Logo

जगदुल्ला जलविद्युत आयोजना निर्माण गर्न लगानी जुट्दै

आयोजना सम्पन्न गर्न कुल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ ।

जाजरकोट– जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि विभिन्न क्षेत्रबाट लगानी जुट्न थालेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा बाध र मुड्केचुला गाउँपालिकाको इलमा विद्युत उत्पादनगृह रहने प्रस्ताव गरिएको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजना १०६ मेगावाटको निर्माण गर्न लगानी जुटाउने कार्य जारी छ । कर्णाली प्रदेश सरकारले समेत यो आयोजनाका लागि ११ लाख ७१ हजार ५०० कित्ता सयेरवापत ११ करोड ७१ लाख ५० हजार रुपैयाँ पहिलो चरणमा उपलब्ध गराएको छ ।

त्यस्तै दोस्रो चरणमा ६ करोड यसै आर्थिक वर्षमै भुक्तानी गरिसकेको छ । आयोजनाको कुल लगानीको पाँच प्रतिशत सेयर कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने छ । जम्मा ३५ करोड रकम आयोजनालाई कर्णाली प्रदेश सरकारको लगानी रहने छ । त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले जगदुल्ला जलविद्युत आयोजनामा ऋण लगानी गर्न सहमति भई आयोजनाको प्रस्तावका आधारमा कम्पनीको बोर्डले ऋण लगानी स्वीकृत गरिसकेको छ । अन्य चार बैंकसँग सहमतिको अन्तिम चरणमा पुगेको प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए ।

ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमले ऋण स्वीकृत पत्र आदना प्रदान गरेका छन् । एचआइडीसीएलले चार अर्ब रुपैयाँ लगानी गर्ने सहमति गरेको छ । पीपीएमा तोकिएको तालिका अनुसार २०८६ साल असारभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने सुरु गरिनेछ । आयोजनाको पीपीए सम्पन्न भइसकेकाले अबको एक महिनाभित्रमा बैंक तथा वित्तीय संस्थासँग वित्तीय स्रोत व्यवस्थापनसम्बन्धी सम्झौता गर्ने क्रम जारी छ ।

आयोजना सम्पन्न गर्न कुल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ । ऋणबाहेकको ३० प्रतिशत अर्थात् सात अर्ब २५ करोड रुपैयाँ स्वपुँजी लगानी जुटाइनेछ । आयोजना सम्पन्न भई सञ्चालनमा आएको १२ वर्षमा ऋण लगानी चुक्ता गर्ने प्रक्षेपण छ । यही कम्पनीअन्तर्गत नै ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ पनि निर्माण हुँदैछ । आयोजना निर्माण गर्न विभिन्न निकायले सेयर लगानी गर्ने कार्ययोजना समेत रहेको छ ।

सेयर लगानीकर्तामा विद्युत उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत प्राधिकरणको नौ प्रतिशत रहेको छ । त्यस्तै कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको एक प्रतिशत सेयर रहेको छ । बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि भन्दै सबैका लागि खुला गरिने बताइएको छ । सबै खालका अध्ययन सकिएको यो आयोजनाको फाइनान्सियल क्लोजर गर्ने अन्तिम तयारी भइरहेको कम्पनीका सीईओ सापकोटाले बताए ।

उनका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा सहवित्तीयकरण फर्म बन्नेछ । जसमा नबिल बैंकलगायत फर्ममा सहभागी हुनेछन् । सीईओ सापकोटाका अनुसार यो आयोजना निर्माणले कर्णालीको विकासमा ठूलो सहायता गर्नेछ । उनका अनुसार अहिले निर्माण पूर्वतयारीका काम धमाधम भइरहेका छन् । आयोजनाको निर्माण आगामी आर्थिक वर्ष (२०८०/८१) देखि निर्माण सुरु गर्ने लक्ष्यका काम भइरहेको छ । अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक खोल्ने कार्य भइरहेको छ ।

पहुँचमार्ग पूरा हुनेलगतै आयोजनाको सिभिल संरचनाको काम सुरु हुनेछ । आयोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन पूरा प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । आयोजनाका लागि आवश्यक जग्गामध्ये पहिलो चरणमा २६० रोपनी जग्गा तथा १४ वटा घर टहराको अधिग्रहण कार्य सम्पन्न गरी सम्बन्धित जग्गा धनीलाई मुआब्जा वितरण भइसकेको सापकोटाले बताए । दोस्रो चरणका लागि ५० रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा दर निर्धारण भई वितरणको क्रममा छ ।

वातावरणीय अध्ययन कार्यका लागि वन मन्त्रालयले मागेको सुझाव दिएर सकिएकोले प्रतिवेदन स्वीकृत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको निर्माण २०८६ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९३.२४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यही कम्पनीले ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ को काम पनि अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्