प्रधानमन्त्रीले आफ्नै खर्चमा उपचार गर्ने दाबी «

प्रधानमन्त्रीले आफ्नै खर्चमा उपचार गर्ने दाबी

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च नबेहोर्ने दाबी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइतबार पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका छन् । बाँस्कोटाले भने, “प्रधानमन्त्रीले आफ्नै खर्चमा उपचार गर्नुहुन्छ ।” सरकारी कर्मचारीको खर्च, आउने जाने, बसोबास खर्च भने सरकारले स्वीकृत गरेको उनको भनाइ छ । “प्रधानमन्त्रीको भाडाबाहेक अन्य उपचार खर्च सरकारले बेहोर्दैन,” उनले भने ।
पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले वाइडबडी छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि जाँचबुझ थालेकाले सरकारले वास्ता नगरेको बताए । “सबैले काम गर्दा गञ्जागोल होला भनेर हामीले चासो राखेनौँ,” उनले भने । सरकारले पुस १९ गते गोविन्द पराजुलीको नेतृत्वमा पूर्वनायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकोउन्टेण्ड मदन शर्मा सदस्य रहेको आयोग गठन गरेको थियो ।
यसैबीच, सरकारले झुठो विवरण पेस गरी नागरिकता लिने ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ। गत साउन १६ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार झूठो विवरण पेस गरेर नेपाली नागरिकता लिएका ८ जनाको नागरिकता रद्द भएको हो । नगारिकता रद्द हुनेमा अशोक साह, बिन्दे महतो, वैवाहिक अंगिकृतको नागरिकता लिएकी उनकी श्रीमती दानादेवी महतो, दानादेवीकी बुहारी सोसील महतो छन् । यस्तै, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको समेत नागरिकता रद्द गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।
मन्त्री बाँस्कोटाले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको जानकारी दिएका हुन् । संविधानअनुसार निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारलाई रहेको छ । तीन वटै तहका रिक्त ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगले सुझाव दिएको थियो ।
देशभर प्रतिनिधिसभा सदस्यमा १, प्रदेशसभा सदस्यमा ३, नगर प्रमुखमा १, गाउँपालिका अध्यक्षमा ३, गाउँपालिका उपाध्यक्षमा १ र वडाध्यक्षमा ४१ पदहरु रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्