Logo

स्थानीयको आयआर्जनको स्रोत बढ्यो

प्रयोगविहीन पुल भयो भाइरल

सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्लालाई तराईसँग जोडिरहेको काठेपुल पक्की पुल बनेपछि प्रयोगविहीन बनेको थियो । तर पछिल्लो समयमा त्यो पुल टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीयको आयआर्जनको स्रोत बनेको छ । हाल त्यस पुलमा टिकटक बनाउन, फोटो खिचाउन दैनिक सयौं युवा युवतीको भीड लाग्ने गरेको छ । सार्वजनिक बिदा र शनिबारको दिन यो संख्या झण्डै एक हजारको हाराहारी हुन्छ ।

स्थानीय युवाले टिकटक बनाउन र फोटो खिचाउन आउनेका लागि परम्परागत पहिरनको व्यवस्था गरेका छन् । केही युवाले भिडियो र फोटो खिचिदिने काम पाएका छन् भने स्थानीय होटल र पसलको व्यापार पनि बढेको छ । स्थानीयले फोटो खिच्नका लागि पहिरन भाडामा लिनेका लागि प्रतिघण्टा एक सय रुपैयाँ भाडा लिने गरेका छन् भने फोटो खिच्नेहरू फोटो र भिडियो खिचिदिएवापत् शुल्क लिने गरेका छन् । दैनिक मानिसको आगमन हुन थालेपछि स्थानीय होटल, नास्ता पसल, रिसोर्ट पनि चलायमान भएका छन् ।

पक्कीपुल बनेपछि संरक्षण नपाउँदा फलामे रड खिइँदै र काठ कुहिँदै गएको काठेपुलले संरक्षण पाउन थालेको छ । गोदावरी नगरपालिका–४ पर्ने सो पुल संरक्षणमा फिटिक्कै चासो नदिएको नगरपालिकाले पुल भाइरल भई स्थानीयको आयआर्जन बढेको देखेर चासो दिन थालेको छ । गोदावरी नगरपालिका–४ का वडाध्यक्ष हेमप्रकाश मल्लले पुल संरक्षण र व्यवस्थापन गर्न पहल गरिरहेको बताए । उनले वडा कार्यालयले तीन लाख रुपैयाँ लगानी गरेर गत जेठमा तारजालीले घेरबार गरेको बताए ।

उनले लायन्स क्लबको सहकार्यमा पुल रंग रोगन गरिएको बताए । गोदावरी सामुदायिक वनले काठ उपलब्ध गराएपछि काठ कुहिएर प्वाल परेको ठाउँ टालिएको वडाध्यक्ष मल्लले बताए । यसअघि, स्थानीय युवाले पुलमा नेपालको झण्डा राखेका थिए । गोदावरी नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत वसन्तकुमार खत्रीले पुल सडक विभागको नाममा रहेकाले नगरपालिकाले लगानी गर्न नपाएको बताए । उनले सडक विभागबाट भोगाधिकार लिन वडा नं. ४ वडाध्यक्षलाई जिम्मेवारी तोकिएको बताए ।

सो पुलको भोगाधिकार लिने विषयमा पहल गर्न वडाध्यक्ष मल्ल काठमाडौं पुगेका छन् । विभागका निर्देशकले सबै प्रक्रिया पुर्‍याएर आए भोगाधिकार दिन सकिने प्रतिक्रिया दिएको वडाध्यक्ष मल्लले बताए । भोगाधिकार पाएपछि पुलमा थप रंगरोगन गरी सजावट गर्ने, गेट निर्माण गर्ने, कुहिएको काठ हटाएर नयाँ काठ लगाई पुल संरक्षण गर्नेलगायतको योजना रहेको उनले बताए । ती कार्यका लागि स्रोत जुटाउने कार्य पनि सँगसँगै भइरहेको उनले बताए ।

भोगाधिकार पाएपछि पुललाई थप सुरक्षति, व्यवस्थित र सौन्दर्यकरण गरी नगरपालिकाले शुल्क लगाई आयआर्जन गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताए । गोदावरी पुलनजिकै गोदावरी धाम पुन:स्थापना भएपछि त्यहाँ हरेक मकर संक्रान्तिमा ठूलो मेला लाग्ने गरेको छ भने मकर संक्रान्ति स्नानका लागि हजारौं मानिस आउने गरेका छन् । यसका साथै पिकनिकको सिजनमा गोदावरीमा दैनिक पिकनिक खानेको भीड हुने गरेको छ । गोदावरी नदीमा पक्कीपुल बनेपछि आठ वर्षदेखि काठेपुल जीर्ण अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्