सडक निर्माण ढिलाइ हुँदा पर्यटक घट

दमौली– गण्डकी प्रदेशको लाइफलाइनको रूपमा रहेको मुग्लिन–पोखरा सडक विस्तार योजना ढिलाइ हुँदा पर्यटन क्षेत्र प्रभावित भएको छ । सडक निर्माणको कामले गति लिन नसक्दा समग्र गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा असर पुगेको र यसले पर्यटकको आगमन घटेको व्यवसायीको भनाइ छ ।
सडक आयोजनाको काम सुस्त गतिमा चलिरहँदा नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग वाणिज्य क्षेत्र प्रभावित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । काठमाडौं वा नारायणगढ हुँदै पोखरासम्म यात्रा गर्न चाहने पर्यटकले सिंगो दिन खर्चिनुपर्ने अवस्था सिर्जना भएको बताउँदै उनले भने, ‘काठमाडौं–पोखराबीचको पाँचदेखि ६ घण्टा लामो बसयात्राका लागि अहिले १२ घण्टासम्म लाग्ने गरेको छ । यसबाट पोखरा र वरपरको पर्यटनमा नकारात्मक प्रभाव परेको छ ।’
भूकम्प र नाकाबन्दीपछि कोभिड–१९ को मार खेपेको पर्यटन र उद्योग वाणिज्य क्षेत्रका लागि पहुँचमार्गको यो अवरोध अर्को अभिषाप बन्न पुगेको उनको भनाइ छ । नेपालका दुई ठूला सहर काठमाडाैं र पोखरा जोड्ने पृथ्वीराजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तीमा चार लेन बनाउने कार्य महत्वपूर्ण र सरहानीय रहे पनि जुन गति र स्तरमा हुनुपथ्र्यो त्यो नभएको श्रेष्ठले बताए ।
उनले भने, ‘सडक विस्तार कार्य अगाडि बढ्नु सकारात्मक पक्ष हुँदाहुँदै पनि निर्माण पक्षबाट भएको सुस्त र अव्यवस्थित विस्तारकार्यबाट सेवाग्राहीले थुप्रै कठिनाइ र झण्झट भोग्नुपरेको छ ।’ सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारी साधनको सहज आवतजावतको वातावरण सिर्जना गर्न सके सेवाग्राहीलाई सहज वातावरण सिर्जना हुने श्रेष्ठको भनाइ छ ।
मुग्लिन–पोखरा सडक खण्डको कामको ढिलाइका कारण बन्दीपुरको पर्यटन व्यवसाय प्रभावित बन्न पुगेको क्षेत्रीय होटल संघ बन्दीपुरका सभापति संगीता प्रधानको भनाइ छ । उनले भनिन्, ‘चितवनबाट आउने पर्यटक मुग्लिनबाटै काठमाडौं फर्किनुहुन्छ । बाटोकै कारण बन्दीपुरमा पर्यटकको आगमन घटेको छ । यहाँका व्यवसायी मारमा परेका छन् ।’
धुलाम्य र हिलाम्य बाटोका कारण पर्यटक बन्दीपुर उक्लिन गाह्रो मान्ने गरेको अवस्था रहेको उल्लेख गर्दै प्रधानले पोखरा आएका पर्यटक सडकमार्ग भन्दा हवाइमार्गबाट काठमाडौं जाने गरेको बताइन् । उनले भनिन्, ‘सडक राम्रो हुन्थ्यो भने बन्दीपुर आएर एकरात भए पनि पर्यटक बस्ने अवस्था थियो । बन्दीपुरको मुख्य व्यवसाय होटल पर्यटन भए पनि अहिले हामी मारमा छौं ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी सडकको काम सुस्त हुँदा यसले अर्थतन्त्रमा असर गरेको बताउँछन् । उनले भने, ‘चीनका ठेकेदारले समयमै काम सम्पन्न गर्छन् भन्ने विश्वास थियो, तर अहिले परिस्थिति फरक छ । कामको गति सुस्त छ । पर्यटन पाँच वर्षपछि परिसक्यो ।’
तनहुँ उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष वैकुण्ठनाथ मिश्रले सडक धुलाम्य र हिलाम्य हुँदा ज्यानै जान सक्ने खतरा रहेको बताए । उनले भने, ‘काम सुस्त छ, प्रदूषणले गर्दा ज्यानै जान सक्ने खतरा बढेको छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।’ मिश्रले राजमार्गकै कारण व्यापार व्यवसाय चौपट भएको गुनासो गरे ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले सडकको काम तीव्र गतिमा गर्नका लागि आयोजनालाई ध्यानाकर्षण गराइएको बताए । उनले भने, ‘सडक धुलो र हिलो नबनाउनका लागि आयोजनालाई पटक–पटक भन्दै आइरहेका छांै । कामको गति बढाउन पनि प्रशासन कार्यालयको तर्फबाट आयोजनालाई ध्यानाकर्षण गराइरहेका छौं ।’
मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले यो खण्डमा भइरहेको काम सन्तोषजनक रहेको बताए । उनका अनुसार हालसम्म ३२.५ प्रतिशत भौतिक प्रगति भएको छ । उनले भने, ‘कोभिड–१९ का कारण सुरुमा ढिलाइ भयो, पछि बिजुली पोल स्थानान्तरणले पनि समस्या बनायो । तर गत वर्षको दसैंदेखि हालसम्मको कामको गति हेर्दा सन्तोषजनक पाएका छौं ।’
असार साउनमा वर्षाका कारण काम सुस्त देखिए पनि भदौदेखि कामले तीव्रता पाउने उनको भनाइ छ । ‘भदौदेखि कालोपत्रको काम सुरु गर्नका लागि निर्माण कम्पनीले सबै व्यवस्थापन गरिसकेको छ । उपकरण तयारी अवस्थामा छन् ।’ सडक मापदण्डभित्रका संरचना समयमै हटाउन सकिए काम गर्न सहज हुने उनले भने । निर्माण कम्पनीका इन्जिनियर जनार्दन भण्डारीका अनुसार उक्त खण्डमा १४ वटा साना पुल सम्पन्न भइसकेका छन् भने तीनवटा निर्माणको चरणमा छन् ।
बजार क्षेत्रमा ६ लेन र अन्यत्र चार लेन सडक बनाउने योजना छ । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ वैशाखसम्म रहेको छ ।
विसं २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।
यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगाैंडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।