विद्युतीकरणदेखि उत्पादन वृद्धिमा सांसद शाहीको प्राथमिकता «

विद्युतीकरणदेखि उत्पादन वृद्धिमा सांसद शाहीको प्राथमिकता

जुम्ला– जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले जुम्लाको विकासका लागि आफ्ना पाँचवटा क्षेत्र प्राथमिकतामा रहेको बताएका छन् । जुम्लाको सम्भावना र अवसरलाई मध्यनजर गर्दै विद्युतीकरण, उत्पादन वृद्धि र बजारीकरण, कर्णाली राजमार्गको स्तरवृद्धि, वैकल्पिक मार्ग निर्माण र जुम्ला एयरपोर्टको विस्तार गरी पाँचवटा क्षेत्र आफ्नो प्राथमिकतामा रहेको बताएका हुन् ।

निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला जुम्लामा सोमबार पत्रकार सम्मेलनमा बोल्दै सांसद शाहीले कर्णालीबाटै आर्थिक तथा कृषि क्रान्ति गर्नुपर्नेमा जोड दिए । विद्युतीकरणका लागि स्थानीय उत्पादन वृद्धि, बजारीकरण र किसानको उत्पादन सरकारले किन्ने र सरकारले नै बेच्ने नीति निर्माणमा आफूले जोड दिएको उल्लेख गरे ।

उनले भने, ‘ जुम्लाका गाउँगाउँमा राष्ट्रिय प्रसारणलाइन पुर्‍याउन पहल भइरहेको छ । यहाँको स्थानीय उत्पादनलाई समेत उत्तिकै जोड दिएका छांै । त्यस्तै जुम्ला एयरपोर्ट विस्तारमा पनि सुरुदेखि नै लागेको छु । कर्णाली राजमार्ग स्तरवृद्धि, वैकल्पिक मार्ग खोल्न मन्त्रालय धाइरहेका छौं भने मुख्य रूपमा जुम्लाको कृषि उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन जोड दिएका छाैं ।’

सांसदको काम नीति बनाउने मात्रै भए पनि अवस्थाले मजदुर सरह काम गर्नुपर्ने स्थिति रहेको छ । तर जिल्लाको विकासका लागि मैले यति बजेट र योजना ल्याएँ भन्दै आफूले प्रचार नगर्ने दाबी गरे । जिल्लाको विकास गर्नु आफ्नो दायित्व भएकाले सामाजिक सञ्जालमा यति योजना र बजेट ल्याएँ भन्दै प्रचार गर्न जरुरी नरहेको उनको भनाइ छ ।

शाहीले भने, ‘मैले नै गरें । मैले गर्दा नै यत्ति भयो भन्ने पक्षमा म छैन । जुम्लालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनु थियो चिनाएँ । जिल्लामा जति पनि बजेट आएको छ । योजना परेका छन् । त्यो कसैको सम्पत्ति बेचेर अर्थात् व्यक्तिगत लगानीमा आएको हैन । सबैको साझा पहल छ । सबै दल, नागरिक समाज, पत्रकार सांसद सबैको भूमिकाले मात्रै जिल्लाको विकास सम्भव छ । अहिलेको बजेट पनि त्यसको परिणाम हो ।’

सांसद शाहीले पाँच वर्षमा जुम्ला विमानस्थलको विस्तार, जुम्ला जिल्लाको विद्युतीकरण, कर्णाली राजमार्गको स्तरवृद्धि, वैकल्पिक राजमार्ग निर्माण र जुम्लाको कृषि वस्तुको उत्पादन वृद्धि र बजारीकरण गरी पाँच क्षेत्रमा आफूले परिणाममुखी काम गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्