Logo

प्रदेश मातहत नआउँदै प्रहरी भवन बनाउन करोडौं खर्च

प्रत्येक प्रदेशमा प्रहरी संगठन हुने संवैधानिक व्यवस्था कार्यान्वयनमा आइसकेको छैन । २०७७ साल भदौ १५ गते नेपाल राजपत्रमा प्रदेश प्रहरी ऐन २०७७ प्रकाशित भए पनि संघीय सरकारले चासो नदिँदा प्रदेशमा प्रहरी समायोजन हुनसकेको छैन ।

तर, बागमती प्रदेश सरकारले भने संघीय मातहतमा रहेको प्रहरी संगठनको भवन निर्माण र मर्मतमा अर्बौं रुपैयाँ रकम खर्च गरिरहेको छ । शान्ति सुरक्षा र कानुनसम्बन्धी जिम्मेवारीसहित स्थापित प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थापनायता पहिलो चरणमा एक अर्ब १० करोड ९९ लाख रुपैयाँ प्रहरी भवन निर्माणमा खर्च गरेको छ भने दोस्रो चरणमा करिब ७३ करोड ५८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

पहिलो चरणमा प्रहरीको ४९ वटा प्रहरी भवन निर्माण भइसकेको छ भने १८ वटा भवन निर्माणाधीन अवस्थामा छ । बगमती प्रदेशभित्र रहेका विभिन्न स्थानका प्रहरी चौकी भवन र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । प्रदेश सरकारले हालसम्म मकवानपुरमा ८, चितवनमा ५, सिन्धुलीमा ७, रामेछापमा ४, दोलखामा ४, नुवाकोटमा ३, काभ्रेमा ८, धादिङमा ३, रसुवामा ४, सिन्धुपाल्चोकमा ३ प्रहरी भवन निर्माण सम्पन्न गरिसकेको मन्त्रालयका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए ।

मकवानपुरमा सशस्त्र प्रहरी गण नं. ३ रातोमाटे, प्रहरी चौकी कान्द्राङ, जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भएको छ । त्यसैगरी प्रहरी चौकी रातोमाटे, इलाका प्रहरी कार्यालय ठिंगन, प्रहरी चौकी डाँडाखर्क, प्रहरी चौकी हात्तीसुडे, प्रहरी चौकी ठुलोदमार निर्माण सम्पन्न भइसकेको छ भने चितवनमा प्रहरी चौकी चैनपुर, प्रहरी चौकी सिताराम चोक, प्रहरी चौकी सुमेश्ररमाडी, प्रहरी चौकी कल्याणपुर माडी र प्रहरी चौकी पन्चकन्याको भवन निर्माण गरिएको छ ।

त्यस्तै सिन्धुलीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी रत्नावती, इलाका प्रहरी कार्यालय बस्तीपुर, प्रहरी चौकी हरिहरपुर गढी, प्रहरी चौकी महेन्द्रझाडी, प्रहरी चौकी हतपते, प्रहरी चौकी गढी निर्माण सम्पन्न भएको छ भने रामेछापमा इलाका प्रहरी कार्यालय टोकपुर, इलाका प्रहरी कार्यालय प्रिती, प्रहरी चौकी दोरम्बा र प्रहरी चौकी बास्तीको भवन निर्माण सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै दोलखामा प्रहरी चौकी छौडे, प्रहरी चौकी भैंसे, प्रहरी चौकी विगु, प्रहरी चौकी किराती छाप, नुवाकोटमा जिल्ला प्रहरी कार्यालय ब्यारेक, प्रहरी चौकी झिल्टुङ र प्रहरी चौकी किम्ताङको भवन बनेको हो ।

त्यस्तै काभ्रेमा इलाका प्रहरी कार्यालय गोकुले, प्रहरी चौकी फलाँटे, प्रहरी चौकी तिमालेबेंशी, प्रहरी चौकी फलामेटार, प्रहरी चौकी तालढुंगा, प्रहरी चौकी फोक्सिङटार, इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय बंखुचौर र धादिङमा प्रहरी चौकी बुढाथुम, प्रहरी चौकी ताल्ती, प्रहरी चौकी टोडकेको प्रहरी भवन निर्माण सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै रसुवामा प्रहरी चौकी लाङटाङ, प्रहरी चौकी थुमन, प्रहरी चौकी पारच्याङ्ग्रा, प्रहरी चौकी हाकु र सिन्धुपाल्चोकमा इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी मानेखर्क, सिन्धुली प्रहरी चौकी कोदारीको प्रहरी भवन निर्माण गरिएको तथ्यांक छ ।

प्रदेश सरकारबाट बितेको आर्थिक वर्ष २०७९/०८० मा १९ वटा प्रहरी इकाइ भवन मर्मतका लागि एक करोड ७० लाख ४० हजार रुपैयाँसमेत खर्च भएको छ । मकवानपुरमा ६, सिन्धुली र काभ्रेमा तीन/तीन, धादिङमा दुई र चितवन, दोलखा, सिन्धुपाल्चोक र रसुवामा एक/एक प्रहरी इकाइ भवन मर्मत गर्न सो खर्च लागेको मन्त्रालयका सूचना अधिकारी कार्कीले बताए । मन्त्रालयले चालु आवमाचार जिल्लाको पाँच स्थानमा ६ करोड ४४ लाख ६५ हजार लागतमा ५ प्रहरी भवन निर्माण गर्ने योजना बनाएको छ ।

मकवानपुर, चितवन, सिन्धुली, रामेछाप र मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा प्रहरी भवन निर्माण हुनेछ । २०७६ साल माघ २८ गते राजपत्रमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन सुपरिवेक्षण र समन्वय) ऐन २०७६ प्रकाशित भएता पनि प्रदेश सरकार मातहत प्रहरी संरचना बनिसकेको छैन । संविधानको धारा २६८ को उपधारा २ मा प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन हुनेछ भनिएको छ । उपधारा ३ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुनेछ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्