन्दिर नजिकैसम्म अवैध संरचना बन्दा प्राकृतिक सौन्दर्यसमेत कुरुप बन्दै गएपछि बेलाबेलामा प्रशासनले समेत भत्काउन ताकेता गर्दै आएको छ । तर सरकारी निकायबीचमै समन्वय नहुँदा कालिञ्चोक व्यवस्थापन राम्रो हुन सकेको छैन भने सडक मर्मत र अन्य विकासका काममा समेत असर गर्दै आएको छ ।
सिजनमा दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक कालिञ्चोक आउँछन् । व्यवसायीले समेत पर्यटकको रोजाइ अनुसारको सुविधा होटलमा थप्दै गएका छन् । अर्का व्यवसायी सन्तवीर तामाङले करोडौं लगानी भएको होटल कहिले भत्किने भन्ने त्रास रहेकाले समयमै व्यवस्थापन गर्न माग गरे । उनले सरकारी निकायबीच समन्वय गरी व्यवस्थित गर्न र आफूहरूलाई कर तिर्ने वातावरण मिलाउन माग गर्दै आएका छन् ।
कुरीबाहेक अन्यत्र पनि आफूखुसी उत्तिकै होटल खुलेका छन् । कतिपय ठाउँमा आफ्नो घरेडी भन्दै प्राकृतिक जग्गा बिगारेर स्थानीयले जग्गा कब्जा गर्दै पनि आएका छन् । वडागत रूपमा पनि कालिञ्चोक जग्गा विवाद छ भने गुठी र वनको जग्गामा पनि विवाद छ । काउँपालिकाले सबै प्रमाण संकलन गरी समन्वय गरेर व्यवस्थापन गर्न अग्रसरता देखाएपछि संघीय सरकार र गुठीले समेत चासो राखेको छ ।