Logo

१० वर्षमा पुलको प्रगति ३५ प्रतिशत

मुग्लिन नारायणगढ खण्डको वैकल्पिक मार्गको रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेमा निर्माण गर्न लागिएको पक्की पुलको १० वर्षको अवधिमा ३५ प्रतिशत प्रगति भएको छ । तनहुँ र चितवन जोड्न त्रिशूली नदीमाथि घुमाउनेमा पुल निर्माण थालिएकोमा १० वर्षको अवधिमा भौतिक प्रगति ३५ प्रतिशतमात्रै छ । एक सय पाँच मिटर लम्बाइ सिंगल आर्क ब्रिज निर्माणका लागि २०७० असार २८ गते मृत सञ्जीवनी निर्माण सेवा मकवानपुरसँग सम्झौता भएको थियो ।

सम्झौताअनुसार २०७३ असार ३० गते काम सम्पन्न हुनुपथ्र्यो । तर चौथो पटक गरी २०८० असार ३० गतेसम्म म्याद थप भएको सडक विभागले जनाएको छ । सुरुमा स्टिल ट्रस पुल बनाउने भनेकोमा सोबमोजिम पुल बनाउँदा नारायणगढ मुग्लिनखण्डमा खतरामा पर्ने भन्दै निर्माण व्यवसायीले डिजाइन परिवर्तन गरी आरसिसि आर्क ब्रिज बनाउन पेस भएको र २०७४ असार ६ गते तत्कालीन महानिर्देशकले स्वीकृत गरेका थिए । उक्त पुलमा हालसम्म ३५ प्रतिशत भौतिक र ३४.३२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

२०७८ सालको वर्षात्मा त्रिशूली नदीमा आएको भेलले पुलको दुवैतर्फको ५४० मध्ये २५७ वटा डन्डी भाँचिएको कारण काममा ढिलाइ भएको सडक विभागको भनाइ छ । काममा ढिलाइ भएपछि निर्माण व्यवसायीलाई पटकपटक लिखित पत्राचार तथा मौखिक ताकेता गरिएको सडक डिभिजन कार्यालय तनहुँका इन्जिनियर विकास लागेले जानकारी दिए । २०७९ असार १९ गते दैनिक पत्रिकामा सूचना प्रकाशित गरी निर्माण व्यवसायीलाई सात दिनको म्याद राखेर स्पष्टीकरण सोधिएको थियो ।

तत्पश्चात् २०७९ असार २० गते सार्वजनिक खरिद नियमावली २०६४ (१२औं संशोधन) प्रकाशित भई सोअनुसार २०८० असार ३० सम्म म्याद थप भएको थियो । निर्माण व्यवसायीलाई बारम्बार ताकेता गर्दा पनि हेलचक्र्याइँ गरी साइटमा नआएकोले २०८० वैशाख १५ मा ठेक्का तोडी कालोसूचीमा किन नराख्ने भनि सात दिने म्याद दिई कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस गर्नका लागि पत्र पठाइएको थियो ।

तत्पश्चात् पनि चित्तबुझ्दो जवाफ नआएकोले २०८० असार १३ गते ठेक्का किन नतोड्ने भनि सात दिनभित्र संशोधित कार्यतालिका, सोहीसँग मेल खाने भरपर्दो स्रोत परिचालन योजनासहित कार्यालयमा उपस्थिति हुन अन्तिम पटक अनुरोध गरिएको थियो । सार्वजनिक खरिद नियमावली, २०६४ (१२औं संशोधन) अनुसार म्याद थप भएको अवधिभित्र निर्माण कार्य सम्पन्न नभएको अवस्थामा सोही नियमावलीको नियम १२१ बमोजिम पूर्व निर्धारित क्षतिपूर्ति लगाई ठेक्का कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । उक्त पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्‍याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।

पृथ्वीराजमार्गको विकल्पको रूपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रेका लागि गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पाँच करोड बजेट विनियोजन गरेको छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुने बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व बास्तोलाको भनाइ छ ।

तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रूपमा साना बस तथा दुई पाङ्ग्रे सवारी साधन आउने जाने गरे पनि दुई पाङ्ग्रे सवारीसाधन भने झोलुंगे पुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्